सुन तस्करीमा पूर्वसभामुख महराको संलग्नता पुष्टि, मुद्दा चलाउन आयोगको सिफारिस

एआईजीसहित चार सुरक्षा अधिकारी पनि कारबाहीको दायरामा

नेपालभ्युज

सुन तस्करीमा पूर्वसभामुख महराको संलग्नता पुष्टि, मुद्दा चलाउन आयोगको सिफारिस

काठमाडौं । सुन तस्करीमा पूर्वसभामुख कृष्णबहादुर महराको संलग्नता देखिएको छानबिन समितिले ठहर गरेको छ ।

सुनको अवैध तस्करी नियन्त्रण जाँचबुझका लागि गठित आयोगले महरालाई मुद्दा चलाउन सिफारिससहितको प्रतिवेदन बुझाएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिवेदनले नेकपा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरा इलेक्ट्रिक चुरोट ‘भेप’ मार्फत् भएको सुन तस्करीमा संलग्न भएको ठहर गरेको छ । यही प्रकरणमा महराका छोरा राहुल पक्राउ परिसकेका छन् ।

भेपमार्फत ल्याइएको सुन छुटाउन चिनियाँ गिरोहसँग महरा बाबुछोराको सम्पर्क देखिएपछि उनीहरूलाई अनुसन्धानमा तानिनु पर्ने माग हुँदै आएको थियो ।

हङकङबाट तस्करी भएको ६० किलो साथै भेपमा लुकाएर तस्करी गरिएको सुनलगायतका प्रकरणको जाँचबुझका लागि आयोग बनाइएको थियो ।

आयोगले हिजो गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

एआईजीसहित चार सुरक्षा अधिकारीलाई पनि कारबाही सिफारिस

सुन तस्करी जाँचबुझ आयोगले केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य सहित ४ प्रहरी अधिकृतलाई पनि विभागीय कारबाहीका लागि सिफारिस गरेको छ ।

आयोगले त्रुटिपूर्ण अनुसन्धान गरेको र सुनमा संलग्नहरूसँग सम्बन्ध देखिएको आरोपमा एआईजी बज्राचार्य, अनुसन्धान समितिका संयोजक प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापा, प्रहरी उपरीक्षक (डीएसपी)द्वय दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरेको हो ।

६० केजी सुन र भेपमा उनीहरुले त्रुटिपूर्ण अनुसन्धान गरेको आयोगको ठहर छ । ६० किलो सुन हङकङबाट र भेपमा लुकाएर दुबईबाट ल्याएको सुनबारे आयोगले जाँचबुझ गरेर प्रतिवेदन बुझाएको छ ।

यस्तै पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका साझेदार एवं साथी सुबु केसीलाई पनि समिति ले सुन तस्करी प्रकरणमा मुद्दा चलाउन मुद्दा चलाउन सिफारिस गरेको छ । दावा छिरिङको मोबाइल जाँचमा २० हजार अमेरिकी डलर सुबु प्रताप केसीको अमेरिकास्थित वेल्स फार्गो बैंकमा जम्मा गरेको भेटिएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

सहसचिव अधिकारीलाई पनि कारबाही सिफारिस

यस्तै आयोगले सहसचिव झलकराम अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । अधिकारी अहिले नेपाल ट्रस्टको कार्यालयमा प्रवक्ता छन् ।

६० किलो सुन तस्करीमा शङ्कास्पद भूमिका देखिएपछि उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएको थियो । ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सह–सचिव अधिकारीको ‘कनेक्सन’ देखिएको छ ।
साथै, आयोगले वाल्डो क्यासिनोको अकाउन्ट हेर्ने हङकङका नागरिक टेरेन्सलाई पनि मुद्दा चलाउन सिफारिस गरेको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved