चीनबाट आएको जहाज पोखरामा अवतरण, पर्यटनमन्त्री किरातीले गरे स्वागत

नेपालभ्युज

चीनबाट आएको जहाज पोखरामा अवतरण, पर्यटनमन्त्री किरातीले गरे स्वागत

पोखरा। गत पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान भएको छ ।

बुधबार चीनको छेङ्दुस्थित टिएन्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट सिचुवान एयरलाइन्सको चार्टर्ड जहाज पोखरामा अवतरण भएको छ । जहाजमा आएका यात्रुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका छन् । हाल सिचुवानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्दै आएको छ।

पोखरा विमानस्थल प्रमुख विक्रम गौतमले भने, “फेवातालमा असार ८ र ९ गते हुने ‘नेपाल चाइना ड्र्यागन बोट रेस फेस्टिभल’ लाई लक्षित गरेर सिचुवानले बुधबार चार्टर्ड उडान गरेको हो । हो। उक्त उडानमार्फत फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु अवतरण गरेका छन् ।”

विमानमार्फत १३० जना यात्रु पोखरा विमानस्थलमा अवतरण  भएका छन्। उक्त विमान करिब दुई घण्टा पोखरामा विमानस्थलमा बसेर काठमाडौँ हुँदै बुधबारै चीनको छेङ्दु फर्किने छ।

उडानमार्फत हाल चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सांसदहरू प्रदीप यादव, धवलशमशेर जबरा, दीपा गुरुङ, उदयबहादुर बोहरा, हरिशङ्कर चौधरी र जीवन परियारसहित नौ जना समेत पोखरामा अवतरण गरेका छन् ।

पोखराबाट छेङ्दुमा व्यावसायिक उडानका लागि हाल हिमालय एयरलाइन्सले आन्तरिक तयारी गरिरहे पनि अन्य विदेशी हवाई कम्पनी उडान अनुमतिको प्रक्रियामा नआएको प्राधिकरणका प्रवक्ता निरौलाले बताए।

त्यस्तै गरी भारततर्फ सिधा उडानका लागि प्रधानमन्त्रीको भारत भ्रमणपछि पुनः अनुमति मागिएको र कूटनीतिक रूपमा छलफल भइरहेको छ।

विमानस्थल व्यावसायिक उडानका लागि तयार रहे पनि हवाई इन्धन भण्डारण डिपो बन्न नसक्दा अहिले झन्डै छ किलोमिटर टाढाको पुरानो विमानस्थलबाट ल्याएर जहाजमा इन्धन भर्नुपर्ने अवस्था छ। त्यस्तै गरी फ्लाइट क्याटरिङको जिम्मा लिएको सोल्टी क्राउनले समेत पूर्वाधार तयार गरिसकेको छैन।

हाल यो विमानस्थलमा आन्तरिकतर्फका बुद्ध, यती र सौर्यले नियमित उडान गर्दै आएको छ। विमानस्थल उद्घाटनका दिन नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो।

विमानस्थलमा न्यारो बडी एयर बस–३२०, बोइङ–७३५ विमान उडान र अवतरण गर्न सक्छन्। दुई हजार पाँच सय मिटर लामो धावनमार्ग रहेको यो विमानस्थलमा तीन ठूला र आठ साना जहाज पार्किङ गर्न सकिने जनाइएको छ।

यो विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवालाई आकर्षित गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले अवतरण, बिसान, सञ्चार तथा उड्डयन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा शतप्रतिशत छुट दिएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved