कांग्रेस महासमिति बैठकमा हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेस, एक हजार ६३ जनाको हस्ताक्षर

नेपालभ्युज

कांग्रेस महासमिति बैठकमा हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेस, एक हजार ६३ जनाको हस्ताक्षर

ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्ताव पेस भएको छ ।

फागुन ७ गतेदेखि जारी बैठकमा सो प्रस्तावका पक्षमा एक हजार ६३ जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानले हस्ताक्षर सुरु गरेको थियो ।

अभियानका संयोजक शंकर भण्डारीले महासमिति बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् । उनले सो प्रस्तावाको आवश्यकता र औचित्यबारे महासमिति बैठकमा जानकारी गराई पार्टी सभापति शेरबहादुर देउवालाई प्रस्ताव बुझाएका थिए ।

विसं २०७१ कात्तिक २० गते स्थापना भएको उक्त महाअभियानले नेपाली कांग्रेसभित्रका विभिन्न बैठकहरुमा हिन्दू राष्ट्रको विषय गहन ढङ्गले उठाउँदै आएको छ ।

यसअघि नवलपरासीको त्रिवेणीधाममा सम्पन्न पार्टीको महासमिति बैठक र काठमाडौँमा भएको बैठकमा समेत हिन्दू राष्ट्रको मुद्दा उठेको थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री भण्डारीको संयोजकत्वको उक्त महाअभियानले ९४ प्रतिशत ओमकार परिवारभित्र रहेको हिन्दूधर्मको मुद्दालाई उठाउँदै आएको हो ।

उक्त महाअभियानको सहसंयोजकमा पूर्वमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र महासमिति सदस्य लोकेश ढकाल तथा महासचिवमा केन्द्रीय सदस्यद्धय भीम पराजुली र मुक्ताकुमारी यादव छन् । यस्तै, पूर्वमन्त्री लक्ष्मण घिमिरेसहितको १५ सदस्यीय सल्लाहकार समितिसमेत निर्माण गरिएको छ ।

उक्त अभियानमा बिहिबार अन्तिम दिनमा आइपुग्दा एक हजार ६१ महासमिति सदस्यले हस्ताक्षर गरेको महाअभियानका सहसंयोजक लोकेश ढकालले जानकारी दिए ।

महासमिति बैठकमा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशबाट बोल्ने महासमिति सदस्यले हिन्दू राज्यको मुद्दालाई प्राथमिकतासाथ उठाएको पाइन्छ ।

“धर्मको नाममा द्धन्द्ध निम्त्याउने आशय महाअभियानको होइन, आम जनताको भावनलाई बुलन्द बनाउनका लागि महाअभियान सञ्चालन गरेका हौँ”, सहसंयोजक ढकालले भने ।

बहुमत महासमितिको भावनालाई कुल्चेर कांग्रेस अगाडि बढ्न नसक्ने ढकालले बताए ।

वैदिक सनातन हिन्दू धर्मले सिर्जना गरेका मूल्य, मान्यता र आदर्श साझा पहिचान भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने ढकालको भनाइ छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved