आजदेखि देशभरि प्रदर्शनमा फिल्म ‘बगान’, एकल आमाहरूलाई नि:शुल्क देखाइने

नेपालभ्युज

आजदेखि देशभरि प्रदर्शनमा फिल्म ‘बगान’, एकल आमाहरूलाई नि:शुल्क देखाइने

काठमाडौं। प्रिमियरमा तारिफ पाएको चलचित्र ‘बगान’ रिलिज भएको छ । आज शुक्रबारदेखि रिलिज भएको सो चलचित्रले देशभरका ८० भन्दा बढि हलमा १०० भन्दा बढी शो पाएको छ ।

अभिनेता सरोज खनालद्वारा निर्देशित गरेको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, वसुन्धरा भुसाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छ । अभिनेत्री कार्कीले यही चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

बुधबार भएको प्रिमियरमा चलचित्र हेर्ने अधिकांशले यसका दृश्य र संवादले भावुक बनाएको प्रतिक्रिया दिएका थिए । यो चलचित्र मात्र नभई क्रान्ति भएको र नेपाली समाजलाई परिवर्तनको बाटो देखाउने चलचित्रको रूपमा हेरिनुपर्ने प्रतिक्रिया प्राप्त भएको थियो ।

यो चलचित्रले देशभर नै एकल आमाहरूलाई नि:शुल्क चलचित्र देखाउने घोषणा गरेको थियो । यसको लागि चलचित्र हलमा सरकारले जारी गरेको एकल आमाको परिचयपत्र देखाउनुपर्नेछ ।

स्वप्निल नीरवको कथामा आधारित रही बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतीमा बनेको हो । ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् ।

यसमा गौरीशंकर धुजुको डीओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्सन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुसालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।

यो चलचित्र नेपाल रिलिजपछि अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरूमा फिल्म प्रदर्शन हुनेछ । ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डीसीएनले काठमाडौं उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved