हिमपातका कारण उपल्लो मुस्ताङमा यातायात ठप्प

नेपालभ्युज

हिमपातका कारण उपल्लो मुस्ताङमा यातायात ठप्प

म्याग्दी । आइतबार  बिहानदेखि परेको हिमपातका कारण मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा यातायात सेवा ठप्प भएको छ ।

बेनी–जोमसोम–कोरला सडकको समरदेखि माथिल्लो क्षेत्रका सडकमा हिउँ जमेपछि यातायात सेवा अवरुद्ध बनेको नेचुङस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी)का प्रमुख भीमबहादुर क्षेत्रीले जानकारी दिए ।

हिमपातपछि स्थानीय र पर्यटकको आवतजावत रोकिएको छ । चिसो बढेको छ । सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । घरभित्रै आगो तापेर बसेका छन् । खोला, धारामा पानी जमेको छ । डाँडापाखा सेताम्मे हिउँले छोपिएको छ । सडक, भवन, पुल, खानेपानी, सिँचाइलगायत विकास आयोजना निर्माण रोकिएको छ ।

बिहानदेखि उपल्लो मुुस्ताङमा अवरुद्ध बनेको विद्युुत् र सञ्चार सेवा अपराह्नदेखि सञ्चालन भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले बताए । चौँरी, च्याङ्गा, गाईलगायत घरपालुवा पशुलाई गोठमै राखिएको छ ।

हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा पनि हिउँ जमेको छ । जोमसोम–कागबेनी–मुक्तिनाथ सडकमा यातायात सेवा सडकमा हिउँ जमेका कारण प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए ।

हिमपात र वर्षाले हिउँदे तथा हिमाली फलफूल खेतीलाई फाइदा गरेको छ । हिउँले जमिनमा राखेको मल भिजाउन, सिँचाइका साथै स्याउ, ओखरको परागशेचन प्रक्रियाका लागि चिसो वातावरण बनाउन सहयोग गर्ने कृषि ज्ञान केन्द्र मुुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले बताउनुभयो ।

“स्याउको परागशेचनका लागि एक हजार पाँच सय घण्टा सात डिग्रीभन्दा कम तापक्रम आवश्यक पर्छ”, उहाँले भन्नुभयो, “हिउँले सुक्खा भएको जमिनलाई भिजाउने र खेतबारीमा राखेको मलको पौष्टिक तत्व बिरुवाले उपभोग गर्न सहज हुन्छ ।” रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved