योगी नरहरिनाथको जन्मोत्सव मनाइँदै, नरहरिनाथ गाउँपालिकामा सार्वजनिक बिदा

नेपालभ्युज

योगी नरहरिनाथको जन्मोत्सव मनाइँदै, नरहरिनाथ गाउँपालिकामा सार्वजनिक बिदा

सुर्खेत । कालीकोटको नरहरिनाथ गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ । योगी नरहरिनाथको जन्मोत्सव मनाउन पालिकाले बिदा दिएको हो ।

वेद, वेदान्त, ईतिहास, पुरातत्व र पुराण जस्ता अति गहन विषयका ज्ञाता बिद्धान राष्ट्र गुरु योगी नरहरिनाथको एक सय १० औं जन्मोत्सव भएकाले एक दिन बिदा दिने निर्णय भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले बताए ।

‘उहाँको जन्मोत्सवका अवसरमा गाउँपालिका भित्रका सम्पूर्ण वडा कार्यालयमा दीप प्रज्वलन गर्ने निर्णय भएको छ ।’ उनले भने, ‘गाउँपालिकास्थित सम्पूर्ण विद्यालय, संघ–संस्था र घर–घरमा दीप प्रज्वलनसहित विदा मनाइने छ ।’

योगी नरहरिनाथको साविकको कालीकोट जिल्ला अन्तर्गत लालु गाउँ (हाल नरहरिनाथ गाउँपािलका– ९ लालुमा भएको थियो । उनको जन्म विसं १९७१ फागुन १७ गते भएको थियो भने मृत्यु १३ फागुन २०५९ साल गोरकक्षपीठ, मृगस्थली, काठमाडौंमा भएको थियो ।

विसं २०७३ सालमा साविकका लालु, माल्कोट, रुप्सा, कुमालगाउँ र कोटवाडा गाविसलाई मिलाएर योगी नरहरिनाथको सम्झनामा गाउँपालिकाको नाम नरहरिनाथ राखिएको गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले बताए ।

‘देश एवम् विदेशका धेरै ऐतिहासिक तथा पुरातात्विक स्थानहरूको भ्रमण गरेर उहाँले अध्ययन अनुसन्धान गर्नुभयो । उहाँकै कदरमा स्थानीय विदा दिन लागिएको हो ।’ उनले भने, ‘एउटा विद्धानलाई दिने योभन्दा ठुलो सम्मान के हुनसक्छ ?’

नरहरिनाथ गाउँपालिका स्थापना भएदेखि नै योगी नरहरिनाथको जन्मोत्सवको अवसरमा बिभिन्न कार्यक्रम गरिदै आएको नरहरिनाथ गाउँपालिका–८ का शिक्षक निर्मलकुमार विष्टले बताए ।

‘उहाँको जन्मोत्सवमा बिभिन्न कार्यक्रम हुँदै आएका थिए । गाउँपालिकाले स्थानीय विदा दिएको पहिलो पटक हो ।’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved