एमसीसी : विप्लव एक्लिँदा समाजवादी मोर्चा धरापमा !

'विप्लवजी सदनमा हुनुहुन्न, त्यसैले विरोध गर्नुहुन्छ'

नेपालभ्युज

एमसीसी : विप्लव एक्लिँदा समाजवादी मोर्चा धरापमा !

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कारण समाजवादी मोर्चाभित्र  खटपट देखिएको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिष्ट पार्टी सम्मिलित मोर्चाभित्र एमसीसीकै कारण वैमनस्य देखिएको हो ।

सातै प्रदेशमा सन्देश सभा गर्ने निर्णय गरेको मोर्चाले बुधबार धनगढीमा कार्यक्रमको आयोजना गरेको थियो । तर, एमसीसीकै कारण कार्यक्रम स्थगित भयो । मोर्चाको एक घटक नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ एमसीसीविरुद्धको सडक कार्यक्रममा सरिक छन् ।

सन्देश सभा नकारेर सडक ओर्लिएका उनको चेतावती छ— एमसीसी कुनै पनि हालतमा खारेज हुनुपर्छ, नभए सहमति/सहकार्य भत्किन सक्छन्, बिथोलिन सक्छन् ।

एमसीसीविरुद्ध काठमाडौंमा आयोजित विरोध सभामा विप्लवलगायतका नेताहरू। तस्वीर : नेपालभ्यूज ।
एमसीसीविरुद्ध काठमाडौंमा आयोजित विरोध सभामा विप्लवलगायतका नेताहरू। तस्वीर : नेपालभ्यूज ।

उनको यो चेतावनीपछि सन्देश सभा स्थगित गरियो ।

२०७८ फागुन १५ गते संसद्‌बाट पारित भएको एमसीसीको सुरुवाती कालदेखि नै नेकपाले विरोध गर्दै आएको छ । एमसीसीमार्फत अमेरिका नेपाली भूमिमा कब्जा जमाउन आएको बताउने गरेका नेकपा महासचिव विप्लवले पछिल्लो समय परियोजना कुनै पनि हालतमा खारेज हुनुपर्ने अडान राख्दै आएका छन् ।

आजैदेखि कार्यान्वयनमा आएको एमसीसीले नेपालको संविधान, कानून र सार्वभौमिकतामाथि नै अङ्कुश लगाउने उनले जिकिर गर्ने गरेका छन् ।

विप्लवले पार्टीका नेताहरूलाई अरु जेसुकैको सामना गर्ने तर, एमसीसी रोक्ने बताउने गरेका छन् । नेकपाका एक नेताकाअनुसार विप्लवले समाजवादी मोर्चा वा एकताको लोभ नगर्ने तर, एमसीसी कार्यान्वयन रोक्ने ब्रिफिङ्ग गर्ने गरेका छन् । “उहाँले एमसीसी रोक्नुपर्छ, अरु जेसुकैको सामना गर्न तयार हुनुपर्छ भनेर भन्नुभएको छ,” ती नेता भन्छन् ।

यसरी हेर्दा समाजवादी मोर्चाभित्र विप्लव एक्लिएका छन् । त्यसबाहेक माओवादी, एकीकृत समाजवादी र जसपा एमसीसीका सन्दर्भमा एकतिर छन् ।

सुरूमा माओवादी, एकीकृत समाजवादीलगायतका दलहरू पनि एमसीसीको विपक्षमा थिए । तर, अन्तिममा १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित गर्नेमा उनीहरूको सहमति रह्यो । १२ बुँदे व्याख्यात्मक घोषणामा नेपालले चाहे जुनसुकै अवस्था र मितिमा पनि परियोजना खारेज हुने, एमसीसी कार्यविधि र नेपालको संविधान/कानून बाझिए नेपालको संविधान/कानून नै माथि हुनेलगायत प्रावधान राखिएका छन् ।

तर, विप्लवले भने उक्त घोषणा अमेरिकालाई नपठाइएको जिकिर गर्दै आएका छन् । यसअघि एक भिडिओ सन्देशमार्फत उनले भनेका छन्— १२ बुँदे व्याख्यात्मक टिप्पणी कहाँ छ ? त्यसको कुनै सुनुवाइ देखिँदैन । सुन्नमा के आएको छ भने १२ बुँदे व्याख्यात्मक टिप्पणी पठाइएकै छैन । अमेरिका पठाइएकै छैन र अमेरिकाले त्यसमा कुनै चासो वा सरोकार नै राखेको छैन । देशको यस्तो सार्वभौमिक विषयमा यसरी लाहापर्वाही तरिकाले, लाचार तरिकाले प्रस्तुत हुनु भनेको अत्यन्तै गम्भीर कुरा हो ।

यो कुरा माओवादी महासचिव देवप्रसाद गुरुङ पनि स्वीकार्छन् । “१२ बुँदे अमेरिका पठाइएको छैन । तर अब तत्कालै पठाउनुपर्छ,” उनले भने ।

यद्यपि उनी आजबाट एमसीसी लागू भएको उनको भनाइ छ । तर, विप्लव भने यो मान्दैनन् । महासचिव गुरुङले भनेका छन्— आजबाट एमसीसी कार्यान्वयनमा आयो । अब तत्कालै एमसीसी पारित हुँदा गरिएको व्याख्यात्मक घोषणा अमेरिका पठाउनुपर्छ र त्यहाँबाट अस्वीकृत भएको खण्डमा एमसीसी पनि खारेज हुनुपर्छ ।

मोर्चाको अर्को घटक जसपाका प्रवक्ता मनिष सुमन पनि आजबाट एमसीसी लागू भएको बताउँछन् । “एमसीसी त लागू भइसक्यो । यो संसद्‌को सम्पत्ति हो,” उनले भने ।

माओवादीले भन्यो- १२ बुँदे व्याख्यात्मक घोषणा अस्वीकार भए एमसीसी खारेज हुन्छ

उनले विप्लवले आफू संसद्‌मा नभएकाले विरोध गरेको आरोप लगाउँछन् । “विप्लवजीले देखाउनुभएको असन्तुष्टि सामान्य हो । यसलाई हल गरेर अगाडि जानुपर्छ । उहाँ संसद्‌मा नभएर पनि यो असन्तुष्टि आएको हो,” प्रवक्ता सुमनले भने ।

यस्तै एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा पनि यसलाई मिलाएर अगाडि जानुपर्ने बताउँछन् । “संसद्‌बाट पारित भइसकेको विषय हो । आधिकारिकरूपमा यो लागू पनि भइसक्यो अब । त्यसैले यसलाई कार्यान्वयन हुन दिनुहुन्न भन्नु ठीक होइन,” खतिवडाले भने ।

नेताहरू भने एमसीसीकै कारण मोर्चामा समस्या नदेखिने दाबी गर्छन् । समाजवादी मोर्चा समाजवादको आधार तय गर्नसक्ने शक्ति भएको उल्लेख गर्दै उनीहरू मोर्चाको आन्तरिक समस्या हल हुने बताउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved