रेशम-रन्जिताको रमिता, विभाजनको सङ्घारमा नाउपा

सपाटरूपमा फक्रँदै गरेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनोन्मुख अवस्थामा पुगेको छ । पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीबीचको टसलका कारण पार्टी विभाजनोन्मुख अवस्थामा हुत्तिएको हो ।

नेपालभ्युज

रेशम-रन्जिताको रमिता, विभाजनको सङ्घारमा नाउपा

काठमाडौं । सपाटरूपमा फक्रँदै गरेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनोन्मुख अवस्थामा पुगेको छ । पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीबीचको टसलका कारण पार्टी विभाजनोन्मुख अवस्थामा हुत्तिएको हो ।

त्यसो त रेशम-रन्जिता श्रीमान्-श्रीमती हुन् । तर, पार्टी-राजनीतिकै विषयलाई लिएर उनीहरू एक आपसमा  निषेधकै तहसम्म ओर्लिएका छन् । यत्तिसम्म कि सोमबार पार्टी मुख्यालय, अनामनगरमा बसेको केन्द्रीय समितिको बैठकमा उनीहरूबीच झन्डै हात हालाहालकै अवस्था सृजना भयो । कतिपय नेताले रेशमबाट ज्यान मार्ने धम्की आएकोसमेत बताए । तर, रेशमले भने त्यसको प्रतिवाद गरेका छन् । रेशमले आफू आत्महत्या गर्ने अवस्थामा पुगेको गुनासोसमेत गरेका छन् ।

अवस्था यहाँसम्म पुग्नुमा भने धेरै ‘फ्याक्टर्स’ले काम गरेका छन् । केन्द्रीय सत्ता गठबन्धनमा सामेल हुने कि नहुने, सुदूरपश्चिम सरकार (जहाँ नाउपासँग ७ सिट छ) मा कुन कित्तामा उभिने, पार्टीको नेतृत्व कसले गर्नेलगायतका विषयले काम गरेको बताइन्छ । अझ कतिले त रेशम-रन्जिताबीच बिग्रिएको सम्बन्धको असर पार्टी-राजनीतिमा देखा परेको आकलन गर्न थालेका छन् । जे होस्, उनीहरूबीचको सम्बन्ध कटाक्ष र निषेधको शृङ्खला भने सामान्य छैन ।

हुँदा-हुँदा उनीहरूले एकलौटीरूपमा पार्टीको बैठक बोलाउने, एक अर्कालाई कारबाहीको धम्की दिनेसम्म गर्न थालेका छन् । अवस्था यहाँसम्म पुगेको छ कि रेशम (Resham chaudhary) समूहले आउँदो २३ र २४ गतेका लागि आह्वान गरेको पार्टीको बैठकलाई रन्जिता (Ranjita shrestha chaudhary) समूहले अनाधिकारिक भनेको छ । महासचिव गङ्गाराम चौधरीले सोमबार नै विज्ञप्ति जारी गरेर उक्त बैठक आधिकारिक नभएको जानकारी दिएका छन् ।

रञ्जिता-रेशमबीच अध्यक्षका लागि शक्ति सङ्घर्ष

उसो त रेशमले सत्ता गठबन्धनमा सामेल हुनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट आएको प्रस्तावमा २३ र २४ गतेको पार्टीको बैठकले निर्णय गर्ने वचन दिएका थिए । मङ्गलबार प्रधानमन्त्री प्रचण्डले रेशम र रन्जितालाई छुट्टाछुट्टै भेटे र पार्टीभित्रको विवादबारे ‘कन्सर्न’ राख्दै मिलेर अघि बढ्न सुझाव दिएका छन् ।

आन्तरिक विवाद साम्य पारेर नाउपा सत्ता गठबन्धनमा जोडिए आफू संसदीय गणितमा अब्बल हुने सोचिरहेका प्रधानमन्त्री प्रचण्डले मङ्गलबार मात्रै पनि गठबन्धनमा जोडिन प्रस्ताव गरेका छन् । तर, सत्ता गठबन्धनभित्र सुदूरपश्चिम प्रदेशको नेतृत्व नाउपालाई दिने निर्णय भएको छ । सुदूरपश्चिम प्रदेशको नेतृत्व आफूले पाउनुपर्ने नाउपा, त्यसमा पनि रन्जिता समूहले लामै समयदेखि माग गर्दै आएको छ । गठबन्धनमा भएको सहमतिले भने ११ महिनापछि सरकारको नेतृत्व छाड्न पर्ने देखिन्छ ।

गठबन्धनको यो निर्णयपछि रन्जिता हच्किएको नाउपा नेताहरू बताउँछन् । नाउपा प्रवक्ता दामोदर पण्डित भन्छन्, “सुदूरपश्चिमको समस्या समाधान हुनेबित्तिकै हाम्रो पार्टीभित्रको समस्या पनि सकिन्छ । तर, त्यसबारे गठबन्धनले गरेको निर्णयले अलिक असहज भएको छ ।”

हुन त नाउपा अहिले पनि सुदूरपश्चिम सरकारमा ५ मन्त्रालयका साथ सहभागी छ । नेपाली कांग्रेस नेतृत्वको केन्द्रीय सत्ता गठबन्धन भत्किएसँगै मुख्यमन्त्री कमलबहादुर शाहले नाउपालाई ५ मन्त्रालय पुर्‍याइदिएका हुन्, ताकि आफू नेतृत्वको सरकार नढलोस् ।

रेशम चौधरीको दुखेसो-‘पार्टी विवादले आत्महत्या गर्ने अवस्थामा पुर्‍याएको छ’

अर्थात् नाउपा कांग्रेस नैतृत्वकै सरकारमा सामेल छ । पछिल्लो पटकका मन्त्रीहरू रेशमकै निर्देशनमा बनेका थिए । तर, रन्जिता समूह भने यो चाहँदैन, आफैँले सरकारको नेतृत्व गर्न चाहन्छ । त्यहीँ भएर श्रेष्ठले तत्काल सरकार छाड्न सुदूरपश्चिम प्रदेशका आफ्ना संसदीय दलका नेतालाई लिखित निर्देशन नै दिएकी थिइन् ।

रेशम-रन्जिताबीच विवाद बढ्नुमा यसले अझ बढी काम गरेको छ । तर, आफूहरू मिलेरै अगाडि बढ्ने बताउँछन् नाउपा प्रवक्ता पण्डित । पार्टीमा दुवैजनालाई ‘बाईपास’ गर्न नसकिने उनी बताउँछन् ।

रेशम थारुको छोरालाई मुख्यमन्त्री बनाउन नमानेर आफ्नो मुद्दाबाट पछाडि हटेको उल्लेख गर्दै प्रवक्ता पण्डितले भने, “यो पार्टी जन्माएको रेशमजीले नै हो तर, हुर्काएको रन्जिताजीले हो । त्यसैले उहाँहरू दुवै यहीँ हुनुपर्छ र हामी मिलेरै अगाडि बढ्छौँ ।”

अब नाउपा सग्लै रहन्छ कि श्रीमान्-श्रीमतीले छुट्टाछुट्टै पार्टी बनाउँछन् देखिन बाँकी छ । बीचमा नाटकीयरूपमा केही सहमति नभए यही २३ र २४ गते बोलाएको बैठकमा रेशमले अध्यक्ष रन्जितालाई नै हटाउने तयारी गरेको बताइन्छ । त्यसो भएमा नाउपा औपचारिकरूपमा विभाजित हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved