नेपालको अर्थतन्त्र सुधारको लयमा, जलविद्युतको दरिलो साथ

नेपालभ्युज

नेपालको अर्थतन्त्र सुधारको लयमा, जलविद्युतको दरिलो साथ

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले नेपालको अर्थतन्त्रमा सुधार आउने जनाएको छ ।

एडिबीले बिहीबार सार्वजनिक गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक’ ले चालु आर्थिक वर्ष २०८० / ८१ मा नेपाली अर्थतन्त्रले बजार मूल्यमा ३.६ प्रतिशतको वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको हो ।

जुन गत आवको १.९ प्रतिशतको वृद्धिदरको तुलनामा केही बढी रहेको उल्लेख गरिएको छ ।

मौद्रिक नीतिमा क्रमिक लचकतासँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधार आउँदा आर्थिक गतिविधि प्रोत्साहित हुने अपेक्षा गरिएको नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोस्वाले बताए ।

नेपाल सरकारले पुँजीगत खर्च बढाउदै गएको र आव २०८०/ ८१ को अन्त्यसम्म थप जलविद्युत् परियोजनाको उत्पादन सुरु हुने भएकाले क्रमिक रूपमा अर्थतन्त्र सुधार तर्फ अघि बढ्ने कोस्वाको भनाई छ ।

कर्जा नियन्त्रणमा सहजता, ब्याजदरमा थप गिरावट र पर्यटन आयमा देखिएको विस्तारले थप टेवा पुग्ने प्रक्षेपण गरिएको छ ।

पेट्रोलियम पदार्थको मूल्यमा देखिएको गिरावट र भारतमा मुद्रास्फीति न्यूनीकरणसँगै नेपालमा औसत मुद्रास्फीति घट्ने एडिबीको प्रक्षेपण छ । यस्तो मुद्रास्फीति गत आवको ७ दशमलव ७ प्रतिशतको तुलनामा चालु आवमा ६ दशमलव ५ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ ।

मुलुकको बाहिय क्षेत्र जोखिम भने नियन्त्रण भित्रै रहेको एडीबीको रिपोर्टमा उल्लेख छ । आर्थिक वर्षको पहिलो ६ महिनामा बचतमा रहे पनि चालु खाता पुनः घाटामा जान सक्ने सम्भावना आउटलुकले देखाएको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनासँग तुलना गर्दा वार्षिक व्यापार घाटा ४ दशमलव ७ प्रतिशतले घटेको र विप्रेषण आप्रवाह २२ दशमलव ६ प्रतिशतले वृद्धि भएको उल्लेख छ ।

चालु खाता बचत एक अर्ब २० करोड अमेरिकी डलर पुगे पनि चालु आर्थिक वर्षको बाँकी अवधिमा उच्च आयात र स्थिर विप्रेषण आप्रवाहले चालु आवमा चालु खाता घाटा कुल गार्हस्थ उत्पादनको ०.७ प्रतिशत प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।

यसबाहेक गहिरिँदो भूराजनीतिक हलचलले आपूर्ति श्रृंखलामा हुन सक्ने अवरोधले विश्वव्यापी मुद्रास्फीति र वित्तीय अवस्थामा कडाइ सिर्जना गर्न सक्नेतर्फ एडिबीले सचेत गराएको छ ।

आन्तरिक मौद्रिक नीति कसिलो बनाउन प्रेरित गर्नुका साथै लगानी र उपभोगमा ह्रास आई आर्थिक वृद्धिलाई तल धकेल्न सक्ने प्रक्षेपण पनि गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved