विद्यार्थीविहीन बन्दै पर्वतका सामुदायिक विद्यालय, एक विद्यार्थीको भागमा तीन शिक्षक !

नेपालभ्युज

विद्यार्थीविहीन बन्दै पर्वतका सामुदायिक विद्यालय, एक विद्यार्थीको भागमा तीन शिक्षक !

पर्वत । पर्वतका सामुदायिक विद्यालय विद्यार्थीविहीन बन्दै गएका छन् । अवसरको खोजीमा गाउँबाट बसाइँ सर्नेक्रम बढेपछि विद्यालय खाली हुँदै गएका हुन् ।

यस्तै समस्या रहेको छ, कुश्मा नगरपालिका–१२ ठूलीपोखरीको अर्जिकोटस्थित सहिद शुक्र आधारभूत विद्यालयमा । कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयको तीन वटा भवनमा  आठ वटा कक्षाकोठा छन् । तीन शिक्षकको दरबन्दी रहेको सो विद्यालयमा एक सहायक कर्मचारीसमेत रहेका छन् तर विद्यार्थी भने एक जना मात्र छ ।

कक्षा १ मा पढ्ने एक छात्राबाहेक विद्यार्थी नै छैनन् । तीनजना शिक्षकले दिनभर ती एउटी छात्रालाई रुघेर बस्नुपरेको छ । शिशुकक्षा, कक्षा २, ३, ४, ५ पूरै खाली रहेको विद्यालयका प्रधानाध्यापक शिवप्रसाद तिवारीले बताए ।

कुनै समय २५–३० जनासम्म एउटै कक्षामा विद्यार्थी भएकामा  अहिले विद्यार्थी सङ्ख्या न्यून रहेको उहाँको भनाइ थियो । एक–दुई जना विद्यार्थी भए पनि आफूहरु नियमित विद्यालय आउने, हाजिर गर्ने र पढाउने काम गरिरहेको प्रधानाध्यापक तिवारीले बताए । आफूहरु गुणस्तरीय शिक्षा दिन सक्षम भए पनि विद्यार्थी नै नआएपछि के गर्ने भन्ने अन्योल रहेको उनको भनाइ थियो ।

२०२६ सालमा स्थापना भएको यो विद्यालयमा विगत पाँच वर्षयता विद्यार्थीको खडेरी लागेको हो । कक्षा पाँचसम्म यो विद्यालयमा अध्ययन गर्ने र कक्षा ६ देखि सोही वडामा रहेको जनता सुदर्शन मावि वा त्रिभुवन आधारभूत विद्यालयमा जाने गरेको भए पनि विद्यार्थी नै नहुँदा विद्यालय नै सङ्कटमा पर्दै आएको कार्यालय सहयोगी नारायण गौतमले बताए ।

विद्यार्थीको सङ्ख्या न्यून हुँदै गएको छ, कतै विद्यालय नै खारेज हुने पो हो कि भन्ने सम्भावना बढ्दै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिबहादुर केसीले बताए ।

विद्यार्थी अभावमा शिक्षकले कार्यालयको कोठा र अर्को एक कक्षाकोठा मात्र खोलेर सञ्चालन गर्दै आएका छन् । बाँकी छ वटा कक्षाकोठाका कुर्ची, र बेञ्च मर्मतको अभावमा जीर्ण बन्दै गएका छन् । कक्षाकोठामै झार उम्रिन थालेको स्थानीयवासी रुद्र केसीले बताए ।

कुश्मा नगरपालिका–१२ का अध्यक्ष झलकप्रसाद रिमालले यो विद्यालय मात्र नभई वडामा रहेका अन्य आधा दर्जन विद्यालयमा पनि विद्यार्थीको सङ्ख्या न्यून रहेको बताए ।

गाउँबाट बढ्दो बसाइँसराइका कारण विद्यालय खाली हुँदै गएको उहाँको भनाइ थियो । विद्यार्थी नभएपछि साना बालबालिकाका लागि इसिडी कक्षा मात्र राखेर अन्य कक्षाकोठा मर्ज गर्नुपर्ने भएकाले यस विषयमा आफूले पहल गर्ने वडाध्यक्ष रिमालको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved