माओवादी नेताले पटकपटक बलात्कार गरेपछि भागेकी बालिका प्रेमीको शरणमा, प्रेमीले पनि छाडेनन्

उनी आफूले काम गर्न बसेको घर मालिक माओवादी नेता भूमिनन्द देवकोटाबाट बलात्कृत हुनुपरेको थियो । त्यो पनि वर्ष दिनयता पटकपटक । उनलाई न्याय दिलाउन भन्दै अघि सरे उमेरले १० वर्ष जेठा प्रेमी । प्रेमीबाट पनि उनी बलात्कृत भइन ।

नेपालभ्युज

माओवादी नेताले पटकपटक बलात्कार गरेपछि भागेकी बालिका प्रेमीको शरणमा, प्रेमीले पनि छाडेनन्

काठमाडौं । बलात्कारको आरोपमा गोरखाका माओवादी नेता नेता भूमिनन्द देवकोटा पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौं महानगरपालिका–३२ मा बस्दै आएका गोरखाका ६५ वर्षीय देवकोटालाई पक्राउ गरेको हो । घटना अघिल्लो साताको हो । पीडित भनिएकी १७ वर्षीया किशोरी देवकोटाकै घरमा बस्दै आएकी थिइन् ।

घरेलु कामदार माया लामा (नाम परिवर्तन) ६ वर्षको उमेरदेखि भूमिनन्दको घरमा बस्दै आएकी थिइन् । उनी दुर्गम गाउँबाट काठमाडौं आएकी थिइन् ।

घरमा कोही नभएको मौकामा घरमालिक माओवादी नेता भूमिनन्दले वर्ष दिनयता बलात्कार गर्दैआएको पीडितको जाहेरीमा उल्लेख छ ।

त्यसपछि उनलाई न्याय दिलाउन भन्दै अघि सरेका प्रेमीले पनि बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ ।

यस्तो छ बालिका बलात्कारको घटना

पीडित बालिकाले बिहानदेखि रातिसम्म घरको सबै काम गर्नुपर्ने थियो । जब घरमा अरू कोही हुँदैनथे भूमिनन्दले आफूलाई लुछ्न आउने पीडित बालिकाले बयान दिएकी छिन् ।

आफूमाथिको अत्याचार नरोकिएपछि घरका अरुलाई बताउने चेतावनी दिइन् । तर, भूमिनन्दले मारिदिने धम्की दिए । सामान्य अक्षर मात्र चिनेकी माया लामाको काठमाडौंमा कोही थिएन । भागेर जाने ठाउँ पनि पाइनन् । न कसैलाई भन्न सकिन् ।

यसरी उनले एकवर्षसम्म पीडा खपेरै बसिन् । एक वर्षसम्म न उनले कसैलाई न्यायको लागि हारगुहार सुनाउन सकिन्, न कसैबाट सहयोग पाइन् । उनलाई कसैले साथ नदिएको अवस्थामा सामाजिक सञ्जालमार्फत चिनजान भएको एक युवासँग आफ्ना कुरा खोलिन् ।

माया लामा र ती युवाबीच धेरै व्यक्तिगत कुराहरू आदानप्रदान हुन्थ्यो । सोही क्रममा मायाले परियार थरका ती युवालाई आफू घर मालिकबाट पटकपटक बलात्कृत भइरहेको कुरा सुनाइन् ।

ती युवाले मायालाई सहयोग गर्ने बताए । उनलाई न्याय दिलाउने बिहे समेत गर्ने आश्वासन दिए । सहारा बिहान पीडित बालिकालाई केही आशा पलायो ।

उनले माओवादी नेताको घर छाडेर आफ्नो डेरामा आएर बस्न बोलाए । जाहेरीमा उल्लेख भए अनुसार तिहारको समयमा घरमा अरू थिएनन् । त्यो मौका छोपेर भूमिनन्दले बालिकालाई रातभर बलात्कार गरे । कात्तिक ३० गते भाइटिकाको दिन बिहानै पीडित बालिका भागेर केटा साथीकोमा गइन् ।

भूमिनन्दको घरमा यौन अत्याचार सहन नसकेर शरण लिन आएकी माया प्रेमीको कोठामा बसिन् । उनलाई न्याय दिलाउन भन्दै अघि सरेका ती युवा उमेरले बालिकाभन्दा १० वर्ष बढी उमेरका थिए । त्यही रात ती युवाले पनि मायालाई छाडेनन् ।

न्याय पाउन आएकी माया प्रेमीबाट पनि फेरि बलात्कारमा परिन । त्यसपछि मात्रै प्रहरीमा गइन् । उनले जाहेरी दिएपछि अहिले माओवादी नेता भूमिनन्द देवकोटा र ती युवा पक्राउ परेको महानगरिय प्रहरी वृत्त नयाँबानेश्वरले जनाएको छ ।

पीडित बालिकालाई भूमिनन्दले आफ्नो घरमा संरक्षण दिएर राखेका थिए । बाल अधिकार, महिला अधिकार र महिला हिंसाबारेमा विभिन्न फोरममा चर्का भाषण गर्ने उनै माओवादी नेता भूमिनन्दले ती बालिकालाई छाडेनन् ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘‘पीडित बालिकाले दिएको जाहेरीमा देवकोटाले विगत १ वर्षदेखि उनलाई जबरजस्ती करणी गरेको उल्लेख छ । जाहेरीपछि पीडितको स्वास्थ्य परीक्षणदेखि सबै गरिएको छ । धेरै तनावको कारण होला पीडितको मानसिक अवस्था समेत कमजोर छ । दुवै आरोपीलाई पक्राउ गरेका छौँ ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved