मिथिलाञ्चल क्षेत्रमा आज चौरचन पर्वको रौनक

खासगरी आजको दिन आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाइ, त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ ।

मिथिलाञ्चल क्षेत्रमा आज चौरचन पर्वको रौनक

जनकपुर। जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा आज चौठचन्द्र पर्व मनाइँदै छ । यो पर्व भदौ महिनाको शुक्लपक्ष चौथी तिथिका दिन मनाइन्छ । मधेसी समुदायले यसलाई छठपछिको दोस्रो ठूलो पर्वको रूपमा मनाउने गर्दछन् ।

चौठचन्द्र पर्वका दिन व्रत बस्ने चलन छ । यस पर्वको माध्यमबाट मैथिल कला संस्कृतिको समेत उजागर हुने प्राज्ञ तथा वरिष्ठ पत्रकार रामभरोस कापडी बताउँछन्। “खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाइ, त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । सो क्रममा नयाँ माटोको भाँडोको दही, केरा, मिठाइ, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवीदेवतालाई चढाइने गरिन्छ ।” कापडीले भने।

पूजामा विशेष परिकार बनाउने चलन रहेको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका गीतादेवी साह बताउँछन् । प्रसादका रूपमा पिरकिया, खजुरी, खाजा, पुरी र खिर घरघरमा बनाउने चलन छ । फलफूलका अतिरिक्त दहीले पनि गणेश र चन्द्रमाको पूजा गरिन्छ ।

चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यताअनुसार चौठचन्द्र पर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काँक्रा, घरमा तयार पारेको पकवान, मिठाइ, गाँजरजस्ता सामग्री लिएर दर्शन गर्ने परम्परा छ ।

दिनमा प्रसाद बनाउने र बेलुका पूजा गर्ने भएकाले अहिले घरघरमा महिलाहरू प्रसाद तयार गरी पूजामा व्यस्त छन् ।

पण्डित इन्द्रकान्त झा शास्त्रीका अनुसार मिथिलाञ्चलमा यो पर्व हेमाङ्ग ठाकुरले प्रचलनमा ल्याएको बताइन्छ । ठाकुर आफैँ ज्योतिष थिए । उनलाई यो तिथिमा शुभफल प्राप्त भएकाले यस पर्वको सुरुवात गरेको मान्यता रहेकोे छ।

मिथिलाको लोकपर्व चौठचन्द्रको बेला गणेश र चन्द्रमाको कथा सुन्ने समेत परम्परा रहिआएको छ ।

चौठचन्द्र पर्वको महत्त्व

चौठचन्द्र पर्व मिथिला क्षेत्रको पारम्परिक लोकपद्धतिमा आधारित पर्व रहेको संस्कृतिविद ८२ वर्षीय रमापति चौधरीले बताए । चौधरीले भने, “हामीकहाँ जति लोक परम्परा रहेको छ त्यसमा कुनै प्रकारको भेदभाव हुँदैन । यसमा कुनै तामझाम हुँदैन । यसमा प्रयोग हुने विभिन्न सामग्री जस्तै माटोको भाँडा, फलफुल, पिठोबाट बनेको परिकार, दही लगायतका सम्पूर्ण सामग्री आफ्नै घर आँगनबाट उत्पादन भएको प्रयोग हुन्छ ।”

क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका पण्डित लालबाबु झाका अनुसार मानिस जन्म लिएपछि उनीहरूले सूर्य र चन्द्रमालाई मात्र हेर्यो बाँकी सबै देवी देवतालाई शास्त्रीय विधि अनुसार प्रतिष्ठानमा राखेर पूजा गरिन्छ ।

चौठचन्द्र पर्वको आयोजना भाद्र शुक्ल चतुर्थी तिथिका दिन रातिमा मनाइन्छ । यो वास्तवमा चन्द्रमाको पूजा हो । भनिन्छ यो तिथिमा चन्द्रमालाई नाङ्गो आँखाले हेर्दा कलंक (अपयश) लाग्ने हुनाले पूजा गरी अर्थात खाद्यान्न, फलफूल, दही आदिको अर्घ्य दिएर चन्द्र–दर्शन गर्दा त्यो अपयशबाट बच्न सकिन्छ ।

पर्वको प्रारम्भ

मिथिलाञ्चल क्षेत्रमा मनाइने विभिन्न लोक पर्वहरूको प्रारम्भबारे प्रमाणिक त्यस्तोम केहि उपलब्ध छैन । जसरी यो समाजले आफ्नो आवश्यता, सहुलियत आदिकै आधारमा यसलाई ग्रहण गरे । त्यो कतै अभिलेख रूपमा पाइँदैन । यो पिढी हस्तान्तरण हुँदै आए । तर पनि केही अवधारणाहरू यस पर्वको प्रारम्भको पृष्ठभूमिमा छ जसलाई यसरी प्रस्तुत गरिएको छ।

मिथिलाञ्चल क्षेत्रमा डाक वचन अत्यन्त प्रमाणिक र लोक ज्योतिष शास्त्रकै ऋचाजस्तै स्वीकार गरिएका छन् । कृषि कर्मबारे उनका वचन अत्यन्त सटिक हुन्थ्यो । आज पनि मिलेको छ तर पर्यावरणीय अव्यवस्थाले गर्दा तलमाथि हुने गर्दछ ।

एउटा वचन आएको छ–‘‘काशी कुशी चौठी चान, आब की रोपबह धान किसान’’ अर्थात चतुर्थी (शुक्ल चतुर्थी) को चन्द्रमा आकाशमा देखिसके पछि धानको रोपाइँ गर्नु हुँदैन, गर्ने बेला गइसकेको हुन्छ । यो बोल लगभग एक सय वर्ष पूर्व डाकद्वारा व्यक्त गरिएकोले यसको व्यवहार त्यसभन्दा अगाडिदेखि नै समाजमा भएको अनुमान गर्न सकिन्छ ।

चौठचन्द्रको कथा

मिथिलाञ्चल क्षेत्रमा मनाउने चौठचन्द्रको विभिन्न प्रचलित कथा रहेको सुन्दर सदनका बाबा नबल किशोर बताउँछन् । उनका अनुसार श्रीकृष्णलाई आजैको दिन स्यमन्तक मणिको प्रसंगमा लागेको कलंक छुटेकोले यस पर्वको पौराणिक महत्त्व पनि स्थापित भएको छ ।

त्यसैगरी, श्रीमद्भागवतमा पनि एउटा कथा रहेकोे छ । द्वापरमा द्वारिकापुरीमा सत्रजीत नामको एउटा गरिब यादव भगवान् सूर्यको अराधना गरी निकै उत्कृृष्ट मणि प्राप्त गरेका थिए।

विधिपूर्वक पूजा गरेपछि उक्त मणिबाट प्रतिदिन २० मन सुन प्राप्त गर्थे रे यादवले । उनी छिट्टै धनाढ्य हुन पुगे । चारै तिर यो खबर फैलियो। एकदिन राजाको दरबारमा सत्रजीत मणि गलामा धारण गरेर नै पुगेछन् । मणिको प्रभावले चारैतिर प्रकाशित भएर दरबार नै चकमक्क भयो ।

श्रीकृष्णले यादवलाई मणि राजालाई दिन आग्रह गर्नुभयो । तर उनले मानेनन् र बहाना बनाई घर फर्कि हाले । घरमा गएपछि राजाले मणि लिने डरले भाइ प्रसेनजीतलाई मणि जिम्मा लगाई सुरक्षा साथ जंगल पठाए । कालक्रममा प्रसेनजीतको मृत्यु भएपछि उक्त मणि एउटा सिंहबाट जाम्बवन्त नाउँको बलशाली भालुले हात पारे । भालुको निवास एउटा विशाल गुफामा थियो ।

जब प्रसेनजीतको मृृत्यु र मणि हराएको खबर राजा कहाँ आयो तब उसको संदेह श्रीकृष्णमाथि नै गयो । आफूमाथि लागेको कलंक धुन श्रीकृष्ण जंगल गए र निकै खोजबिन गरे पछि त्यहाँ उपलब्ध साक्ष्यहरूको आधारमा आशंका गर्दै त्यस गुफा भित्र प्रवेश गरे । दशदिन भन्दा पनि बढी गुफाबाट श्रीकृष्ण बाहिर न आए पछि सँगै आएका सैनिकहरू निराश भई राजधानी फर्के । त्यहाँ श्रीकृष्णको लागि निकै शोकलहर चल्यो ।

समय बित्दै जाँदा अठाइसौँ दिन श्रीकृष्ण मणि र एक सुन्दर महिला साथ राजधानी फर्के। वास्तवमा जामवन्त भालुसँग लडाई गर्दै अन्तमा उनलाई हराएर मणिका साथ उनकी छोरी जाम्ववतीलाई लिएर उनी आएका थिए । त्यो दिन भाद्र शुक्ल चतुर्थी कै दिन थियो। श्रीकृष्णको कलंक मुक्तिको त्यो दिनलाई स्मरणार्थ चन्द्रपूजाको विधान रुपान्तरित भएको विश्वास छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved