टीआरसीमा थारु र मधेस आन्दोलनका विषय समेट्न प्रधानमन्त्रीलाई नाउपाको आग्रह

नेपालभ्युज

टीआरसीमा थारु र मधेस आन्दोलनका विषय समेट्न प्रधानमन्त्रीलाई नाउपाको आग्रह

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमा थारु र मधेस आन्दोलनका विषय पनि समेट्न सरकारसँग आग्रह गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिहीबार सिंहदरबारमा भेटेर उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले विधेयकमा मधेस र थारुको विषय पनि समेट्न आग्रह गरेका हुन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक यही अधिवेशनबाट सहमतिमा पास गर्ने गरी प्रधानमन्त्री प्रचण्डले विभिन्न पक्षसँग छलफल जारी राखेका छन् ।

सिंहदरबारमा करिब ४५ मिनेट लामो भेटमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका सम्बन्धमा र अन्य विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । भेटमा अध्यक्ष चौधरीले थारु र मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा सर्वसम्मतरुपमा फिर्ता गर्न आग्रह गरेका थिए ।

भेटमा लाल आयोगको प्रतिवेदन, भूमिहीन जनतालाई लालपुर्जा दिन ढिलाइ भएको विषय, देशभरिका कृषियोग्य जमिन लिजमा दिने व्यवस्था र टीकापुर विमानस्थलको स्त्तरोन्नति र सञ्चालनबारे पनि प्रधानमन्त्री दाहाल र अध्यक्ष चौधरीबीच कुराकानी भएको थियो ।

धावनमार्ग छोटो रहेको भन्दै विमानस्थल सुरु गर्न नसकिने गलत सूचना प्रधानमन्त्रीलाई गराइएको भन्दै अध्यक्ष चौधरीले त्यस विषयमा प्रस्ट पारेको बताए ।

टीकापुर घटनाबारे छानविन गर्न बनेको लाल आयोगले सरकारलाई प्रतिवेदन बुझाए पनि सरकारले सार्वजनिक गरेको छैन । ०७३ सालको साउनमा सरकारले गठन गरेको पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वको आयोगले १४ महिना लगाएर प्रतिवेदन तयार गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved