चीनले स्वामित्व प्रदर्शन गरेको पोखरा विमानस्थल ‘सेतो हात्ती’, ऋणको बोझमा थिचिँदै नेपाल

पोखरा विमानस्थलको वार्षिक सञ्चालन खर्च करिब १ अर्ब रुपैयाँ हुने अनुमान छ। तर, वार्षिक रूपमा (दुई किस्ता गरेर) करिब पौने २ अर्ब साँवा–ब्याज तिर्नुपर्छ। योसहित विमानस्थलको वार्षिक खर्चको बोझ करिब ३ अर्ब पुग्ने देखिन्छ।

नेपालभ्युज

चीनले स्वामित्व प्रदर्शन गरेको पोखरा विमानस्थल ‘सेतो हात्ती’, ऋणको बोझमा थिचिँदै नेपाल

काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अनावश्यकरूपमा स्वामित्व दर्शाएको चीनबाट पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान भएको छ।

सञ्चालनमा आएको ६ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान भए पनि ऋण धान्ने गरी नियमित उडान तत्काल सम्भव देखिएको छैन।

यसअघि, चिनियाँ ऋणमा नेपाल आफैंले बनाएको परियोजनालाई ‘सक्रिय समर्थन’ र ‘बलियो सहयोग’ रहेको भन्दै चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले विवादास्पद अभिव्यक्ति दिएका थिए।

१७ पुसमा विमानस्थल उद्घाटन समारोहमा प्रधानमन्त्रीकै सामु भनेका थिए, ‘वर्षौंदेखि यस परियोजनामा सक्रिय समर्थन र बलियो सहयोगका लागि म प्रधानमन्त्री र नेपाल सरकारलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु।’

चिनियाँ राजदूतले यस परियोजनामा सक्रिय समर्थन र बलियो सहयोग भन्दै अनावश्यकरूपमा स्वामित्व दर्शाएपनि नेपाल ऋणको बोझमा थिचिएको छ।

यो विमानस्थल बनाउँदा लागेको चीनको झन्डै २२ अर्ब ऋण २०९२ असोज १ गतेभित्र भुक्तानी गरिसक्नुपर्ने दबाब छ। जुन रकम चिनियाँ मुद्राको सटही दर बढ्दा करिब २६ अर्ब पुगेको छ।

२०७९ चैत १ देखि नेपालले ऋण तिर्ने मिति सुरु भएको छ । भुक्तानी अर्धवार्षिक हुनेछ। वर्षमा दुई किस्तामा तिर्नुपर्ने छ। प्राधिकरणले एक किस्ताबापत मात्रै झन्डै ८५ करोड बुझाउनुपर्छ। वर्षमा २ पटक किस्ता बुझाउन पनि विमानस्थलले करिब पौने २ अर्ब कमाउन आवश्यक छ।

उद्घाटनको बेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको यो ऋणलाई अनुदानमा बदल्न आग्रह पनि गरेका थिए। तर, यसप्रति चीन सरकार सकारात्मक छैन। विमानस्थल निर्माणमा आफ्नो ‘सक्रिय समर्थन’ र ‘बलियो सहयोग’ रहेको भन्दै दाबी गर्ने चिनियाँ पक्षले गरिब देशको यो परियोजनाबाट करोडौं ब्याज असुलेर नाफा खाँदैछ।

यसरी भयो पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाजको अवतरण (फोटो फिचर)

कमाइ नै नभई किस्ताको बोझ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जग्गा अधिग्रहणको ४७ वर्षपछि सञ्चालनमा आएको छ । विमानस्थल मज्जाले सञ्चालनमा नआउँदै नेपालले पहिलो किस्ता बुझाउनुपर्‍यो। कमाइ नै नहुँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त दायित्व बहन गर्न बाध्य छ। सम्झौताअनुसार नेपालले अब १ असोजमा पुनः किस्ता तिर्नुपर्ने हुन्छ।

पीडादायी कुरा त के भने पोखरा विमानस्थलको वार्षिक सञ्चालन खर्च करिब १ अर्ब रुपैयाँसम्म हुने अनुमान छ। तर, वार्षिक रूपमा (दुई किस्ता गरेर) करिब पौने २ अर्ब साँवा–ब्याज तिर्नुपर्छ। योसहित विमानस्थलको वार्षिक खर्चको बोझ करिब ३ अर्ब पुग्ने देखिन्छ।

यस हिसाबले खर्च धान्नको लागि मात्रै पोखरा विमानस्थलले मासिक रूपमा कम्तीमा २५ करोडभन्दा बढी कमाउनैपर्छ। नफा हुन अझ बढी आर्जन गर्नुपर्छ।

विमानस्थल बनाउन चीनको एक्जिम बैंकबाट लिइएको ऋणको साँवा ब्याज तिर्नुपर्ने तालिका

विमानस्थलको आम्दानीको स्रोत अन्तर्राष्ट्रिय उडान अवतरण हो। उडान हुँदा त्यससँगै  हुने ग्राउन्ड हेन्डलिङ, विभिन्न शीर्षकमा उठाइने सेवा शुल्क हो। अतिरिक्त आम्दानीको रूपमा पसल–कवललगायत स्रोत हुन्।

तर, अझै पनि विमानस्थलमा बाह्रय उडान नियमित भएको छैन। कहिले सुरु हुन्छ भन्ने यकिन समेत छैन। यसकारण विमानस्थल घाटामा त गयो नै ऋण तिर्न नसक्ने अवस्था पनि आयो ।

यसबारे हवाइ विभागका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजा भन्छन् ‘‘केही वर्ष घाटामै गए पनि पछि चलाउन सकिन्छ। तर, अहिलेलाई ऋण भार व्यहोर्न कठिन छ। यसको लागि विमानस्थल चकाचक चलाउनुपर्छ नत्र विमानस्थल आफैँले यत्रको ऋण कसरी तिर्न सक्छ ?’’

व्यावसायिक कार्ययोजनाबिना चीनको दबाबपूर्ण लगानीले ऋण तिर्न नसक्ने जोखिम निम्त्याएको जानकारको तर्क छ। जसका कारण आयोजनाले कमाउनुभन्दा पहिले नै ऋणको साँवा भुक्तानी गर्नुपरेको छ ।

नेपाल उड्डयन प्राधिकरणको मुख्य आम्दानीको स्रोत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो। यो विमानस्थलले वार्षिक ६ अर्ब आम्दानी गर्छ। प्राधिकरणले त्यही आम्दानीबाट पोखरा विमानस्थलको खर्च ब्यहोर्नुपर्ने भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १७ पुस (अङ्ग्रेजी नयाँ वर्ष २०२३) को पहिलो दिनबाट सञ्चालनमा आएको हो। तर, अन्तर्राष्ट्रिय उडान भने छैन। उडानको लागि कुनै पनि प्रस्ताव नआएको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

सञ्चालनमा आएको ६ महिनापछि बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय चार्टर्ड उडान भयो। महँगो ऋण लगानीमा बनेको विमानस्थलको खर्च धान्न अन्तर्राष्ट्रिय उडानको पहल भइरहेको प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूल बताउँछन् । पोखराबाट दैनिक ६० आन्तरिक उडान हुँदै आएको छ।

भारतसँग नयाँ हवाई रुटमा सम्झौता गरेर उडान सुरु गर्दा नेपाललाई सहज हुने विज्ञ बताउँछन्। नयाँ हवाई रुट लिएर अन्तर्राष्ट्रिय विमान कम्पनी आकर्षित गरेमा विमानस्थल चलायमान हुने र आम्दानी गर्नसक्ने प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षेत्रीको भनाइ छ।

अन्तराष्ट्रिय उडान हुन नसकेको अहिलेको अवस्थामा भने यो विमानस्थल मुलुकका लागि सेतो हात्ती सावित भएको छ ।

पोखरा विमानस्थल : उद्घाटन मात्र, उडान छैन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved