किन मनाइन्छ काठमाडौं उपत्यकामा घोडेजात्रा ?

नेपालभ्युज

किन मनाइन्छ काठमाडौं उपत्यकामा घोडेजात्रा ?

काठमाडौं । घोडेजात्रा, चैत्र कृष्ण औँसीका दिन हरेक वर्ष काठमाडौं उपत्यकामा परम्परागतरुपमा घोडेजात्रा पर्व मनाउने गरिन्छ ।

सामाजिक जात्राकारुपमा प्राचीन कालदेखिनै मनाउँदै आइएको यो पर्व काठमाडौं उपत्यकाको प्रचलित प्राचीन जात्रा मध्येको एक हो। काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा समेत मनाइने यो जात्रा चैत्र कृष्णपक्षको औँसीका दिन मनाइने गरिन्छ । सरकारले यो दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गरेको छ ।

परापूर्वकालमा टुँडिखेलको पुर्व दक्षिणमा रहेको एउटा रूखमा गुरुमापा नाम गरेको राक्षस बस्ने गरेको किंवदन्ती रहेको छ ।

उक्त राक्षसले भरखर भरखर बस्न सुरु भएको काठमाडौं उपत्यकाको मानव वस्तीमा गएर विभिन्न प्रकारले दुःख दिने र बालबालिकाहरुलाई खाइदिने गर्न थाल्यो । धेरै नै दुख दिन थालेपछि स्थानीयले राजामहाराजादेखि जान्ने बुझ्नेसम्मलाई पुकारे ।

आफैं पनि यस्तो घटना दोहोरिन नदिन उक्त राक्षसलाई मार्नका लागि अनेक उपायहरु खोज्न थाले । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय कायमै रहेपछि उनीहरु थप त्रसित बने ।

यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने चलनको सुरुवात भयो । त्यसैको विजय उत्सवका रुपमा घोडेजात्रा मनाउने परम्पराको शुरुवात भएको किंवदन्ती छ ।

उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको र अहिले पनि दौडने घोडाको टापले त्यस राक्षसको आत्मालाई दबाइराख्ने विश्वास गरिन्छ । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी चैत्र कृष्ण पक्षको औंशीका दिन त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा दिने चलनको पनि सुरुवात गरियो ।

यसो नगरे गुरुमापा नामको उक्त राक्षसको प्रेतात्मा बिउँझिएर सहरमा उधुम मच्चाउनसक्ने विश्वास गरिन्छ ।

घोडा जात्राको मूल नाम  भने पाहाँ चऱ्हे हो । पछिलो समय पाहाँ चऱ्हेलाई घोडा जात्रा भन्दै आए पनि पुन पाहाँ चऱ्हे भने चलन स्थापित हुन थालेको छ। यस पर्वमा नेपा मंडल भित्र देवी देवताको जात्रा गरी मनाउने चलन छ। यही पाहा चऱ्हे नखमा पछि घोडा जात्रा थपेर घोडा जात्रा भन्न थालिएको हो, यस पर्वको नाम पाहाँ चऱ्हे हो !

पाटनको घोडेजात्रा

पाटनको एकल घोडेजात्राको इतिहास पनि फरक छ । यो पनि लोकप्रिय जात्रा हो । पाटनको बालकुमारीमा हुने पाटनको ओल्खु चिबहाः टोलको ज्यापुको भीमसेन गुठीले यो जात्रा आयोजना गर्दै आएको छ। यो एकल घोडेजात्रालाई कतै आँखा नदेख्ने घोडेजात्रा र कतै कतै जँड्याहा घोडेजात्रा भनेको पाइन्छ ।

यो एकल घोडेजात्रा गर्नेक्रममा सबैभन्दा पहिला पाहाँचर्‍हेको दिन अर्थात् घोडेजात्राको एक दिनअगाडि पाटनको ओल्खु चिबहाः टोलका ज्यापुले महाभारतका पात्र पाँच पाण्डवको मूर्ति रहेको मङ्गलबजारको भीमसेनस्थानमा छ्वयलाभु गर्ने भनी राँगो बलि दिइन्छ । यो बलिमा चढाएको राँगोलाई कृष्ण देगलको उत्तरपट्टी जलाईन्छ । यसरी बलि दिई पूजा गर्ने बेलामा भीमसेनले किचक वध गर्नुका साथै भीमसेनको वर्णन गरिएको स्तूति दाफा भजनमा गाइन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved