अनिष्टको खतराले दशैंमा जमरा राख्दैनन् बागलुङका माझी समुदाय

नेपालभ्युज

अनिष्टको खतराले दशैंमा जमरा राख्दैनन् बागलुङका माझी समुदाय

बागलुङ । नेपालीहरूको महान् चाड बडादशैंको पहिलो दिन आज घटस्थापना । बडादशैंको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ । जमरा राख्नु पूर्व गाउँघरमा रातो तथा कमेरो माटो र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङ रोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ ।

अनिष्टको डरले बागलुङमा रहेको सीमान्तकृत माझी समुदायले भने जमरा नराखी नै दशैं मनाउँदै आएका छन् । देवीलाई जौँको जमरा मन पर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन भए पनि बागलुङ नगरपालिका–१ रामरेखाका खनियाबासका माझी समुदायले भने जमराबिनै दशैं मनाउँदै आएका छन् । उनीहरू घरमा जमरा नराखेको वर्षौँ भएको बताउँछन् ।

जमरा राख्दा अनिष्ट हुने भन्दै पुस्तौँदेखि घटस्थापनामा जमरा नराख्ने गरेको माझी समुदायका स्थानीय देनकुमारी माझीले बताइन् । “जमरा राख्दा अनिष्ट भएपछि राख्न छाडिएको हो भन्ने गर्छन् पाका पुरानाहरू”, माझीले भनिन्, “घटस्थापनाको दिन जमरा छर्ने क्रममा कन्याहरूको मृत्यु भएको र त्यसपछि जमरा नराखी दशैं मनाउन थालिएको भन्ने सुनिन्छ, अहिले दशैंको दिन कालिका मन्दिरमा छरेका जमरा लिएर टीकासँगै लगाइन्छ ।”

माझीका अनुसार दशैंको दिन टीका, जमरा त लगाउँछन् तर जमरा भने मागेर वा मन्दिरमा पुगेर ल्याउने चलन छ । घरमा जमरा राखेपछि अनिष्ट हुने विश्वासले यहाँका १७ माझी परिवारले घरमा जमरा नराख्ने गरेको पाइन्छ । यसलाई माझी समुदायले आफ्नो परम्पराको रूपमा लिँदै आएका छन् ।

तीन पुस्ता अघिसम्म जमरा राखे पनि त्यसपछि ठुलै अनिष्ट घटना भएपछि जमरा राख्न छाडिएको सोमबहादुर माझीले बताए । खनियाबास र मालढुङ्गामा बस्ने माझीहरूले घरमा जमरा नराख्ने चलन अहिले परम्पराका रूपमा स्थापित भइसकेको छ ।

“जुन वर्ष जमरा राख्यो, त्यो वर्ष घरकी कन्याको मृत्यु भएको भन्ने छ, जमरा राख्दा घरकी छोरीको मृत्यु हुने गरेका कारण जमरा नराख्ने भनेर सल्लाह गरेर राख्न छाडिएको सुनिन्छ”, सोमबहादुरले भने । दशैं मनाउने भए पनि जमरा नराख्ने माझी समुदायको प्रचलनलाई अनौठो प्रचलनका रूपमा अन्य समुदायले लिँदै आएका छन् । माझीहरूले दशैंमा जमरा लगाउन हुने भए पनि जमरा राख्न नहुने मान्यता स्थापित भइसकेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved