बजेट संशोधन गरेर पास गर्ने सम्बन्धमा कसले के भने ?

नेपालभ्युज

बजेट संशोधन गरेर पास गर्ने सम्बन्धमा कसले के भने ?

काठमाडौं । सांसदहरुले आर्थिक वर्ष २०८०/८१ को बजेट संशोधनसहित पारित गर्नुपर्ने धारणा राखेका छन् ।  संसदमा बजेट संशोधनसहित पारित गर्नुपर्ने आवाज उठिरहेको अवस्थामा न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले बजेट संशोधनसहित पारित गर्नु नै उपयुक्त हुने धारणा राखेका हुन् । यद्यपी बजेट संशोधन गर्ने कुरामा सत्तारुढ दलहरुको स्वार्थ बाझिएको हुनसक्ने पनि प्रतिपक्षी दलहरुले आशंका गरेका छन् ।

नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले सत्तारुढ दलका सांसदहरुलाई भागबण्डा पुर्‍यानका लागि बजेट संशोधन गर्ने कुरा गरिएको बताएका  छन् ।  प्रमुख सचेतक गिरीले सरकारले बजेट संशोधन गर्ने कुरा सुनिएपनि बजेटको आधारभुत पक्षहरुमा संशोधन गर्न नखोजिएको बताएका हुन् । उनले सत्तापक्षका सांसदहरुलाई आफ्नो निर्वाचन क्षेत्रहरुमा भागबण्डा पुर्‍याउनका लागि बजेट संशोधनको कुरा गरिएको बताए ।

‘बजेटको आधारभुत पक्षहरुमा संशोधन उहाँहरुले गर्न खोज्नुभएको छैन । सत्ता पक्षका सांसदहरुलाई उहाँका निर्वाचन क्षेत्रमा केही भागबन्डामा कुरा नमिले पछाडी त्यो भागबण्डा पुर्‍याएर यो बजेट पास गर्नेगरी प्रधानमन्त्रीले आश्वास दिनुभएको हो । मुलुकको अर्थतन्त्रमा देखिएका समस्या  समाधान गर्ने गरी बजेट नयाँ कोणबाट आउनुपथ्र्यो’ उनले भने,’सत्ता पक्षका माननीयज्युहरुका केही निर्वाचन क्षेत्रमा पैसा कम भएका कारण  त्यसमा उहाँहरुको असन्तुष्टि हो  त्यसैलाई संशोधन गर्ने  र सत्ता टिकाउनका लागि प्रधानमन्त्रीज्युले यो खालको कुरा राख्नुभएको हो । यसमा ठुलो आशा गर्नुपर्ने ठाउँ म देख्दिनँ ।’

त्यसैगरी  नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले बजेटलाई पुनःलेखन नै गर्नुपर्ने आफ्नो पार्टीको भनाइ रहेको बताए । उनले प्रतिपक्षी दलका सांसदहरुले संसदमा उठाएका विषयहरुलाई सरकारले सम्बोधन गर्नुपर्ने बताए । उनले बजेटमा प्रधानमन्त्री, अर्थमन्त्री, केही प्रभावशालि मन्त्री र सत्तापक्षकै प्रभावशाली नेता तथा सांसदहरुको अनुहार देखिएको टिप्पणी गरे । उनले सन्तुलित विकास गर्नुपर्नेमा जोड दिए ।

‘संशोधन गर्न आवश्यक छ । संशोधन योग्य नै अवस्था हो । यसतर्फ हामी प्रतिपक्षीहरुले पनि संसदमा उठाएका विषयहरु, जिज्ञासाहरुलाई सम्बोधन गरेर अगाडी बढोस् । त्यो हामी माग गर्न चाहन्छौँ’ उनले भने, ‘केन्द्रिय सरकारबाट एक लाख, दुई लाख, पाँच लाखको योजना पठाएर वडाले गर्नेभन्दा तल्लो तहको योजना जुन प्रकारले तल पठायो । यसले यो देशको संघीयताको मुल मर्मलाई आघात पारेको छ यस्ता कुराहरुलाई व्यवस्थित गरिनुपर्छ ।’

नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले बजेटले सत्तारुढ दलका धेरै सांसदहरुलाई असन्तुष्ट बनाएको बताए । उनले विधि र कानूनले दिएसम्म बजेटलाई परिमार्जन गरेर लैजानुपर्ने बताए । उनले बजेट छुट्याउन आवश्यक ठाउँहरुमा विनियोजन गरी सन्तुलन मिलाएर जानुपर्ने बताए ।

‘निति, कार्यक्रमदेखि लिएर प्राथमिकता र सिद्धान्तसम्म र बजेटसम्म आइपुग्दाखेरी त्यति सन्तुलन मिलेजस्तो अनुभुति भएको छैन । अर्थमन्त्रीले भने अनुसार बजेटमा विनियोजित भएका शिर्षकहरु हेर्दा मिलेको देखिदैनँ । म सत्तारुढ दलको सांसद भएको हुनाले पास गर्ने कुरामा हामीले समर्थन गर्नुपर्छ’ उनले भने, ‘तर यो बजेट जसरी विनियोजन भयो, कि त कुनै ठोस शिक्षा, स्वास्थ्य, रोजगार जस्ता ठाउँमा फोकश हुनुपथ्र्यो । हामी सबैले मान्थ्यौँ । मेरो क्षेत्रमा बजेट नगएपनि जनताको क्षेत्रमा काम भयो भन्ने भएको भए त राम्रो हुन्थ्यो नि । न जनताको क्षेत्रमा फोकस भएको पायौँ, न क्षेत्रको अनुपातिक सन्तुलन मिलाइयो ।’

त्यस्तै नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले पूर्वाधार विकास क्षेत्रको बजेट असन्तुलित भएको बताए । उनले बजेटलाई सन्तुलित बनाउन सांसदहरुले माग गरिरहेको उल्लेख गरे। उनले कानूनी उपायहरुको खोजी गरेर बजेटलाई सन्तुलित बनाउनुपर्ने बताए ।

‘खासगरी बजेटको पनि पूर्वाधार विकास क्षेत्रतिरको रकम विनियोजन ज्यादै नै असन्तुलित भयो । कतिपय निर्वाचन क्षेत्रमा अर्ब हाराहारी । कतिपयमा करोड पनि छैन । त्यो कुरा अन्याय र असन्तुलित भएको कुरा त स्वभाविक, जायज ढंगले छलफल चलिराखेकै छ । त्यसलाई सन्तुलित बनाउनुपर्छ भनेर हामी सबै सांसदहरुले भनिरहेकै छौँ ‘ उनले भने, ‘संशोधन नै गरिहाल्ने नजिर र प्रचलन छैन । कानूनी ल्याकिङहरु छ । यसलाई समेत मध्यनजर गरेर मिलाउनुपर्छ भन्ने आवाज सरकारमा परिराखेको छ । मलाई लाग्छ केही कानूनी उपायहरुको खोजी गरेर सन्तुलित बनाउनुपर्छ बजेट । पूर्वाधार क्षेत्रका रकम विनियोजन ज्यादै असन्तुलित छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले आजसम्म बजेट संशोधन भएको आफूले नदेखेको भन्दै बजेटलाई संशोधन गर्नु गल्ती हुने बताए । ‘जहिले पनि महत्वकांक्षी बजेट आउने अनि कार्यान्वयन नहुने अनि त्यसको आकार घट्ने हिसावको छ । बजेट संशोधन भएको अहिलेसम्म हामीले देखेको छैन । अहिलेसम्म संशोधन भएको रेकर्ड देखेको छैन’ उनले भने,  ‘अहिले यो संशोधन हुन्छ । अथवा संशोधन गर्ने तयारी मिडियामार्फत न्युजहरु हेरिरहेको छु । त्यो हुन्छ भने त ब्लन्डर हो जस्तो लाग्छ मलाई ।’

जनता समाजवादी पार्टी,नेपालकी सांसद सुशीला श्रेष्ठले संसदमा छलफलपश्चात बजेट संशोधन गर्दा राम्रो हुने धारणा राखिन् । उनले बजेट संशोधन हुँदा सांसदहरुको गरिमा बढ्ने पनि बताईन् ।

‘संसदमा सोचेजस्तो बजेट आएको छैन । संसदमा बजेट अहिले संशोधन गर्नुपर्छ भन्ने कुरा आएको छ । तर बजेट संशोधन गर्नु ठिक कि बेठिक भन्ने सवाल पनि उठेको छ । मन्त्रालयले तयार पारेको बजेटलाई संशोधन गर्दाखेरी सरकारले ल्याएको बजेट सरकारले नै संशोधन गर्ने कि नगर्ने भन्ने कुरा पनि आएको छ’ उनले भनिन, ‘तर मेरो कुरा सरकारले बनायो, हामी संसदमा छलफल गरेर ताली मात्रै बजाउने होइन नि । छलफल गरेर फेरि संशोधन गर्न पाउँदा राम्रो हुन्छ भन्ने मलाई लाग्छ । र सांसदहरुको गरिमा बढ्छ भन्ने लाग्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved