छठ पर्वको सांस्कृतिक आयाम : सार्थक समाज निर्माणको सन्देश

छठ पर्वको सांस्कृतिक आयाम : सार्थक समाज निर्माणको सन्देश

जनकपुरधाम । आज छठ पर्वको मुख्य दिन, विशेष गरेर तराई–मधेशमा धुमधामसँग मनाइँदै छ । आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गरिन्छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बिहीबारदेखि सुरू भएको हो ।
छठ पर्वको थालनीको सन्दर्भमा पुरोहित इन्द्रकान्त झा शास्त्री भन्छन्, “ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार, द्रौपदीसहित पाँच पाण्डवले अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए। त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।”
शास्त्रीले अर्को सन्दर्भमा बारे बताउँदै भने, “सूर्य पुराण अनुसार, सर्वप्रथम अत्रि मुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरूआत भएको धार्मिक विश्वास छ ।”
३० वर्षदेखि छठ ब्रत बस्दै आएकी धनुषा महेन्द्रनगरकी ७५ वर्षीया एक ब्रतालु गीता देवी साहले छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहेको बताइन् ।

ब्रतको विधिबारे जानकारी दिंदै अर्का ७२ वर्षीया फुलो देवी यादव भन्छिन्, “कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्नु पर्दछ। दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई व्रतालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गर्दछन्।”

यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने विधि विधान रहेको पण्डित राभखेलावन झाले बताए ।

कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ। २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ।

कुनै बेला स्थान विशेष र समुदाय विशेषमा मात्रै सीमित यस किसिमको पर्वले व्यापकता पाउनुमा अन्य स्थान र समुदायका व्यक्तिको समेत यो पर्वप्रतिको स्वीकारोक्ती रहेको क्षीरेश्वर जनता उच्च माविका सामाजिक विषयका प्राध्यापक शिवजी रौनियार बताउँछन्। उनले भने, “छठ मनाएको माहोल हेर्दा लाग्छ, यो पर्वले मधेस र पहाडलाई जोडेको छ । अनि एक अर्काे समुदायमा आत्मीयता तथा हार्दिकता बढाएको छ । एक हिसाबले भन्ने हो भने नेपाली समाजमा जे जस्तो धार्मिक तथा सांस्कृतिक सहिष्णुता छ, त्यसले पनि कुनै समुदाय र स्थान विशेषका पर्व, संस्कार र संस्कृतिप्रति अर्को धर्म, सम्प्रदाय, समुदायको पनि उत्तिकै स्वीकारोक्ति हुने गरेको हो ।”

समाजशास्त्री निलबहादुर लुम्रेले छठ जस्ता चाडपर्वलाई जति धेरै विस्तारित र स्वीकारोक्ती गर्न सकियो, त्यसले नै विभिन्न समुदायबीच आत्मिकता र हार्दिकता बढ्दै जाने बताए । उनले भने, “यस्तै सांस्कृतिक पर्वहरूले नै विभिन्न समुदायलाई एकआपसमा जोड्दै जाने पनि हो । र, विभिन्न समुदायलाई जोड्ने यस्ता सास्ंकृतिक पुलहरू जति सबल बन्दै जान्छन्, त्यति नै समावेशी राज्य संरचनाले पनि सार्थकता पाउँछ ।”
पछिल्लो दिनमा अनुभव गरिए अनुसार छठ बिस्तारै राष्ट्रियमात्र होइन अन्तर्राष्ट्रियकरणतर्फ उन्मुख छ । वर्तमानमा यो महापर्व विश्वमा जहाँकहीँ पनि भैथिली र भोजपुरीभाषी छन्, त्यहाँ मनाउने गरिएको छ ।

यस पर्वले कुनै पनि धर्म, भाषा, समुदाय, जात–जाति, छूत–अछूतका आधारमा कसैलाई वर्जित गर्दैन । भेदभाव गर्दैन । छठले सबैलाई समेटेर सार्थक समाज निर्माणको सन्देश प्रदान गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved