भिआईपीले स्वदेशमै सम्भव स्वास्थ्योपचार विदेशमा गरे सरकारले खर्च व्यहोर्दैनः स्वास्थ्यमन्त्री

नेपालभ्युज

भिआईपीले स्वदेशमै सम्भव स्वास्थ्योपचार विदेशमा गरे सरकारले खर्च व्यहोर्दैनः स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भिआईपी र भिभिआईपीले स्वदेशमै सम्भव उपचार विदेशमा गर्न गए सरकारले खर्च नव्यहोर्ने बताएका छन् ।

शुक्रवार वीर अस्पतालको १३४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले नेपालमा हुने उपचार गर्न विदेश गएको खण्डमा त्यहाँ लाग्ने उपचार खर्च आफैँले व्यहोर्नुपर्ने बताएका हुन् ।

उनले स्वदेशमा सम्भव हुने उपचारलाई विदेशमा जान नहुने भन्दै त्यसको लागि अभियान थालेको बताए । उनले नेपालमै उत्कृष्ट चिकित्सक र नर्सहरु रहेको भन्दै नेपालभित्रै उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह भइरहेको बताए । अहिलेपनि विदेशी चिकित्सकहरु नेपालमा पढ्न आउने गरेको भन्दै मन्त्री बस्नेतले नेपालको चिकित्सा सेवा उत्कृष्ट रहेको दाबी गरे ।

उनले गरिव तथा विपन्न वर्गलाई १० प्रतिशत शैय्या सबै अस्पतालमा लागू भएको बताए। मन्त्री बस्नेतले गरिव, विपन्न, असहाय र बेवारीसे बिरामीहरुले निःशुल्क उपचार पाउन थालेको बताउँदै अहिले ३ हजार पाँच सय २३ बेड निशुल्क भइसकेको जानकारी दिए। गरिव र विपन्नताका कारण आधारभुत स्वास्थ्य सेवाबाट वञ्चित हुनपर्ने अवस्थालाई कम गरेको बताए । उनले सदैव वीर अस्पताललाई सुधार गर्न तल्लिन रहेको बताए ।

‘वीर अस्पताललाई हामी सबैले ऐतीहासिक अस्पताल भनिरहेका छौं । यहाँ धेरै किसिमका विषय विज्ञता हाँसिल गरेका डाक्टर सावहरु हुनुहुन्छ । नर्सिङ क्षेत्रमा लामो अनुभव रहेका मान्छेहरु प्रशस्त हुनुहुन्छ’, मन्त्री बस्नेतले भने, ‘सरकारले व्यवस्था गर्ने हो भने अहिले उपचार गराइरहेका हाम्रा भिआइपी र भिभिआईपीहरु अन्य देशमा उपचार गर्नुपर्दैन तर,हाम्रो मान्छेलाई विश्वास नै गरेका छैनन् ।’

‘मैले यहाँ आएर भिभिआइपी क्याविन हेरेँ । २०४४ सालदेखि कोही भिभिआईपीले उपचार गराउनुभएको छैन । नेपालका चिकित्सक र नर्सले संसारले दिएको सेवा तपाईहरुले पनि उत्कृष्ट दिन सक्नुहुन्छ’ उनले अगाडी भने,  ‘दुर्गम ठाउँको मान्छेले सिटामोल खान पैसा नहुने भिआईपी र भिभिआईपी भने सामान्य रोगका लागि विदेश सयर गर्ने, राज्यको ढुकुटी खत्तम बनाउने भन्ने आक्रोश जताततै छ ।’

वीर अस्पतालले लामो समयदेखि बन्द अवस्थामा रहेको वर्न सेन्टर सञ्चालनमा ल्याउन लागेको छ । वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले लामो समयदेखि बन्द भएको वर्न सेन्टरलाई पुनः सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । उनले वर्न सेन्टर स्थापनाका लागि सरकारले बजेट व्यवस्थापन गरिसकेका कारण पनि यही वर्षबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।

‘लामो समयदेखि बन्द भएको वर्न सेन्टरलाई पुनः सञ्चालनमा ल्याउँदैछौं । त्यसका लागी हामीले बजेट प्राप्त गर्न सकेनौं । तर, मन्त्री ज्यूले प्राथमिकतामा राखेर वर्न सेन्टरका लागि भनेर बजेट व्यवस्थापन गरिदिनुभएको छ’ डा. पौडेलले भने, ‘यस वर्ष हामीले वर्न सेन्टरका लागि तयारी थालिसकेका छौं । २४ सै घण्टा फार्मेसी सञ्चालन गर्ने लक्ष्यका साथ अघि बढेका छौं ।’

यसैवर्ष सघन उपचारको क्षमता विस्तार गरेर एक सय बेडमा पुर्‍याइने लक्ष्य लिएको वीर अस्पताल १५ शैयाबाट शुरु भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved