पुरानै लयमा फर्किदै मुस्ताङ

यसवर्ष ९० हजार विदेशी पर्यटकले भ्रमण गरे

नेपालभ्युज

पुरानै लयमा फर्किदै मुस्ताङ

काठमाडौं । यस वर्ष मुस्ताङमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार ३ सय ५६ विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका हुन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयका अनुसार यो संख्या गत वर्षको भन्दा २४ हजार चार सय २५ जनाले धेरै हो ।

एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२२ को तुलनामा पर्यटकको संख्या उल्लेख्य बढेको छ ।

रेग्मीले भने, “ राष्ट्रिय सडक सञ्जालमा जोडिएको, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका उत्कृष्ट १० गन्तव्यमा समेटिएको यो जिल्लाको प्रचुर मात्रामा प्रचार–प्रसार भएसँगै सुविधायुक्त होटल खुलेका कारण मुस्ताङमा पर्यटक आगमन बढेको हो । “भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ र मुस्ताङको भ्रमण गरेपछि भारतीय नागरिक मुस्ताङ भ्रमणमा आउने क्रम पनि बढेको छ ।”

सन् २०२२ मा ६५ हजार नौ सय ४०, सन् २०२१ मा दुई हजार तीन सय र २०२० मा दुर्ई हजार तीन सय ४७ जना पर्यटक मुस्ताङ आएका थिए । कोरोना महामारीअघि मुस्ताङमा अधिकतम वर्षिक ६० हजार जनासम्म पर्यटक आएका थिए ।

सन् २०२३ मा मुस्ताङ भ्रमणमा आएकामध्ये ७२ हजार एक सय ९० जना दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)राष्ट्रका र १८ हजार एक सय ६६ जना तेस्रो मुलुकका छन् ।

दश हजार सात सय ३३ जना पर्यटक थोराङ्ला पास भएर मनाङ हुँदै मुस्ताङ आएका एक्याप प्रमुख रेग्मीले बताउनुभयो ।

कागबेनीबाट कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले सात दिनका लागि पाँच सय डलर शुल्क तिर्नुपर्छ । गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलकका पर्यतटकलाई प्रतिव्यक्ति एक हजार रुपैयाँ र तेस्रो मुलुकका नागरिकलाई प्रतिव्यक्ति तीन हजार रुपैयाँ तोकिएको छ ।

उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलमा पर्यटक आगमन फेरि पुरानै लयमा फर्किएको छ ।

म्याग्दी हुँदै सडक र पोखराबाट हवाईमार्ग भएर पर्यटक मुस्ताङ पुग्ने गरेका छन् । मनाङ हुँदै थोरङ्ला भञ्ज्याङ पार गरेर केही पर्यटक मुस्ताङ प्रवेश गर्ने गरेका छन् । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको मुस्ताङ आन्तरिक र बाहिय पर्यटकको रोजाइमा परेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved