स्वतन्त्रभित्रको विस्फोटउन्मुख उकुसमुकुस

सतहमा शान्तझैं देखिन्छ– राष्ट्रिय स्वतन्त्र पार्टी । तर, यसभित्र अस्वभाविक उकुसमुकुस छ । यस्तो लाग्छ– जुनकुनै बेला रास्वपाभित्रको लाभा सतह फोरेर बाहिर निस्कने छ र ठूलै उथलपुथल हुनेछ ।

नेपालभ्युज

स्वतन्त्रभित्रको विस्फोटउन्मुख उकुसमुकुस

काठमाडौं । सतहमा शान्तझैं देखिन्छ– राष्ट्रिय स्वतन्त्र पार्टी । तर, यसभित्र अस्वभाविक उकुसमुकुस छ । यस्तो लाग्छ– जुनकुनै बेला रास्वपाभित्रको लाभा सतह फोरेर बाहिर निस्कने छ र ठूलै उथलपुथल हुनेछ ।

खासमा रास्वपा कुनै राजनीतिक दलभन्दा पनि ‘फ्यान क्लब’को शैलीमा चलिरहेको छ । विधि र पद्दतिका ठूला कुरा गरेर निर्माण भएको पार्टी सञ्चालनमा नै मनलाग्दी भएपछि भित्रभित्रै असन्तुष्टिले जरा गाडेको छ ।

खासगरी जलेश्वरमा हालसालै सम्पन्न बैठकपछि रास्वपामा झन् धेरै असन्तुष्टि झांगिएको छ । अझ भनौं– उन्नत र आधुनिक राजनीति गर्ने भन्दै अनायास उदाएर रातारात चम्किएको रास्वपामा जलेश्वर बैठकपछि रडाको नै मच्चिएको छ ।

जलेश्वरमा सम्पन्न पार्टी बैठक सञ्चालन प्रक्रिया र निर्णयप्रति रास्वपाकी सांसद एवं केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले सार्वजनिक रूपमै असन्तुष्टि जनाइन् । पार्टी बैठकले जिम्मेवारी बाँडफाँट गरेपछि रिसाएकी तोसिमाले सामाजिक सञ्जाल फेसबुकमा ‘विधिको शासन ?’ भनेर लेखिन् । उनको स्टाटसमा हजारौंले कमेन्ट गरेका छन् । कतिले उनीमाथि अन्याय भएको भन्दै सान्त्वना दिएका छन् त कतिले उल्टै उनको आलोचना गरेका छन् ।

उनको अभिव्यक्तिले प्रष्ट पार्छ कि– उनी नेतृत्वप्रति नराम्ररी रुष्ट छिन् । उनको स्टाटसले भन्छ– अन्त विधिको शासनको ठूलो कुरा गर्ने तर आफ्नै पार्टीभित्र चाहिँ लागू गर्नु पर्दैन ?

तर उनले केहीदिन पछि आफ्नो असन्तुष्टिलाई ढाकछोप गर्नेगरी अर्को स्टाटस लेखिन् । पार्टीको दबाबमा लेखिएको दोस्रो स्टाटसलाई धेरैले ‘प्रायोजित’ नै माने ।

जलेश्वर बैठकपछि तोसिमा मात्रै होइनन्, सोवितालगायत अन्य थुप्रै नेताहरु रुष्ट भए । किनकि सभापति रवि लामिछानेले कसैसँग छलफलै नगरी मनलाग्दी अर्थात् निरंकुश शैलीमा पदाधिकारी संख्या १५ पुर्याउँदा पदाधिकारीमा तोसिमासँगै शिशिर खनाल, सोविता गौतम, गणेश पराजुलीलगायत नेता परेनन् ।

बरु रविले विगतमा टिभीमा काम गरेका सहकर्मीहरुलाई नै पार्टी पदाधिकारीमा समेटे । सह–महामन्त्री मनोनीत विपिन आचार्य, सह–कोषाध्यक्ष दीपक बोहोरा, सह–प्रवक्ताहरू प्रतिभा रावल र रमेश प्रसाईं रविसँग विगतमा टिभीमा काम गरेका सहकर्मी हुन् । यसले पार्टीभित्र रविको मनोमानीलाई प्रष्ट पार्छ ।

सभापतिलाई मन लागेको मान्छेलाई पदाधिकारी बनाउन विधानै संशोधन गर्ने रास्वपाको प्रवृत्ति र केपी ओलीलाई अध्यक्षमा टिकाउन उमेरबारे विधान संशोधन गर्ने एमालेमा के फरक भयो र ?

पदाधिकारी नियुक्तिबारे छलफलै नहुने, सभापतिको गोजीबाट जसलाई मन लाग्यो त्यसलाई पदाधिकारी बनाउने, मन लागेजति सबैलाई केन्द्रीय सदस्य बनाउने शैलीले रास्वपालाई कहाँ पुर्याउला ? हो, वाकपटु रविको भाषणबाट प्रभावित भएर रास्वपाका लागेकाहरु पछुताउन थालेका छन् ।

‘रवि ब्राण्ड’बाट चलेको रास्वपाभित्र आलोचनात्मक चेतको अभाव छ । ‘सरकार वा पुराना दललाई सराप्नु नै मुख्य चेत हो’ भन्ठान्ने उनीहरु आफैंभित्रको अन्यायविरुद्ध भने बोल्न सक्दैनन् । किनकि, रवि रिसाए भने आफ्नो सुनौलो राजनीतिक भविष्य ठाउँको ठाउँ सकिनेमा उनीहरु ढुक्क छन् । त्यसैले उनीहरु त्यो जोखिम मोल्नुभन्दा पीडामा पिल्सिएरै भएपनि रास्वपाभित्रै भविष्य खोज्न अभिषप्त छन् ।

यद्यपि पछिल्लो समय असन्तुष्टहरुले मसिनो स्वरमै भए पनि अवाज उठाउन थालेका छन् । गणेश कार्कीहरुले असन्तुष्ट अवाजलाई संगठित गर्ने आँट गरे पनि रास्वपामा रविको एकल शासन धेरै नटिक्नसक्छ । र, रास्वपाभित्रको अहिलेको ‘मुर्दा शान्ति’ कुनै पनि बेला विद्रोहमा रुपान्तरण हुने सम्भावना छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved