शास्त्रअनुसार सोह्र श्राद्धमा, के गर्न मिल्छ, के मिल्दैन ?

नेपालभ्युज

शास्त्रअनुसार सोह्र श्राद्धमा, के गर्न मिल्छ, के मिल्दैन  ?

काठमाडौं। दसैँको सुरुवातमा १६ दिनको पितृलाई सम्झिने दिन आउँछ जुन दिन आज सुरु भएको छ। पूर्णिमाबाट सुरु भएको सोह्र श्राद्ध औँसीका दिनसम्म चल्ने गर्दछ। यी दिनमा पितृ पक्षमा पितृहरू पृथ्वी लोकमा आ–आफ्ना सन्ततिका घरमा आएर बस्ने गर्दछन् भन्ने मान्यता पनि रहेको छ।

हिन्दु धर्मावलम्बीले सोह्र श्राद्ध, पितृ पक्ष, कगंत, जितिया, महालय पक्ष, पितृ पोखो आदि विभिन्न नामले यी पवित्र १६ दिनको पुकारा गर्ने गर्छन्।

पन्ध्र दिनको यस पक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दछन् र तिनको मृत्यु तिथि समातेर श्राद्ध गर्दछन्।
केही मानिस, जसलाई आफ्ना परिवारजनको मृत्यु तिथि थाहा हुँदैन, तिनको समस्यालाई ध्यानमा राखेर पितृ पक्षका त्यस्ता केही विशेष तिथिहरू निर्धारित गरिएको छ। जुन दिन श्राद्ध गर्नाले हाम्रा समस्त पितृजनको आत्मालाई शान्ति प्राप्त हुन्छ।

सोह्र श्राद्धका दिनमा श्राद्ध गर्ने कर्ताले (पुरुषले) दारी, कपाल काटी एक छाक खाई शुद्ध हुने चलन छ। यसका साथै शुद्ध ठाउँमा बसेर श्राद्ध गर्ने गरिन्छ। यसका साथै काग, गिद्धको दृष्टि नपुग्ने, घरपालुवा कुकुर आदि जनावरको पहुँच नभएको र प्राङ्गण भएको ठाउँमा र श्राद्धकर्ता पूर्व वा दक्षिण फर्केर श्राद्ध गर्ने चलन छ। घरको दक्षिण वा अन्य उपयुक्त ठाउँमा श्राद्ध सम्पन्न हुन्छन्।

शास्त्रअनुसार श्राद्ध गर्ने ठाउँ नजिकै फलामयुक्त सामान वा घन, झ्याम्फल, कुटो, कोदालो, काटी लगायतका सामानहरू राख्नु हुँदैन। यस्ता सामान यमराज अर्थात् यमदण्डको प्रतीक भएकाले यिनलाई देखेमा पितृहरू डराइ भाग्छन् र घरमा प्रवेश गर्दैनन् भन्ने विश्वास छ।

श्राद्धको दिन हात्ती, घोडा आदि जनावर बसेको ठाउँ, खनजोत गर्नु हुँदैन भन्नेसमेत मान्यता छ।

शास्त्रअनुसार कुन तिथिमा कसको श्राद्ध गरिन्छ त ?

–जसको अपमृत्युमा भएको छ जसमा कुनै दुर्घटना परी, सर्पको डसाइबाट, विष सेवनबाट, शस्त्र प्रहारबाट, हत्याबाट, आत्महत्या वा अन्य कुनै तरिकाको अस्वाभाविक रूपमा निधन भएका पितृहरूको श्राद्ध चतुर्दशी तिथिका दिन गर्नुपर्छ भन्ने कुरा उल्लेख छ।

–जसको मृत्यु सामान्य एवं स्वाभाविक चतुर्दशी तिथिमा भएको छ, उनीहरूको श्राद्ध पितृ पक्षको त्रयोदशी अथवा अमावस्याका दिन गर्नुपर्छ भन्ने कुरा उल्लेख छ।

–काल गतिले मरेकाहरूको श्राद्ध भाद्र पूर्णिमा वा आश्विन कृष्ण अमावस्याका दिन गर्नुपर्छ भन्ने कुरा उल्लेख छ।

– सौभाग्यवती महिला अर्थात् पति जीवित छँदै मरेका महिलाको श्राद्ध पनि केवल पितृ पक्षको नवमी तिथिमा गर्नु भन्ने कुरा उल्लेख छ।

– सन्यासीहरूको श्राद्ध केवल पितृ पक्षको द्वादशीमै गर्नुपर्छ।

– मामाघरको हजुरबा तथा हजुरआमाको श्राद्ध केवल अश्विन शुक्ल प्रतिपदामै गर्नुपर्छ भन्ने कुरा शास्त्र उल्लेख छ।

सोह्र श्राद्धमा गर्न हुने र गर्न नहुने काम ?

शास्त्रअनुसार श्राद्धभन्दा एक दिन अगाडि नङ, कपाल आदि काटी तर शरीरमा सुन, तेल र साबुनको संसर्ग नगरी एक छाक ‘एकछाकी’ सात्त्विक भोजन गरी चोखोनीतो रूपमा बस्नु पर्छ।

श्राद्धका दिन र सोह्र श्राद्धको पूरा अवधिभर घरमा तामसी भोजन माछा मासु, मदिरा वा कुनै मादक पदार्थको सेवन र संसर्ग गर्नु हुँदैन। श्राद्धमा मुसुरीको दाल, लौका, चिचिन्डो, बैगुन, लसुन, प्याज, कोदो, तीते फापर लगायतका खाद्यवस्तुहरूको प्रयोग गर्नु हुँदैन।

श्राद्धको दिनमा हलो जोत्नु, कोदालो खन्नु, दाउरा काट्नु, नाचगानलाई निषेधित गरिएको छ। एकछाकी र श्राद्धका दुवै दिन आकस्मिक रूपमा धनप्राप्त हुने कुनै पनि लाभमूलक काम गर्नु हुँदैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved