त्रिवि उपकुलपतिका लागि पुनः दरखास्त आह्वान, हटाइयो पहिलाको केही मापदण्ड

नेपालभ्युज

त्रिवि उपकुलपतिका लागि पुनः दरखास्त आह्वान, हटाइयो पहिलाको केही मापदण्ड

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुनः दरखास्त आह्वान भएको छ । अघिल्लो सूचनामा उपकुलपतिका लागि आवश्यक प्रावधानबारे विवाद भएपछि आइतबार उक्त आह्वान रद्द गरेर नयाँ दरखास्त आह्वान गरेको हो ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको छ ।

प्रकाशित सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम उपकुलपतिको पदमा दरखास्त दिन इच्छुक र योग्य व्यक्तिबाट दरखास्त आह्वान गरिएको छ ।’

इच्छुक व्यक्तिले कार्यविधिमा उल्लिखित कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

इच्छुक व्यक्तिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा सूचनासँगै रहेको कार्यविधिमा उल्लिखित कागजातसहित अनुसूचीमा रहेको दरखास्त ढाँचामा १५ दिनभित्र दरखास्त पेस गर्न सक्नेछन् ।

समितिले गत शुक्रबार सूचना प्रकाशित गर्दै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको थियो ।

उक्त दरखास्त आह्वानमा उल्लेख भएको उपकुलपतिका लागि आवश्यक प्रावधानबारे विवाद भएपछि आइतबार उक्त आह्वान रद्द गरेको सूचना निकालेको थियो ।

समितिले शुक्रबार प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि) पेस गर्न’ भनी सूचना निकालेको थियो । यसको व्यापक विरोध भएको थियो ।

आज प्रकाशित सूचनामा शुक्रबारको प्रावधानलाई हटाएर ‘छनोट तथा सिफारिससम्बन्धी कार्यविधि–२०८० बमोजिम उपकुलपतिको पदमा दरखास्त दिन इच्छुक र योग्य व्यक्तिबाट दरखास्त आह्वान गरिएको छ’ उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved