कालीगण्डकीमा पानीको बहाव उच्च, शालिग्राम शिला डुबायो

नेपालभ्युज

कालीगण्डकीमा पानीको बहाव उच्च, शालिग्राम शिला डुबायो

पर्वत । लगातारको वर्षाका कारण मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतहुँदै बग्ने कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको छ ।

मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो । दुई वर्षयताकै उच्च विन्दुमा नदीको सतह पुगेको कालीगण्डकी नदीमा पानीको बहाव नाप्दै आएका गेज रिडर कृष्णप्रसाद सुवेदीले बताए ।

उनले बिहानैदेखि नदीको सतहदेखि झन्डै आठ मिटर उचाइमा बहाव भइरहेको बताए । अहिले पानीको बहाव झन्डै दुई सय ८३ क्युसेक रहेको छ । यो यसवर्षकै सबैभन्दा बढी मापन हो । यसअघि गत साउनमा सात दशमलव ४० मिटरको विन्दुसम्म पुगेको थियो । वर्षा नरोकिएमा अझै बहाव बढ्ने सम्भावना रहेको उनले बताए ।

कालीगण्डकी नदीको बहाव अत्यधिक मात्रामा बढेपछि तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन् । पर्वतको जलजला गाउँपालिकाका बगरफाँट, वारिबेनी, मिलनचोक, लस्ती र खनियाँघाट तथा कुश्मा नगरपालिकाका मालढुङ्गा, नयाँपुल र मोदीवेणी एवं फलेवास नगरपालिकाका जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीबेनी बजार उच्च जोखिममा परेका हुन् ।

बहाव उर्लिएपछि पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित विश्वकै ठूलो शालिग्राम शिलासमेत डुबानमा परेको छ । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितसमेत विस्थापित बनेका छन् । पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायत सबै संरचना डुबाएको स्थानीय तिलक पराजुलीले बताए ।

कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीबेनी बजार डुबानको खतरामा पर्ने गरेको हो । बाँधका सबै ढोका भने खोलिएका छन् । कालीगण्डकी र सेतीखोलाको बहाव बढेसँगै सेतीबेनी बजार डुबानमा पर्ने चिन्ताले पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जा तर्फको बजार क्षेत्रका झन्डै दुई सय व्यापारी तथा सर्वसाधरण त्रसित बनेका छन् ।

विगत १४ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved