सरकारको नेतृत्वबाट प्रहरीलाई काम गर्न सहज छः महानिरीक्षक कुँवर

नेपालभ्युज

सरकारको नेतृत्वबाट प्रहरीलाई काम गर्न सहज छः महानिरीक्षक कुँवर
फाइल फोटो

काठमाडौं ।  प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले वर्तमान राजनीतिक नेतृत्वबाट प्रहरीलाई काम गर्न सहज रहेको बताएका छन् । शुक्रवार प्रहरी प्रधान कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको सरकार संगठन रुपान्तरण र विकास गर्ने हकमा राम्रो रहेको बताए ।

उनले साधन श्रोतको कमी, देशको आर्थिक अवस्था कमजोर भएका कारणले प्रहरी प्रशासनलाई केही कठिनाइ भएको पनि बताए । उनले जिल्लाबाटै साइबर अपराधको मुद्दा निक्र्यौल गर्ने सरकारले निर्णयले थप सहयोग पुगेको बताए । प्रहरी प्रशासनलाई बलियो बनाउनका लागि गृह मन्त्रालयबाट राम्रो सहयोग मिलेपनि अन्य निकायबाट भनेअनुसारको सहयोग नपाएको उनको गुनासो थियो  । उनले प्रहरी समायोजनको विषय सरकारले तोकेको समयमा नै हुने विश्वास रहेको र सरकारको निर्णयमा आफूहरु कार्यान्वयनका लागि तयार रहेको बताए ।

‘अहिलेको राजनीतिक नेतृत्वबाट प्रहरीलाई कामकाज गर्न सजिलो छ प्रहरीले आफ्नो कार्य सम्पादन गर्नसक्छ । समग्र रुपमा संगठन रुपान्तरण र विकास गर्ने  वातावरण अहिलेको राजनीतिक नेतृत्वबाट प्राप्त भएको छ ‘  उनले भने,  ‘अहिले चुनौति त धेरै छन् हामीसँग साधन श्रोत छैन, राष्ट्रको ढुकुटी रित्तिएको छ । तर पनि पैसा बिना केही हुँदैन । त्यसकारण पैसा नलाग्ने कुरामा कसरी गर्न सकिन्छ, र सामान्य नीतिगत निर्णय गरैर गर्नसक्ने कुरा के छन् भन्नेकुरा हो ।’

‘गृहको नेतृत्व एग्रिसिब रुपमा लागेको छ, तर अरु पक्षबाट त्यो किसिमको वातावरण सीमा भएर पनि होला पूरा हुन सकेको छैन, अहिलेको उपयुक्त वातावरण छ । साइबर अपराधको कुरामा हाम्रो माग अनुसार नै क्याबिनेटले हिजो डिसिजन गरेको छ’ उनले अगाडि भने,  ‘नागरिकहरुको हीतकै लागि सेवा प्रवाहकै लागि अहिले जिल्लाजिल्लाबाट साइबरको मुद्दा चलाउने र यसलार्ई नियन्त्रण गर्ने भन्ने कुरा छ ।’

नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०७९/०८०को गत तीन महिनामा (चैत्र १५ देखि असार १५ सम्म) तुलना गर्दा गत आ.व. २०७८/०७९ को भन्दा चालु आर्थिक वर्षका तीन महिनामा ११.१५ प्रतिशत बढी पक्राउ परेको र ११.२२ प्रतिशत दर्ता बढेको बताएको छ ।

चालु गत तीन महिनामा ३ हजार ५६२ जना फरार अपराधी पक्राउ परेका छन् । प्रहरीका अनुसार चैत्र १५ देखि असार १५ सम्म गाँजा ६ हजार ९६१.६१ केजी गाँजा, १७९केजी चरेश, ४.२५ केजी हेरोईन र ४.९८ केजी अफिम बरामद भएको छ । लागुऔषध ब्युरोद्वारा सञ्चालिन विशेष अपरेशनमा रात्रि क्लव, मनोरञ्जन गृह तथा ट्रान्स पार्टीहरुमा प्रयोग हुने एलएसडी १० हजार १३१ पिससहित ५ जना विदेशी, ७ जना नेपाली समेत १२ जना चालु आर्थिक वर्षको चैत्र १५ देखि असार १५ गतेसम्म पक्राउ गरेको छ ।

नक्कली भूटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, विद्युतीय सट्टा बाजी, सहकारी ठगी लगायतका प्रकरणको कारबाही अघि बढेको प्रहरीले जनाएको छ । तीन महिनाभित्र ६ हजार ४२० सवारी दुर्घटना, ५८१ मृत्यु, गम्भीर घाईते १ हजार ६२७, साधारण घाईते ६ हजार ७२१, कारबाही ७ लाख ३६ हजार ४७० र राजश्व संकलन ५६ करोड ४६ लाख ५४ हजार २ सय भएको छ ।

अवैध सामान बरामद, चोरी पैठारी नियन्त्रण, भन्सार चोरी निकासी, अवैध मुद्रँ र हुण्डी बरामद जस्ता विभिन्न माध्यमबाट १ अर्ब ५९ करोड ६२ लाख ८२ हजार १७७ रुपैयाँ राजश्व संकलन भएको छ । विपद् व्यवस्थापनका लागि तत्काल परिचालन हुनसक्ने गरी उपलब्ध उद्धार सामग्रीहरुसहित १० हजार ८५ जना प्रहरी २४ सै घण्टा उपलब्ध गराइएको बताएको छ ।

उपत्यका तथा प्रदेश प्रहरी कार्यालयबाट शुरु गरिुएका नयाँ कार्यक्रममा सुरक्षित उपत्यका अभियान, कोशी प्रदेशमा पीडित पुनः भेटघाट कार्यक्रम, मधेसमा अल्पसंख्यकसँग प्रहरी, वागमतीमा स्मार्ट प्रहरी कन्ट्रोल रुम, गण्डकीमा हिरासत व्यवस्थापन अधिकृत, लुम्बिनीमा आत्महत्या न्युनिकरण अभियान, कर्णालीमा घरघरमा स्टिकर टाँस, निःशुल्क निवेदन लेखन र सहजीकरण, नागरिक सहजकर्ता प्रहरी परिचालन र सुदूरपश्चिम प्रदेशमा लागुऔषधविरुद्ध महाअिभयान शुरु गरिएको  छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved