हिउँचितुवा हिमालबाट तराई कसरी पुग्यो ? कार्यदल बनाएर अनुसन्धान गरिने

मोरङको उर्लाबारीमा भेटिएको हिउँचितुवा तस्करी अथवा अवैध रूपमा संरक्षण गरेर राखिएको आशंका गरिएको छ । हिउँचितुवाको विषयमा विज्ञहरूसहितको कार्यदल बनाएर विभिन्न चरणबाट अनुसन्धान हुने भएको छ ।

नेपालभ्युज

हिउँचितुवा हिमालबाट तराई कसरी पुग्यो ? कार्यदल बनाएर अनुसन्धान गरिने

काठमाडौं । मोरङको उर्लाबारीमा भेटिएको हिउँचितुवा तस्करी अथवा अवैध रूपमा संरक्षण गरेर राखिएको आशंका गरिएको छ । हिउँचितुवाको विषयमा विज्ञहरूसहितको कार्यदल बनाएर विभिन्न चरणबाट अनुसन्धान हुने भएको छ ।

शुक्रबार हिउँ चितुवाको अवस्थाबारे जानकारीका लागि गरिएको पत्रकार सम्मेलनमा प्रकृति संरक्षण कोषले उर्लाबारी जस्तो स्थानमा हिउँ चितुवा देखिनु अस्वाभाविक भएको बतायो ।

कोषका अनुसार विश्वमा ५०० देखि ५ हजार ८०० मिटर उचाइको क्षेत्रमा पाइने हिउँ चितुवा नेपालमा भने दुई हजारदेखि ६ हजार मिटर उचाइमा पाइन्छ ।

तर, उर्लाबारीमा भेटिएको हिउँ चितुवा समुद्र सतहको १४६ मिटर उचाइमा पाइएको थियो । हिउँचितुवाको विषय गम्भीर भएकोले विभिन्न चरणबाट अनुसन्धान हुनुपर्ने देखाएको वन तथा वातावरण मन्त्रालय सचिव डा. दीपककुमार खरालले बताए ।

‘नेपालको जलवायु परिवर्तनको अवस्थालाई पनि हेर्दै यसबाट पनि अनुसन्धान हुनेछ । हरेक दृष्टिकोणबाट अनुसन्धानका लागि मन्त्रालयमा छलफल भइसकेको छ’, उनले भने, ‘अब विज्ञहरूसहितको कार्यदल बनाएर अनुसन्धान गरिनेछ । अनुसन्धानसँगै यसका अन्य पाटाहरूलाई पनि हेर्दै अनुसन्धान गरिनेछ । विज्ञहरूबाट आएका विषयबाहेकका विभिन्न दृष्टिकोणबाट हेर्न सकिन्छ र यो विषय हाम्रो अनुसन्धानले समेट्नेछ् ।’

हिउँचितुवा उर्लाबारीमा भेटीएलगतै विभिन्न आशङ्काहरू राख्दै उक्त चितुवा तस्करीको भएको हुनसक्ने विज्ञहरूले बताए । प्रकृति संरक्षण कोषका वरिष्ठ इकोलोजिस्ट श्यामकुमार शाहले पाटेबाघको स्थानमा हिउँ चितुवा देखिनु अस्वाभाविक भएको बताए ।

माघ ९ गते उर्लाबारीमा भेटिएको हिउँ चितुवाको पछाडिको बायाँ खुट्टा टेक्न असहज भए पनि भित्री कुनै चोट नभएको तथा अवस्था सामान्य भएको कोषले जनाएको छ ।

हिउँचितुवालाई चिडियाखानामा ‘एसी’को सुविधा, सिकारको लागि ‘चिकेन’ (फोटोहरू)

उक्त हिउँ चितुवालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, कोसी टप्पु वन्यजन्तु आरक्ष र प्रकृति संरक्षण कोषको टोलीले संयुक्त रूपमा उद्धार गरेको थियो ।

हिउँ चितुवा अहिले ललितपुरको सदर चिडियाखाना जावलाखेलमा राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved