नेप्से ६२.२१ अंकले बढ्दा साढे ६ अर्बको कारोबार

नेपालभ्युज

नेप्से ६२.२१ अंकले बढ्दा साढे ६ अर्बको कारोबार
प्रतीकात्मक तस्वीर

काठमाडौं। साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । आइतबार नेप्से परिसूचक ६२.२१ अंक बढेर २११७.७३ बिन्दुमा पुगेको हो ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ९.६४ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ४.१० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.८९ अंकले बढेको छ । नेप्से ६२ अंकले बढेसँगै नेप्से परिसूचक २१ सय बिन्दुमाथि पुगेको छ ।

आइतबार कारोबारमा आएका २७५ कम्पनीको १ करोड ४७ लाख ५१ हजार कित्ता सेयर ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । सो कारोबार पछिल्लो ६ महिनाको सबैभन्दा धेरै हो । गत पुस २६ गते नेप्सेमा ७ अर्ब ४० करोडको कारोबार भएको थियो । गत बिहीबार ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । विहीवारको तुलनामा आइतबार दोब्बरले कारोबार रकममा वृद्धि भएको छ ।

आइतबारको कारोबारमा नेप्सेका १३ उपसमूहको परिसूचक हरियाली भएको छ । जसमा सबैभन्दा बढी जीवन बिमा उपसमूहको परिसूचक ७.७९ प्रतिशत बढेको छ । निर्जीवन बिमा उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ भने वित्त, अन्य र व्यापार उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ ।

नेप्से परिसूचक ६२.२१ अंकले बढेसँगै ७ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा लाइफ इन्स्योरेन्स कर्पोरेसन, हिमालयन लाइफ इन्स्योरेन्स, एनएमबि ५०, सामलिङ पावर कम्पनी, बीपीडब्लू लघुवित्त वित्तीय संस्था, सिटी होटल र शिवम् सिमेन्ट्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

त्यस्तै, हिमालयन उर्जा, नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ ।

तर, यता शुभम पावरको शेयरमूल्य ६.८१ प्रतिशत घटेको छ । आइतबार कारोबारमा शिवम् सिमेन्ट्स कम्पनीको ४९ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved