इजरायली आक्रमणको विरोधमा अमेरिकी सैनिकले गरे आत्मदाह प्रयास

नेपालभ्युज

इजरायली आक्रमणको विरोधमा अमेरिकी सैनिकले गरे आत्मदाह प्रयास

काठमाडौं । संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्टनस्थित इजरायली दूतावासबाहिर एक अमेरिकी वायुसेनाका सैनिकले आत्मदाह प्रयास गरेका छन् ।

अमेरिकाको समर्थनमा गाजामा भइरहेको युद्धको विरोधमा अमेरिकी वायु सेनाका २५ वर्षीय बहालवाला सैनिक आरोन बुशनेलले इजरायली दुतावासको अघि सेनाको पोसाक लगाएकै अवस्थामा आगो लगाई आत्मदाह प्रयास गरेका हुन् ।

आफुलाई आगो लगाउनुअघि उनले भनेका थिए, ‘म गाजामा भइरहेको नरसंहारमा भाग लिने छैन । प्यालेस्टाइनलाई मुक्त गर्न आवश्यक छ । स्वतन्त्र प्यालेस्टाइन । अब म आक्रमणको विरोध गर्न खतरनाक कदम चाल्दैछु ।’ त्यसपछि उनले आफूलाई आगो लगाए ।

दूतावासबाहिर उपस्थित सुरक्षाकर्मीले तत्काल आगो निभाउने प्रयास गरेका थिए । उनको अस्पतालमा उपचार भइरहेको छ । तर, अवस्था चिन्ताजनक रहेको छ ।

भिडियोमा देखिएअनुसार बुशनेलले आफूलाई आगो लगाएपछि केहि समयमै एम्बुलेन्स र आगो नियन्त्रक घटनास्थलमा पुगेका थिए । आगो निभाउने क्रममा एक सैनिकले बुशनेलतर्फ बन्दुक ताकिरहेकोसमेत देखिन्छ ।

आफूलाई आगो लगाउनुअघि बुशनेलले ‘ट्विच’ नामक सोसल मिडिया प्लेटफर्ममा लाइभ स्ट्रिमिङ गरेका थिए । तर, घटना लगत्तै उक्त भिडियो प्लेटफर्मबाट हटाइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved