आपतविपतमा प्रहरीले खेल्ने सहयोगी भूमिका महत्त्वपूर्ण छ : मुख्यमन्त्री यादव

आपतविपतमा प्रहरीले खेल्ने सहयोगी भूमिका महत्त्वपूर्ण छ : मुख्यमन्त्री यादव

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल प्रहरीलाई जनतालाई शान्ति सुरक्षाको प्रत्यक्ष अनुभूति हुनेगरी कामकाज गर्न निर्देशन दिएका छन् ।

६८औं प्रहरी दिवसको अवसरमा मंगलबार प्रदेश प्रहरी कार्यालय मधेस प्रदेशले जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले नेपाली जनताको प्रहरीप्रतिको भरोसा र विश्वासलाई कायम राखी प्रहरीले इमान्दारितापूर्वक काम गर्नुपर्ने बताए ।

विगतमा मधेस प्रदेशमा आएको बाढी पहिरो सहितका आपतविपतमा प्रहरीले खेलेको महत्त्वपूर्ण सहयोगी भूमिकाको प्रशंसा गर्दै मुख्यमन्त्री यादवले आपतविपतको समयका लागि सदैव तयार भएर बस्नुपर्ने बताए । उनले अपराधीले अपराध गर्दा विभिन्न खालका आधुनिक प्रविधिको प्रयोग गर्ने गरिएको भन्दै प्रहरी अनुसन्धानका लागि प्रहरीलाई प्रविधिसँगको पहुँच बढाउनुपर्नेमा जोड दिए।

उनले प्रदेशमा शान्ति र अमनचयन कायम गर्न प्रदेश सरकारको क्षमताले भ्याए जतिको सहयोग गर्न प्रदेश सरकार तयार भएको बताए। उनले भने, “प्रहरीको काम एकदम गाह्रो छ । चाडपर्वको समयमा सबै बिदामा रहेका बेला पनि नागरिकको सुरक्षाका लागि प्रहरी अहोरात्र खटिरहेको हुन्छ । नि:स्वार्थ सेवा गर्ने प्रहरी जवानलाई सलाम छ ।”

मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहमद समीमले नेपालको संविधान र कानुनको परिधिमा रहेर मुस्कान सहितको सेवा दिन नेपाल प्रहरीलाई निर्देशन दिए। उनले कामकाजका बेला विभिन्न खालका दबाब आउन सक्ने भन्दै कसैको दबाब प्रभावमा नपरी नेपाल प्रहरीले इमान्दारितापूर्वक काम गर्नुपर्ने बताए।

प्रदेश प्रहरी प्रमुख एवम प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले नेपाल प्रहरीको गौरवशाली इतिहासबारे जानकारी दिँदै विविध आरोह-अवरोहबीच कर्तव्यपथमा शहीद भएका प्रहरीप्रति श्रद्धाञ्जलि एवम् परिवारजनमा समवेदना व्यक्त गरे ।

शहीद प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुखमनोज साह, प्रमुख सचिव दिनेश घिमिरेसहित सुरक्षा निकायका उच्च सुरक्षा अधिकारीको उपस्थिति थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved