‘इन्स्पेक्टर’बनेर हिरासतका बन्दी भगाउने प्रहरी जवान पक्राउ, यस्तो थियो १६ वर्षअघिको घटना

बन्दी भगाएबापत बिरबल राय यादवले ६ लाख २५ हजार रुपैयाँ पाएका थिए । त्यो रकमबाट कलकत्तामा दुईवटा ट्याक्सी खरिद गरी चलाउन सुरु गरेका थिए । अहिले उनीसँग नौ वटा ट्याक्सी छ ।

नेपालभ्युज

‘इन्स्पेक्टर’बनेर हिरासतका बन्दी भगाउने प्रहरी जवान पक्राउ, यस्तो थियो १६ वर्षअघिको घटना

काठमाडौं । २०६४ सालमा काठमाडौंबाट पक्राउ परे, भारतको रक्सौल घर भएका ३९ वर्षीय असरफ आलम । महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई ठुलो परिमाणसहित लागु औषधसहित समातेको थियो ।

उनलाई अनुसन्धानको लागि तत्कालीन कार्यालय हनुमानढोकाको हिरासतमा राखिएको थियो । अदालतबाट म्याद थप भएर हिरासतमा राखेर अनुसन्धान भइरहेको ती बन्दीलाई एकदिन हिरासत कक्षमा कार्यरत प्रहरी जवानले हथकडीसहित निकाले ।

प्रहरी जवानले फिल्ड अधिकृत (इन्स्पेक्टर)को दस्तखत रहेको चिट हिरासतमा कक्षमा प्रहरीलाई दिएर ‘इन्स्पेक्टर साबले बोलाउनु भएको छ’ भनी असरफ आलमलाई हिरासत निकाले ।

हिरासतबाट निकालेपछि प्रहरी जवानले ती बन्दीलाई न इन्स्पेक्टरको कक्षमा लगे, न कुनै प्रहरी चौकी, सरकारी वकिल कार्यालय वा अदालतमा नै । उनले बन्दी असरफ आलमलाई कालिमाटी–कलंकी–बुटवल हुँदै भारतको भारतको रक्सौल पुर्‍याएका थिए ।

पछि रहस्य खुल्यो प्रहरी निरीक्षकको किर्ते दस्तखत गरी प्रहरी जवानले आलमलाई हिरासतबाट भगाएका रहेछन् । त्यसपछि ती प्रहरी जवान पनि फरार भए ।

लागु औषधसहित पक्राउ परेका एक भारतीय नागरिकलाई हिरासतबाट भगाएर आफू पनि फरार भएका थिए । उनी थिए, तत्कालीन प्रहरी जवान बिरबल राय यादव ।

बिरबल राय यादवलाई सार्वजनिक गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलन

उनै बिरबल राय यादव घटनाको १६ वर्षपछि बिहीबार पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले नेपाल–भारत सिमानाको काँकडभिट्टाबाट माघ पक्राउ परेको हो ।

उनलाई काठमाडौं ल्याएर माघ १२ गते (शुक्रबार) आवश्यक कारबाहीका लागि प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

बन्दी भगाएबापत बिरबल राय यादवले तत्कालीन समयमा ६ लाख २५ हजार रुपैयाँ पाएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । त्यो रकमबाट यादवले भारतको कलकत्तामा दुईवटा ट्याक्सी खरिद गरी चलाउन सुरु गरेका थिए ।

अहिले उनीसँग नौ वटा ट्याक्सी, भारतको आधार कार्ड, भोटर कार्ड र ड्राइभिङ लाइसेन्स समेत रहेको प्रहरीले जनाएको छ । उनी भारतको कलकत्तामा श्रीमतीसहित बसोबास गर्दै आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved