कांग्रेस बैठकमा प्रदेश सभापतिहरूको गुनासो : कसले के भने ?

नेपालभ्युज

कांग्रेस बैठकमा प्रदेश सभापतिहरूको गुनासो : कसले के भने ?

काठमाडौं। नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले पार्टी केन्द्रले प्रदेश कार्यसमितिलाई बेवास्ता गरेको भन्दै गुनासो पोखेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबारदेखि जारी बैठकमा बोल्दै प्रदेश सभापतिहरूले गुनासो गरेका हुन् ।

केन्द्रीय समितिको बैठकको दोस्रो दिन प्रदेश सभापतिहरूलाई बोल्न दिइएको समयमा बोल्दै प्रदेश सभापतिहरूले धारणा राखेका हुन् । मुलुकमा संघीयता व्यवस्थाकै सवालमा प्रश्न उठिरहेका बेला पार्टीभित्र समेत संघीय संरचनालाई सर्वस्वीकार्य गरेर संगठन अघि बढाउन नखोजिएको उनीहरूको आरोप छ ।

प्रदेश सभापतिबाट पहिलो वक्ता बनेका गण्डकीका सभापति शुक्रराज शर्माले आमन्त्रित सदस्यका रूपमा बोलाइएकोप्रति आपत्ति जनाए । पार्टीले आफ्नै संगठनमा भने संघीयताको असल अभ्यास गर्न नसकेको उनको गुनासो छ । पार्टीमा केन्द्रीय कार्यसमितिले सीधै जिल्ला र पालिका तहसँग काम गर्ने र शासन गर्ने काम गरेको उनले बताए ।

यस्तै, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले मुलुकको संघीय व्यवस्थामै प्रश्न उठिरहेका बेला पार्टीमा समेत त्यसको असल अभ्यास हुन नसकेको बताए । विधानमा व्यवस्था गरेर बैठकमा उपस्थित हुन पाउने वातावरण मिलाउन नेतृत्वसँग उनले आग्रह गरे । नेता पुनले केन्द्रीय कार्यसमितिमा महामन्त्रीले प्रस्तुत गरेको एकवर्षे क्यालेन्डरमा समेत प्रदेश कार्यसमितिको भूमिकालाई समेटेर कुनै कार्यक्रमहरूको प्रस्ताव नआएको बताए ।

नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्ण यादवले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिनु नहुने धारणा राखे छ । उनले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिँदा घुुसपैठ हुनसक्ने भन्दै अनलाइन प्रणालीबाट दिनु नहुने धारणा राखेका हुन् । उनले यस विषयमा पुनर्विचार गर्नुपर्ने बताए ।

बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सरकार र पार्टीका बीचमा समन्वय हुन नसकेको बताए । उनले सरकार र पार्टीका बीचमा आपसी
सहकार्य हुनुपर्नेमा जोड दिँदै नेपालको निर्वाचन प्रणालीदेखि नेपाली का‌ग्रेसले बोकिरहेको एजेन्डाहरूको सम्बन्धमा पनि सोच्नुपर्ने आवश्यकता रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved