सबै जाति समुदायको संरक्षण गर्नु राज्यको दायित्व हो : अध्यक्ष लिङ्देन

नेपालभ्युज

सबै जाति समुदायको संरक्षण गर्नु राज्यको दायित्व हो : अध्यक्ष लिङ्देन

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले सबै जाति र समुदायको संरक्षण राज्यले गर्नुपर्ने बताएका  छन् । २९औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा काठमाडौँमा भएको शुभकामना तथा सांस्कृतिक कार्यक्रममा उनले सबै जातजाति, भाषा, धर्म तथा संस्कृतिको संरक्षण समानरूपमा गर्नु राज्यको दायित्व रहेको बताएका  हुन् ।

उनले भने, ‘अल्पसङ्ख्यक जातिको समुदाय पनि यहाँ छ । सबैले आफ्नो समुदाय मात्र ख्याल गर्ने हो भने त्यस्ता खालका जाति समुदाय लोप हुन सक्छन् । कुनै पनि बेला सांस्कृतिक अतिक्रमणको सिकार बन्न सक्छन् । पछिल्लो समय धर्म परिवर्तन प्रबलरूपमा बढेको छ । यसले झन कुनै पनि समुदाय अर्को जनगणना आउने बेलासम्म समाप्त हुन सक्छ । त्यसकारण पनि राज्यले सबै जाति समुदायको संरक्षण समानरूपमा गर्नुपर्छ ।’

राप्रपा मन, वचन र कर्मले सबै विविधताको संरक्षण गर्ने पक्षमा छ भन्दै उनले राप्रपाले सबैलाई समानरूपले हेर्ने गरेको बताए । सरकारमा जाने मौका पाएको अवस्थामा राप्रपाले सम्पूर्ण जाति, भाषा, धर्म र संस्कृतिको रक्षा गर्ने उनको भनाइ थियो । शान्त मुलुक नेपालमा बसेका आदिवासी जनजातिले कसैको आडमा बसेर आगामी दिनमा कुनै किसिमका द्वन्द्व, हिंसा, अपराध विरोध र विद्रोह गर्ने खालका अनैतिक कर्म नगर्न समेत उनले सम्पूर्णमा आग्रह गरे।

राप्रपाका पूर्वअध्यक्ष तथा सांसद पशुपति शमशेर राणाले आफू सधैँ जनजातिका पक्षमा रहेको बताए । उनले देशको राजनीतिमा जनजातिको ठूलो हिस्सा रहेको भन्दै आदिवासी जनजाति देशको महत्त्वपूर्ण स्थानमा पुग्न सफल भएकामा खुसी लागेको बताए ।

राप्रपा आदिवासी जनजाति विभाग प्रमुख दीपककुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा आदिवासी जनजाति विभाग सदस्य शुक्रराज प्रजाले स्वागत मन्तव्य राखेका  थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved