हमासले यसरी लगेको थियो विपिन जोशीलाई, हेर्नुस् सीसीटीभी फुटेज

नेपालभ्युज

हमासले यसरी लगेको थियो विपिन जोशीलाई, हेर्नुस् सीसीटीभी फुटेज

काठमाडौं । असोज २० अर्थात्अ क्टोबर ७ मा इजरायली भूमिमा आक्रमणपछि हमासले नेपाली विद्यार्थी विपिन जोशीलाई अपहरण गर्दाको भिडिओ सार्वजनिक भएको छ । इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले भिडिओ सार्वजनिक गरेको हो ।

अहिले विपिन गाजाको अस्पतालमा रहेको खुलासा गर्दै आईडीएफले ७ अक्टोबर बिहान ११ बजेको सीसीटीभी फुटेज सार्वजनिक गरेको हो।

भिडिओमा इजरायली क्षेत्रको शिफा अस्पतालबाट २ जना अपहरण गरिएको देखिन्छ । उनीहरूलाई सशस्त्र हमास आतंकवादीहरूले घेरेको देखिन्छ। ती मध्ये एक नेपाली नागरिक विपिन र अर्का थाई नागरिक हुन् । एकजना बन्धक घाइते भएका छन् । उनलाई अस्पतालको बेडमा लगिएको छ । अर्को हिँडिरहेको छ। हिँडाएरै लगिएको छ ।

विपिन जोशी गाजाको अस्पतालमा फेला परे, उद्धारको तयारी छ – परराष्ट्र मन्त्रालय

इजरायलस्थित नेपाली राजदूतावासले इजरायली डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्तालाई उद्धृत गर्दै इजरायलको किबुज–अलुमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाई लगेकामध्ये विपिन जोशी पनि रहेको बताएको हो ।

दूतावासले विपिनको पछिल्लो अवस्थाबारे पुष्टि गर्ने प्रयास भइरहेको बताएको छ ।

आईडीएफका प्रवक्ता ड्यानियल हगारीले हमासद्वारा बन्धक बनाइएका सबैलाई सकुशल मुक्त गर्ने प्रयास भइरहेको जनाएका छन् ।

सीसीटीभी फुटेजमा बन्धक बनाइएकालाई गाजाका अस्पतालमा राखिएको पनि पुष्टि भएको आईडीएफले जनाएको छ ।

विपिन जोशीको परिवारलाई परराष्ट्रमन्त्रीको फोन – ‘उनी सकुशल फेला परेका छन्, उद्धारको तयारी छ’

घाइतेहरूलाई हमासले नै अस्पताल लैजाँदै गरेको फुटेजहरू सार्वजनिक भएको छ । हमासले करिब २४० जनालाई बन्धक बनाएको इजरायली सरकारले बताएको छ ।

गत अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरेयता इजरायलले निरन्तर गाजा क्षेत्रमा आक्रमण गर्दै आएको छ । हमासको आक्रमणमा करिब १२ सयको मृत्यु भएको इजरायलले जनाएको छ । त्यस्तै इजरायलको आक्रमणमा परी १२ हजारभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ । मारिनेमा ४ हजार ५ सयभन्दा बढी बालबालिका रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved