चितवनमा मिटरब्याजीले लिएको जग्गा पीडितलाई फिर्ता गराइयो

नेपालभ्युज

चितवनमा मिटरब्याजीले लिएको जग्गा पीडितलाई फिर्ता गराइयो

चितवन । चितवनमा मिटरब्याजीले हडपेको जग्गा पीडितलाई फिर्ता गराइएको छ । रत्ननगर नगरपालिका–१० का उमेश केसीले जग्गा फिर्ता पाएका हुन् ।

पीडित केसीले ‘जग्गा फिर्ता पाऊँ’ भनी दिएको निवेदनउपर छलफल हुँदा जग्गा फिर्ता गर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्वा सुनिल लम्सालले जानकारी दिए ।

रत्ननगर नगरपालिका– ९ का शिवप्रसाद बरालले केसीको जग्गा फिर्ता गरेका हुन् । २०६९ मा राजीनामा गरेको उक्त जग्गा फिर्ता गराइएको लम्सालले बताए ।

अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेको समयमा चितवनमा ६० उजुरी परेका थिए । ती उजुरीमध्ये ३२ पीडकले आफ्नो ब्यहोरा खुलाएर निवेदनसमेत दिएका छन् ।

पीडितले दृष्टि बन्धक भनेर दिएको जग्गा पीडकले नामसारी गरेर लिएको भन्दै उजुरी परेको थियो । अधिकांशले जग्गा फिर्ता गरिपाऊँ भनी निवेदन दिएका छन् ।

नायब सुब्वा लम्सालका अनुसार परेका उजुरीमध्ये ५५ माथि छलफल गरिएको छ । ‘सात उजुरीमा सहमति जुटेको छ । अन्यबारे दोस्रो र तेस्रो चरणमा छलफल भइरहेको छ’, उनले भने । अन्य पाँच जनाको निवेदनका लागि दुवै पक्षलाई छलफलमा बोलाइएको छ ।

यसअघि गृह मन्त्रालयले २०७९ साउन २८ गतेदेखि भदौ ५ गतेसम्म मिटरब्याजीविरुद्ध उजुरी आह्वान गरेको थियो । सो समयमा २५ जनाले उजुरी दर्ता गराएका थिए । हालसम्म एउटा निवेदनको छलफलबाट टुङ्गो लागेको छ । अन्य २४ उजुरीबारे आवश्यक कारबाही अघि बढाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved