नेफ्टाका पदाधिकारीलाई नै अमेरिकाले भिसा नदिएपछि ‘अवार्ड’ कार्यक्रम रद्द

अमेरिकाले नेफ्टाका पदाधिकारी र कार्यक्रममा सहभागी हुन लैजाने भनिएकालाई भिसा नदिएपछि अवार्ड रद्द भएको हो। २२ जुलाई अर्थात् ६ साउनमा ‘नेफ्टा फिल्म अवार्ड्स’ को ११औँ संस्करण अमेरिकामा गर्ने तयारी थियो।

नेपालभ्युज

नेफ्टाका पदाधिकारीलाई नै अमेरिकाले भिसा नदिएपछि ‘अवार्ड’ कार्यक्रम रद्द
नेफ्टा अवार्डको प्रचार सामग्री

काठमाडौं। अमेरिकाले भिसा नदिएपछि नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)को अवार्ड कार्यक्रम रद्द भएको छ।  अवार्ड कार्यक्रमको आवरणमा मानव तस्करीको आरोप लागेको थियो ।

अमेरिकाले नेफ्टाका पदाधिकारी र कार्यक्रममा सहभागी हुन लैजाने भनिएकालाई भिसा नदिएपछि अवार्ड कार्यक्रम रद्द गरिएको हो। २२ जुलाई अर्थात् ६ साउनमा ‘नेफ्टा फिल्म अवार्ड्स’ को ११औँ संस्करण अमेरिकामा गर्ने तयारी थियो।

नेफ्टाले अमेरिकामा आयोजना गर्ने भनिएको अवार्डमा अनधिकृत व्यक्तिलाई लैजान खोजेको विषय सार्वजनिक भएपछि अमेरिकी दूतावासले भिसामा कडाइ गरेको थियो । नेफ्टाका अध्यक्ष पुष्कर लामालाई नै दूतावासले भिसा दिएन।

अमेरिकामा हुने ‘नेफ्टा अवार्ड’ विवादमा, मानव तस्करीको आरोप

सुरुमा अमेरिकामा रहेको स्थानीय आयोजक आर्यन फिल्म्सले अवार्डबाट हात झिकेको थियो। भिसाका लागि पठाइएको नाममा अनधिकृत व्यक्तिको प्रवेश भएको भन्दै  आर्यन बाहिरिएको थियो ।

नेफ्टाका अध्यक्ष पुष्कर लामा

एक जनालाई अमेरिका पठाउन ३० लाख रुपैयाँसम्म असुलेको थाहा पाएपछि आफू कार्यक्रमबाट पछि हटेको आर्यन फिल्म्सले विज्ञप्तिमार्फत बताएको थियो। उसले अवार्डका लागि खर्च गरेको करिब १५ हजार अमेरिकी डलरसमेत फिर्ताको माग गरेको थियो।

स्रोतका अनुसार प्राविधिक संघले जम्मा ५० जनाको भिसा लगाउने प्रयास गरेमा अधिकांशको अस्वीकार भएको छ । आयोजकले नै भिसा नपाएपछि कार्यक्रम हुने कुरै भएन। केही दिनअघिसम्म आयोजक भने अमेरिकामै जसरी भए पनि अवार्ड गर्ने बताइरहेका थिए ।

अवार्डको बहानामा मानव तस्करी आरोप लागेपछि आयोजकले नै पाएनन् भिसा

अन्तिम समयमा अवार्ड रद्द भएपछि पहिले नै भिसा भएका कलाकार पनि खिन्न भएका छन्। यस विषयमा मुख्य आयोजक प्राविधिक संघका अध्यक्ष पुष्कर लामा बोल्न चाहेनन्।

आयोजकमध्ये केहीले भने अवार्ड कार्यक्रम रद्द नभई पुन अर्को मितिमा हुने गरी सारिएको दाबी गरेका छन्। अहिले भिसा नपाएपछि फेरि प्रक्रिया थाल्ने र ३ सेप्टेम्बरमा अवार्ड गर्ने उनीहरूले दाबी गरेका छन्।

उनीहरूले मानव तस्करीको झुटो आरोप लगाइएका कारण भिसा नपाएको भन्दै आक्रोशसमेत व्यक्त गरेका छन्।

अवार्ड वितरण गर्न मापदण्डको खाँचो

नेफ्टाले अमेरिका लैजान लागेको भन्दै भिसा आवेदन दिएकोमा झन्डै आधाजसो असम्बन्धित व्यक्ति थिए। त्यसपछि विज्ञप्ति निकालेरै एक स्थानीय आयोजक आर्यन फिल्मस्ले सर्वसाधारणलाई सचेत हुन आग्रह गरेको थियो।

आर्यन फिल्मसका महाप्रबन्धक गोपाल कटुवालले भनेका थिए, ‘‘अवार्डको बहानामा सर्वसाधारणलाई अमेरिका तस्करी गर्न लागिएको सूचना आयो। एकै जनासँग ३० लाखसम्म असुल्न थालेको जानकारी पायौँ। हाम्रोसमेत बदनाम हुने र कानुनी फन्दामा पर्ने खतरा देखेपछि हात झिकेका हौँ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved