पहिलोपटक कलेजो प्रत्यारोपण गर्ने नेपाली चिकित्सक टोलीलाई ओलीको बधाई

विश्वमै कठिन मानिने कलेजो प्रत्यारोपणमा काम गरेका विशेषज्ञ प्राडा रमेशसिंह भण्डारीको नेतृत्वमा शल्य चिकित्सक, एनेस्थेसिया, नर्सिङलगायत ५० भन्दा बढीको टोलीलाई ओलीले फेसबुकबाट बधाई दिएका हुन् ।

नेपालभ्युज

पहिलोपटक कलेजो प्रत्यारोपण गर्ने नेपाली चिकित्सक टोलीलाई ओलीको बधाई

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गर्ने नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन् ।

विश्वमै कठिन मानिने कलेजो प्रत्यारोपणमा काम गरेका विशेषज्ञ प्राडा रमेशसिंह भण्डारीको नेतृत्वमा शल्य चिकित्सक, एनेस्थेसिया, नर्सिङलगायत ५० भन्दा बढीको टोलीलाई ओलीले फेसबुकबाट बधाई दिएका हुन् ।

उनीहरूको संयुक्त प्रयासमा पुस २७ गते कलेजो प्रत्यारोपण सम्पन्न भएको थियो । प्रत्यारोपणका लागि ११ घण्टा समय लागेको थियो ।

बधाईका हकदार भन्दै उनले लेखेका छन्, ‘‘८ वर्ष अगाडि नेपालमै कलेजो प्रत्यारोपण सुरु भए पनि प्रत्यारोपणको लागि विदेशी डाक्टर आउनुपर्ने बाध्यता थियो । कलेजो प्रत्यारोपणको नेतृत्व गर्नुहुने प्राध्यापक डा. रमेशसिंह भण्डारीलाई आज बिहान फोन गरेर बधाई दिएँ ।’’

अत्यधिक मदिरा सेवन गरेकै कारण नुवाकोट निवासी ४१ वर्षीय पुरुषको कलेजोमा समस्या आएपछि प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको हो । उनको कलेजोको सफल प्रत्यारोपणपछि बिहीबार डिस्चार्ज गरिएको हो ।

विशेषज्ञ प्राडा रमेशसिंह भण्डारीले त्रिविमै जनरल सर्जरीमा एमसीएच गरेर कलेजो प्रत्यारोपण तथा प्याङ्क्रियाज शल्यक्रियाका लागि अस्ट्रेलियाको मेलबर्नस्थित रोयल अस्ट्रेलियन कलेज अफ सर्जन्सबाट फेलोसिप प्राप्त गरेका थिए । नेपाल फर्किएसँगै उनले शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सुरु गरेका हुन् ।

विश्वमै कठिन मानिने कलेजो प्रत्यारोपण २०७३ सालयता नेपालमा सुरु भए पनि विदेशी विज्ञहरूको भर पर्नुपर्ने बाध्यता छ ।

मानव अङ्ग प्रत्यारोपण केन्द्रबाहेक चितवनस्थित सीएमसी अस्पताल तथा ललितपुरस्थित किस्ट अस्पतालमा पनि कलेजो प्रत्यारोपण भएका थिए । त्यहाँ पनि भारतकै विशेषज्ञको सहयोग लिइएको थियो । अहिले भने नेपालकै चिकित्सकहरूले काम गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved