सुनकोशी गाउँपालिकाले थाल्यो आफ्नै भवन बनाउने प्रक्रिया, दातासँग माग्यो जग्गा

नेपालभ्युज

सुनकोशी गाउँपालिकाले थाल्यो आफ्नै भवन बनाउने प्रक्रिया, दातासँग माग्यो जग्गा

काठमाडौं। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले पनि आफ्नै भवन बनाउने प्रक्रिया सुरु गरेको छ । गाउँपालिकाले प्रशासकीय भवन बनाउनका लागि दाताहरुसँग जग्गाको लागि आह्वान पनि गरेको छ ।

गाउँपालिकाले केही दिनअगाडि सार्वजनिक सूचना प्रकाशित गरी भवन निर्माणका लागि व्यक्ति वा संघ संस्थालाई निःशुल्क जग्गा उपलब्ध गराउन आग्रह गरेको हो ।

अहिले सातै वडाको मध्यभाग पर्ने गरेर पालिकाको केन्द्र निर्धारण गर्ने र जग्गा व्यवस्थापन गरेर भवन निर्माण सुरू गर्ने योजनाका साथ दातासँग जग्गाका लागि आह्वान गरिएको गाउँपालिकाका अध्यक्ष टपिन्द्र तिमल्सिनाले बताए ।

‘गाउँ कार्यपालिकाको बैठकले नै निर्णय गरेर पालिकाभित्रका सातै वडाबाट जग्गा प्राप्तीको अनुरोध गर्ने र निर्धारित मितिसम्म जग्गा प्राप्ती भएपछि प्राप्त जग्गामध्ये कार्यपालिका र गाउँसभामा छलफल गरेर उपयुक्त स्थानमा पालिकाको केन्द्र निर्धारण गरी भवन निर्माणको प्रक्रिया थाल्नेछौं’, अध्यक्ष तिमिल्सिना भन्छन्, ‘पालिकामा क्रियाशील राजनीतिक दलहरूसँग पनि छलफल गरेर केन्द्रको विषयमा साझा दृष्टिकोण बनाउन प्रतिबद्ध छौं ।’

गाउँपालिका वा नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि मन्त्रिपरिषद बैठकको २०७५–५–२६ गते स्वीकृत मापदण्डअनुसार कम्तीमा ६ रोपनी जग्गा आवश्यक पर्ने सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

सिन्धुपाल्चोकका १२ पालिकामध्ये ९ वटाले केन्द्र निर्धारण गरेर आफ्नै भवनबाट जनतालाई सेवा दिइरहेका छन् । त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालय भवन निर्माणको अन्तिम चरणमा पुगिसकेको छ । हेलम्बु गाउँपालिकाको पनि केन्द्र निर्धारणसँगै जग्गा व्यवस्थापन गरी भवन निर्माणको काम सकिन लागेको छ ।

पहिलोपटक निर्वाचित जनप्रतिनिधि टीमले सुनकोशी गाउँपालिकाको–३ मा रहेको सामुदायिक जंगलको जग्गामा पालिका भवन निर्माण गर्ने निर्णय गरेपनि त्यसले गति लिन नसकेपछि अहिलेको नेतृत्वले नयाँ प्रक्रिया सुरु गर्नुपरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved