भ्युजटक

एजेन्डा नहुनेहरू एजको राजनीति गर्छन्, कांग्रेसमा ‘एक्जिट पोलिसी’ लागू हुँदैन : मीनबहादुर विश्वकर्मा (भिडिओसहित)

'गृहमन्त्रीको राजीनामा व्यक्तिले मागेका हुन्, पार्टीले मागेको छैन'

११ महिनापछि बसेको बैठक सत्ता-राजनीतिकै वरिपरि घुमेको भन्दै खासगरी संस्थापनइतर नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

काठमाडौं । साउन २ गतेयता सत्ता साझेदार दल नेपाली कांग्रेसको केन्द्री समिति बैठक जारी छ । ११ महिनापछि बसेको बैठक सत्ता-राजनीतिकै वरिपरि घुमेको भन्दै खासगरी संस्थापनइतर नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । तर, संस्थापन नेताहरूले भने बैठक उपलब्धिमूलक भएको दाबी गरेका छन् ।

त्यसो त बैठक पहिलोपटक ‘लाइभ’ गरिएको थियो । सरसर्ती हेर्दैगर्दा बैठकमा जनजीविकाबारे कमै छलफल भयो, बढी सत्ता-राजनीतिमै केन्द्रित रह्यो । उसो त यो विषयलाई नेताहरूले कसरी संश्लेषित गरेका छन् ? के छ बैठक समीक्षा ? अब कांग्रेस कसरी अगाडी बढ्छ ? लगायतका यी विषयमा हामीले केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मासँग कुराकानी गरेका छौँ ।

लामो समयपछि बसेको कांग्रेसको केन्द्रीय समिति बैठक कस्तो रह्यो ? तपाईंको समीक्षा के छ ?

कांग्रेसको बैठक लामो समययता बस्न सकेको थिएन । विभिन्न कारणले; कहिले निर्वाचन, कहिले सरकार गठन, कहिले उपनिर्वाचन त कहिले सत्तामा भएका विभिन्न फेरबदलका कारणले पनि हामीले समयमै बैठक राख्न सकेनौँ । बैठक समयमै हुन नसकेको विषयलाई लिएर पदाधिकारी साथीहरू र जिल्लाका साथीहरूमा किन नबसेको भनेर आफैँमा प्रश्न खड्किरहेको थियो । पहिलो प्रश्न हुन्छ, दोस्रो आक्रोश हुन्छ र तेस्रो रुष्ट/रिसाउने कुरा हुन्छ । र, लगभग साथीहरू रिसाइसक्नुभएको थियो । त्यो कुरालाई विशेषत: सभापतिले र हामीले पनि आत्मसाथ गरेर बैठक बसियो । बोलाएको बैठकलाई कसरी सञ्चालन गर्ने भन्ने कुरा रह्यो । त्यसमा सबै साथीहरूलाई बोल्नका लागि समय दिने, अनिवार्यरूपमा दिने भन्ने र विगतमा ५/५ मिनेट दिएको ठाउँमा थपेर ७ मिनेट पुर्‍यायौँ । त्यससँगै बैठकलाई बाहिर मिडिया र जनतासँग कसरी जोड्ने भन्ने कुराबारे पनि छलफल गर्‍यौँ । जोड्नेक्रममा सहभागी नेताले फरक/फरक ठाउँमा, मिडियामा बोल्ने, बैठकमा भएका विषयभन्दा अलिकति थपघट गरेर बोल्दिने विगतको प्रचलनबाट बैठकलाई मुक्त गरौँ भन्ने सभापतिको धारणाअनुरूप हामीले त्यही गर्‍यौँ पनि । त्यसो भए नयाँ प्रयोग गरौँ न त भनेर लाइभ गरियो । लगातार ६ दिनसम्म चलेको बैठकलाई हामीले लाइभ गर्‍यौँ र त्यो बैठक लाइभ गरिसकेपछि मिडियाबाट पनि जे पार्टीको सन्देश जानुपर्ने छर्लङ्गै गयो । जत्ति लिनुपर्ने उहाँहरूले लिनुभयो र पार्टी कार्यालयमा कुरेर बस्नु पनि परेन । त्यसकारण मूलत: २ किसिमबाट चाहिँ यो एकदमै फाइदाजनक भयो ।

अर्को कुरा नेपाली कांग्रेस पार्टी अन्तर्राष्ट्रिय विचारधारा बोकेको पार्टी हो । लोकतन्त्र र समाजवाद भनेको यो कुनै भूगोलको मात्रै नभएर विश्वव्यापी मान्यताप्राप्त विचार भएको हुनाले संसारबाट नेपाली कांग्रेसको बैठकलाई नियाल्दा ओहो कांग्रेसले धेरै ठूलो फड्को मार्‍यो, प्रविधिमा फड्को मार्‍यो र घरमा बसेका किसान, मजदूर, विद्यार्थी, युवा, गृहणीले पनि बैठक हेर्न पाउनुभयो । रणनीतिकरूपमा कतिको प्रभावकारी हुन्छ भन्ने लागेको थियो, साथीहरूले लाइभ हुँदा पनि खुलेरै बोल्नुभयो । १० वडा विषयहरू थिए । त्यसका अतिरिक्त पनि समसामयिक विषयहरू जोडेर साथीहरूले धारणा राख्नुभयो । सारमा आममानिसको मनमा के खड्किरहेको छ, साथीहरूले त्यही नै यहाँ प्रस्तुत गर्नुभएको छ । वर्षायाम छ, मनसुन कम भयो । धान रोपाइँ आधा पनि भएन । आर्थिकरूपमा पनि कसरी देशलाई धान्ने विषयहरू थिए । त्यसमा सरकारले के गर्ने ? र, सरकार गठबन्धनको छ र यसमा कसरी अगाडि बढ्ने भन्नेबारे पनि फराकिलो ढङ्गले पनि कुराकानी भयो । यस अर्थमा बैठक राम्रै भयो ।

बैठक लाइभ भएकाले हामीले पनि हेर्‍यौँ, तर बैठकचाहिँ जनजीविकाभन्दा बढी सत्ता-राजनीतिकै वरिपरि घुम्यो होइन त ?

जहाँ पनि चलनचल्तीकै कुरा हुने हुन् । हामी रेष्टुरेन्टमा गर्छौँ, खाजा माग्दा सबैको मुखमा मो:मो कण्ठ हुन्छ । अनि चिया पसलमा गइयो भने चियामात्रै कण्ठ हुन्छ । अरु खाजा पनि हुनचाहिँ हुन्छ, तर खाजा सम्झन्छौँ । त्यस्तै पार्टीको बैठक भन्नेबित्तिकै समसामयिक विषयले बढी प्रभावित गर्छ । जस्तो: अहिले अर्थतन्त्रको विषयमा त्यो त विज्ञले बोल्ने विषय भयो । अनविज्ञले चिन्ता व्यक्त गर्ने, विज्ञले समाधान दिने हो ।

तर, ती चिन्ताहरू सुनिएन नि ?

सुनियो, धेरै नेताहरूले बोल्नुभयो । स्वयम् अर्थमन्त्रीले बोल्नुभयो । बजेट वितरण असन्तुलित भयो भन्नेबारे पनि धेरै नेताहरूले बोल्नुभयो । सँगै अर्को विषयचाहिँ के रह्यो भने अब गठबन्धनमै सरकार अडिएको हुनाले गठबन्धनका विषयचाहिँ कसरी अगाडि बढ्छ, हिजो हामीले गठबन्धन गरेकै कारणले कांग्रेसका बीचमा असन्तुष्टि जागेको छ भने अब गठबन्धनको सरकार के हुन्छ होला ? निरन्तरता कसरी दिइन्छ होला ? बीचमा एकपटक दुर्घटनाग्रस्त पनि भइसकेको छ भन्ने कुरामा चाहिँ धेरै नेता साथीहरूको प्रस्तुति रह्यो । जसले गर्दा यसैले बढी प्रभावित बनायो कि भन्ने देखाएको हो । तर, हामीले आर्थिक विषयलाई पनि त्यत्तिकै उठायौँ, सामाजिक विषय जस्तो; जातीय र लैङ्किक विषयहरू पनि उठेका छन् । किसानहरूका समस्याका विषय पनि उठेका छन् । औषधि उपचारको विषयमा स्वास्थ्यमन्त्रीले अब कोही पनि उपचार नपाएर, पैसा नभएका कारणले उपचार पाइनँ भन्ने स्थिति राख्दिनँ भनेर ग्यारेन्टी गर्नुभएको छ । भनेपछि राम्रा विषयहरू पनि कांग्रेसको बैठकमा उठेका छन् ।

तपाईंहरू सत्ता साझेदार दल हो, कतिपय नेताहरूले प्रधानमन्त्री, गृहमन्त्रीको आलोचना गर्दै राजीनामासमेत मागिरहनुभएको छ, यसलाई कसरी बुझ्ने ? यो पार्टीको माग हो भनेर बुझ्ने कि ?

कांग्रेस लोकतान्त्रिक पार्टी हो, यहाँ अभिव्यक्तिको स्वतन्त्रता छ । यहाँ सभापतिको त राजीनामा मागेका छन् भने मन्त्रीको नमाग्ने भन्ने नै हुँदैन । अझ सभापतिले नै प्यारो मानेर मनोनीत गरेकै साथीहरूले पनि उहाँकै राजीनामा मागेका छन् । सभापति त्यसमा प्रतिक्रियाविहीन हुनुहुन्छ । त्यसबेला कहिलेकाहीँ पार्टीको लाइन आउन ढिलो भयो भने आफ्नो व्यक्तिगत भनाइ राख्नुहुन्छ । सरकारको आलोचना गर्न स्वाभाविक हो, तर त्यो आलोचनाबाट सरकार पनि डराउनु हुँदैन र  पार्टी पनि तर्सिनुहुँदैन । त्यो भनेको के हो भने अहिले सरकारका केही राम्रा कामहरू छन् । जसमा हामीले साथ दिइरहेका छौँ । कांग्रेसको जगमै उभिएको सरकार भएको हुनाले हामी सरकारलाई रचनात्मक सहयोग पुर्‍याउँछौँ । जुन साथीहरूको व्यक्तिगत विचार हो र त्यो विचार पनि बैठकमा उठेको छ । त्यो पार्टीको लाइनचाहिँ होइन, साथीहरूको व्यक्तिगत हो ।

तपाईंले बालकृष्ण खाणको सन्दर्भलाई लिएर ‘जोगाउनुपर्छ’ भनेर भन्नुभयो, यसबारे थप प्रष्ट पार्नुहोस् न !

अभियोग लाग्छ, गाउँघरमा हामी सबै समाजमै बसेका हुन्छौँ । र, समाजमा पारिवारिकरूपमा बसेका सदस्यहरूको माया-ममता अझ बढी हुन्छ । परिवारका सदस्यले गल्ती गर्दै गर्दैन र गर्‍यो भने कारबाही हुनु हुँदैन भन्ने होइन । परिवारका सदस्यले गल्ती पनि गर्नसक्छ, कारबाही पनि हुनुपर्छ र गल्ती गर्न पनि सक्छन् । तर, सामान्यताचाहिँ गल्ती गर्नु हुँदैन र गरियो भने कारबाही हुनुपर्छ । तर, निजलाई न्यायिक सफाइको मौका त दिनुपर्छ । र, त्यत्तिबेला हाम्रो र अरुको भन्ने कुनै अन्तर नै नहुने हो भने त कसैले कसैको साथ सहयोग पनि पाउँदैन । जस्तो: हामीले वकिल राख्छौँ, त्यो भनेको म निर्दोष छु भनेको त हो नि । अनि न्यायिक समितिमा पुर्‍याएको कुरा पनि दोषी हो कि निर्दोषी हो भन्नलाई हो नि त ।

तर, इजलासमा छलफल चलिरहेको बेला कांग्रेसको बैठकमा छलफल गरेर हामी दोषी भन्छौँ कि निर्दोषी भन्छौँ त ? निर्दोष भनेको भए हामीले अदालतको नियमलाई भण्डाफोर गरेको हुन्छ, दोषी हो भने अहिल्यै पार्टीबाट निकाल्नुपर्‍यो । दोषी भनेर अदालतले करार नै गरेको छैन, हामी कसरी पार्टीबाट निकाल्न सक्छौँ ? निर्दोष भनौँ भने अदालतमा मुद्दा चलिरहेको छ । त्यसैले अदालतमा रहेको विषयलाई पार्टीको बैठकको एजेन्डा बनाउन मिल्छ कि मिल्दैन त ? अहिले पो कांग्रेसको सदस्य पर्नुभयो र छलफलको विषय बनाउँला, भोलि अरु पार्टीको सदस्य पर्‍यो भने एजेन्डा बन्ने कि नबन्ने ? आम नागरिक पर्‍यो भने छलफलको विषय बनाउने कि नबनाउने ? न्यायिक विषयलाई राजनीतिक विषय नबनाउँ भन्नेमात्रै हो ।

भनेपछि कांग्रेसको संस्थापनइतरले भनेजस्तो उहाँलाई निलम्बन नै गर्नुपर्ने अवस्था होइन ?

होइन, प्रमाण नष्ट गर्ने ठाउँमा हुनुहुन्छ भने निलम्बन गर्नैपर्थ्यो । जस्तै उहाँ बहालवाला गृहमन्त्री हुनुहुन्थ्यो भने त्यहाँबाट  निलम्बन गर्नुपर्थ्यो । उहाँ प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो भने त्यहाँबाट निलम्बन गर्नुपर्थ्यो । उहाँ कुनै पनि सरकारी जिम्मेवारी र कागजातहरू उहाँको जिम्मेवारीमा हुन्थ्यो भने निलम्बन गर्नुपर्थ्यो । कांग्रेसको केन्द्रीय सदस्य भएबापत् राज्य, प्रहरी, सरकार, न्यायापालिकालाई आवश्यक पर्ने कुनैखाले प्रमाण नष्ट पार्न सक्नुहुन्न । त्यसैले केन्द्रीय सदस्यबाट निलम्बन गर्नु र नगर्नुको कुनै अर्थ छैन । त्यसो हुँदा त्यो छलफलकै विषय नै होइन ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘एक्जिट पोलिसी’ को कुरा जोड दिएर उठाउनुभयो पार्टीलाई, यसलाई कसरी अगाडि बढाउँछ कांग्रेसले ?

हामीभन्दा अगाडि मानेको थियो एमालेले, ऊ फर्किसक्यो । जसले ७० वर्ष मानेको थियो । उहाँहरू ५ वर्षमै फर्किनुभयो । तर, कांग्रेसचाहिँ २००३ देखि ०८० सम्म आइपुग्दा कहिल्यै एजको राजनीति गरेन । यसले एजेन्डाको राजनीति गर्‍यो । २००७ सालमा हामीले जहाँनियाँ राणा शासन फाल्ने एजेन्डामा राजनीति गर्‍यौँ । ०४६ सालमा हामीले लोकतन्त्रको पुन: बहालीको एजेन्डामा राजनीति गर्‍यौँ । ०५७/५८ मा सामाजिक रूपान्तरणको एजेन्डामा राजनीति गर्‍यौँ । ०६२/६३ तिर राजतन्त्र फाल्ने एजेन्डाको राजनीति गर्‍यौँ । त्यसपछि मुलुकलाई शान्ति स्थापना गर्न राजनीति गर्‍यौँ । र, अहिले समृद्धिको राजनीति गर्दैछौँ । अब एजेन्डा छ भने त्यसको राजनीति गर्ने हो, एजेन्डा छैन भने एजको राजनीति गर्ने हो । एजेन्डाको राजनीति गर्दा एज गौण हुन्छ ।

अहिले शेरबहादुर देउवासँग एजेन्डा छ, अरु साथीहरूसँग एज छ । एज र एजेन्डा मिले पार्टी पूर्ण बन्छ । तर, एकथरिले एजको मात्रै र अर्को थरिले एजेन्डाको मात्रै कुरा गर्ने हो भने एजेन्डा पनि अधुरो रहन्छ र एजले पनि कहिल्यै एजेन्डा भेट्दैन । त्यसैले हाम्रो पार्टीमा सबै उमेर समूहका साथीहरू हुनुपर्छ ।

कांग्रेस एकै भएरचाहिँ कहिल्यै जान सकेन होइन ? यो बैठकपछि पनि त्यही हो कांग्रेसको नियति ?

पार्टी एक नै हुन्छ, हुनैपर्छ र यसको कुनै विकल्प देखिँदैन । तर, गुट उपगुटहरूचाहिँ हुन्छन् नै । किनभने विचारले पार्टी र व्यवहारले गुट बन्छ । व्यवहार त फरक-फरक छ नि त । विचार त फेरि एउटै छ । हामी ज्यान दिन तयार छौँ । कहिलेकाहीँ व्यवहारले हामी सँगै बस्न पनि तयार हुँदैनौँ । त्यसैले विचार र व्यवहारलाई सँगसँगै लान सके पार्टी उत्कृष्ट हुन्छ । तर, त्यसो नहुँदा कहिलेकाहीँ व्यवहारले विचार स्खलित गराउँछ, कहिलेकाहीँ विचारमात्रै बोकेर हिँड्दा सङ्गठन कमजोर हुन्छ । त्यसैले दुईवटैलाई मिलाएर लानु अहिलेको अपरिहार्यता हो । र, यो बैठकपछि पार्टी विगतको भन्दा एकता अलिक दृढ भएर अघि बढ्छ ।

हिजो १४औं महाधिवेशनमा शेरबहादुर देउवासँगै सभापति लड्नुभएका डा. शेखर कोइराला अहिले शेरबहादुर देउवासँग नजिकिएका छन् भनेर भनिन्छ, तपाईंहरूले यसलाई कसरी बुझ्नुभएको छ ?

कांग्रेस घर हो । गुट हाम्रा कोठा हुन् । एउटा कोठाको साथी अर्को कोठामा जान नसक्ने भन्ने हुँदैन । त्यसैले उहाँहरूको ओहोर-दोहोर आवतजावत चलिरहन्छ । जहाँ कम्फर्टेबल लाग्छ, त्यहाँ बस्न स्वाभाविक हुन्छ । उहाँको लय पार्टी हितमा नै छ ।

भनेपछि उहाँ वरिष्ठ नेता बन्दै हुनुहुन्छ ?

होइन यो हाम्रो विधानमा छैन । मान्ने कुरामा मान्न सकिन्छ । तर, विगतमा हामीले संस्थापक नेता वरिष्ठ नेता भन्ने गरेका थियौँ । जसरी हामीले किसुनजी, गणेशमानलाई मान्यौँ । पछिल्लो समय हामीले सुशील कोइराला, कृष्णप्रसाद भट्टराईहरूलाई भन्यौँ, जसले बीपी गणेशमानहरूसँग काम गर्नुभयो । अब उहाँहरूसँग काम गरेको एउटा समकालीन नेतृत्व छ । त्यो भनेको शेरबहादुर देउवा, रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठहरू हुनुहुन्छ । अहिले उहाँहरूले सभापतिमा प्रतिस्पर्धा गर्नुभयो, त्यसमा निकटतम् सम्मान सभापतिजीले दिनुहुन्छ, तर वरिष्ठताका हिसाबले पार्टीभित्र विवाद हुन्छजस्तो लाग्दैन र यसलाई तोकेर जाने कुरा वा दिनुहुन्न भन्ने छैन ।

भनेपछि दुवैजनालाई बनाएर जाने कुरा पनि हुन्छ ?

उहाँहरूको तुलना हुँदैन, गोपालमान दाइको काम गराइ, राजनीतिक योगदान र शेखर दाइको अहिलेको आगमनलाई एउटै तहमा राखेर हेर्न सकिँदैन । वरिष्ठता भनेकोचाहिँ तोक्ने होइन,कमाउने हो ।

अन्तिममा अहिलेको सरकारले गरिरहेको काम-कारबाहीलाई कसरी हेरेको छ कांग्रेसले ?

केही काम राम्रा गर्न खोजेको छ । तर, अलिक विचलितजस्तो भएको छ । जस्तो: भ्रष्टाचारविरुद्धको काम सरकारले गरेको छ । तर, कतै लय पक्रेन कि भन्ने मेरो व्यक्तिगत धारणा छ । अर्को कुरा सरकारले आम जनजीविकाका बारेमा काम गरेन । सरकारले ठूलोसँगै साना कामहरू पनि गर्नुपर्छ । दैनिक जीवनमा कठिनाइमा बाँचेका, तल्लो तहमा बाँचेका, भुइँमान्छेहरूका बारेमा सरकारले काम गर्न सकेन । त्यता ध्यान दिनुपर्छ । यसमा हाम्रो सहयोग अवश्य रहन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved