कांग्रेसको निष्कर्ष- कोशीमा कार्की नेतृत्वकै सरकारले निरन्तरता पाउनुपर्छ

नेपालभ्युज

कांग्रेसको निष्कर्ष- कोशीमा कार्की नेतृत्वकै सरकारले निरन्तरता पाउनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशमा केदार कार्की नेतृत्वको सरकारले निरन्तरता पाउनुपर्ने निष्कर्ष निकालेको छ ।

बिहीबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेताहरू डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक र मुख्यमन्त्री केदार कार्कीबीच बूढानीलकण्ठमा भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो ।

“यो सरकार १६८ को ५ अनुसारकै हो । त्यसकारण यही सरकारले निरन्तरता पाउनुपर्छ भन्ने निष्कर्ष निकालियो,” छलफलमा सहभागी उपसभापति धनराज गुरुङले नेपालभ्युजसँग भने, “न यसको विकल्प छ, न यसलाई विघटन गर्न सकिन्छ । अविश्वास प्रस्ताव ल्याउने अवस्था पनि बनेको छैन । यस्तो अवस्थामा यही सरकारले निरन्तरता पाउँछ ।”

उनले मुख्यमन्त्री कार्कीले १६८ को ५ अनुसारको सरकार आफैँ चलाउने बताएको जानकारी दिए । “यो अवस्थालाई सबै दलहरूले बुझ्नुपर्छ । सहमतिमै अगाडि बढ्नुपर्छ । थप संवैधानिक जटिलता आउन दिनुहुन्न,” उनले भने, “मुख्यमन्त्रीजीले पनि सरकार आफैँ चलाउने भन्नुभएको छ ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस नेतृत्वको सत्ता गठबन्धन फेरेपछि कोशीमा जटिलता थपिएको हो । मध्यावधिमा जाने डरमा दलहरू छन् ।

कोशी प्रदेशसभा ९३ सदस्यीय हो । जहाँ, सरकार बनाउन ४७ सांसदको समर्थन चाहिन्छ । नयाँ सत्ता गठबन्धनमा रहेका एमाले, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादीसँग क्रमश: ४०, १३, ४४ र १ सिट छ । यसरी हेर्दा सहजै सरकार बन्ने देखिन्छ, गठबन्धनसँग ५८ सिट हुन्छ ।

तर, सत्ता गठबन्धनसम्बद्ध दलहरूले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिन डराइरहेका छन् । मध्यावधिमा जानसक्ने सङ्कोचका कारण उनीहरूले स्पष्ट बहुमत हुँदाहुँदै पनि समर्थन कायम राखेका हुन् ।

सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ (५) अनुसार केदार कार्की २७ असोजमा कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनले गत कात्तिक १ मा विश्वासको मत लिएका थिए । त्यसबेला राप्रपाका ६ सांसदबाहेक अरु सबै दलहरूले विश्वासको मत दिएका थिए ।

प्रदेश सभामा कांग्रेसका २९ र राप्रपाका ६ गरी जम्मा ३५ सांसद विपक्षमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved