सरकार महँगो मूल्य तिरेर राहदानी खरिद गर्नुपर्ने चापमा छ : मन्त्री साउद

नेपालभ्युज

सरकार महँगो मूल्य तिरेर राहदानी खरिद गर्नुपर्ने चापमा छ : मन्त्री साउद

काठमाडौं। परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले सरकारलाई महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको बताएका छन्।

बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा समितिलाई राहदानी व्यवस्थापनको विषयमा जानकारी दिँदै मन्त्री साउदले यस्तो बताएका हुन्।

उनले परराष्ट्र मन्त्रालय महँगो पैसा तिरेर राहदानी उपलब्ध गराउनुपर्ने चापमा रहेको बताए। सरकारले सार्वजनिक खरिद कानून अनुसार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले महँगो मूल्य(भेरियसन)तिरेर खरिद गरी राहदानी वितरण गरिरहेको उनले बताए।

मन्त्री साउदले विद्युतीय राहदानी खरिदका लागि प्रथम पटक बोलपत्र आह्वान गर्दा ५० लाखको संख्यामा खरिद गर्ने प्रश्ताव गरिएकोमा मन्त्रीपरिषद्को निर्णय अनुसार २० लाख मात्रै विद्युतीय राहदानी खरिद भएको बताए।

अहिलेसम्म नेपालमा राहदानी पुस्तिका छपाई गर्न सक्ने खालको सुरक्षण मुद्रण नभएको र राहदानी सेवा अवरुद्ध गर्न पनि नमिल्ने भएकाले अन्तरिम अवधिका लागि महँगोमा थप राहदानी खरिद गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको उनको भनाइ छ। उनले राहदानीको माग अत्याधिक रहेकाले महँगोमा भएपनि राहदानी खरिद गरी राहदानी वितरण गरिरहेको बताए।

६६ पृष्टको राहदानीसमेत ५ लाख राहदानीकोे मौज्दात रहेकाले सो मौज्दातले करिव ४ महिना मात्रै धान्नसक्ने अवस्था रहेको उनले बताए। उनले ४ महिनापछि राहदानी जारी गर्नको लागि तत्काल महँगोमा भएपनि खरिद गर्नुको विकल्प मन्त्रालयलाई नभएको बताए।

उनले भने,‘सरकार राहदानी भेरियसन आदेशबाट उपलब्ध गराउनुपर्ने चापमा परराष्ट्र मन्त्रालय रहेको छ। विद्युतीय राहदानी खरिदका लागि प्रथम पटक बोलपत्र आह्वान गर्दा ५० लाखको संख्यामा खरिद गर्ने प्रश्ताव गरिएकोमा मन्त्रीपरिषद्को निर्णय अनुसार २० लाख विद्युतीय राहदानी मात्रै खरिद भएको थियो।

हालसम्म पनि नेपालमा राहदानी पुस्तिका छपाई गर्नसक्ने खालको सुरक्षण मुद्रण सम्बन्धि निश्चिता भएको नदेखिएकाले राहदानी सेवा अवरुद्ध गर्न नमिल्ने भएकाले अन्तरिम अवधिका लागि भेरियसन आदेशबाट थप राहदानी खरिद गर्नुपर्ने बाध्यात्मक परिस्थिति आइलागेको हो।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved