‘गठबन्धनको होइन, कांग्रेसकै सरकार बनाउनेगरी अघि बढ्नुपर्छ’

नेपालभ्युज

‘गठबन्धनको होइन, कांग्रेसकै सरकार बनाउनेगरी अघि बढ्नुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले गठबन्धनको नभइ कांग्रेसकै नेतृत्वमा सरकार बनाउनेगरी अघि बढ्नुपर्ने बताएका छन् ।

गत ७ गतेदेखि सुरू भएर बिहीबार टुङ्गिएको महासमिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै नेताहरूले यस्तो बताएका हुन् ।

कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले भने, “अब गठबन्धनको होइन, कांग्रेसकै सरकार बनाउनेगरी अगाडि बढ्नुपर्छ । तीता-मिठा कुराहरू यहाँ भए, यसलाई यहीँ बिसाएर एकजुट भएर तपाईंहरू फर्कनुस् । अब पार्टीलाई व्यवस्थित गर्नुपरेको छ ।”

उनले अगाडि भने, “हाम्रै नेतृत्वमा मुलुकमा प्रणाली बनेको छ । संविधान बन्यो । दुई/दुईपटक चुनाव पनि भयो । तर, प्रणालीले पूर्णता पाएको छैन । सातवटै प्रदेशका सरकार/मुख्यमन्त्रीहरूले हरेक प्रदेशमा प्रहरी सङ्गठन हुनुपर्छ भनेर आन्दोलनको अभिव्यक्ति दिइरहनुभएको छ । निजामती कर्मचारीहरू आफ्नै हुनुपर्‍यो भनेर भन्नुभएको छ । स्थानीय तहहरू पनि सिंहदरबार धाएको-धायै हुनुहुन्छ । अब कांग्रेसले आफ्नै नेतृत्वमा यी प्रणालीलाई पूर्णता दिनुपर्छ ।”

यस्तै अर्का पूर्वउपसभापति गोपालमान श्रेष्ठले कांग्रेस आफ्नै खुट्टामा उभिँदा बहुमत ल्याउन सक्ने बताए ।

“जब-जब कांग्रेस आफ्नै खुट्टा उभिन्छ, बहुमत ल्याउँछ । २०७९ सालमा पनि पार्टी सभापतिजीले चुनावी कमान्डर बनाउनुभयो, हामी लार्जेस्ट पार्टी भयौँ । अबका दिनहरूमा पनि यसैगरी अगाडि बढ्नुपर्छ । कांग्रेसले आफ्नै खुट्टामा उभिने कोसिस गर्नुपर्छ,” उनले भने ।

अगाडि उनले भने, “हामी सरकारमा पनि छौँ । आत्तिनुपर्ने कुरा पनि छैन फेरि साथीहरू । चुनाव अगाडि नै गठबन्धन गर्नुपर्छ भनेर खुट्टा कमाउन पनि परेको छैन । पार्टीलाई ठीक नियममा चलाउनुपर्छ । अनुशासनमा राख्नुपर्छ नेता/साथीहरू । विद्रोह, अन्तर्घात गर्ने साथीहरू काखी च्याप्नुहुन्न, त्यस्ता साथीहरूलाई काखी च्याप्दा हामीलाई घाटा भइरहेको छ,” उनले भने ।

यस्तै पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि कांग्रेस आफ्नै खुट्टामा उभिनुपर्ने बताए । उनले भने, “अब कांग्रे आफ्नै खुट्टामा उभिनुपर्छ । अरुको भरोसा गरेर काम छैन । कांग्रेस आफ्नै खुट्टामा उभिनसक्ने पार्टी हो,” उनले भने ।

त्यसअगाडि उनले भने, “मुलुकमा निराशा छ, यसलाई आशामा बदल्न कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन सक्नुपर्छ । प्राप्त उपलब्धिहरूको रक्षा गर्दै हामी आफ्नै नेतृत्वमा सरकार बनाउने पहल गर्नुपर्छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved