सन्दर्भ : दरबार हत्याकाण्डको २२ वर्ष

२४ वर्ष दरबारमा बिताएका खिलनाथ सम्झन्छन्- ‘रातभर बिरामी भनियो, बिहान कोही बाँचेनन्’

दरबार हत्याकाण्ड हुनू १५ दिनअघि दरबारका १७ वटा दुहुनो गाई एकैपटक मरे । त्यसलाई किर्नाले मरेको भनेर अर्थ लगाइयो । तर, खिलनाथ भन्छन्, “त्यो सत्य थिएन ।”

२४ वर्ष दरबारमा बिताएका खिलनाथ सम्झन्छन्- ‘रातभर बिरामी भनियो, बिहान कोही बाँचेनन्’

काठमाडौं । २०५८ जेठ १९ को राति काठमाडौं महाङ्कालका ७२ वर्षीय खिलनाथ नेपाल नारायणहिटी दरबारभित्रै थिए । दरबारभित्रको काम बाँडफाँडमा उनी गाईगोठतिरका प्रमुख अर्थात् दरबारको भाषामा नाइके थिए । त्यतिबेला दरबारको गोठमा ५५ वटा गाईमध्ये २६ वटा गाई दुहुना थिए । तिनका हेरचाह र दूध दुहुने, तत्कालीन राजा वीरेन्द्र बस्ने श्री सदन र उनकी आमा रत्नको कुटीमा दूध पुर्‍याउने र दही तथा मही बनाउने २१ जना कर्मचारी थिए । खिलनाथको जिम्मेवारी तिनै २१ जनालाई काम बाँडफाँड गर्नु थियो ।

सधैँजस्तो खिलनाथले बिहान गाईको दूध दुहेपछी राजा वीरेन्द्र, रानी ऐश्वर्यसँगै उनका छोरा दीपेन्द्र र निराजन बस्ने श्री सदनमा ४ माना दूध पुर्‍याउन सहयोगीलाई पठाए । बिहान ६ बजे अगाडी दूध छाडेर भाँडो फिर्ता ल्याउनुपर्ने कर्मचारी रित्तो फर्किएपछि खिलनाथको मनमा चिसो पस्यो ।

अघिल्लो दिन जेठ १९ को राति दरबारमा भोज थियो । त्यही समयमा गोलीका आवाज आएको पनि खिलनाथले सुनेका थिए । तर, दरबारभित्रका सेनाले अरुबेला पनि पड्काउने गरेकोले खिलनाथ र अन्य सहयोगीले त्यति ध्यान दिएनन् ।

यद्यपि,भोजमा गिलास पुर्‍याउन जाने, महँगा रक्सी गिलासमा राखिदिने र भान्सेले युवराज दीपेन्द्रबाट कुनै अप्रिय घटना घटाएको र दरबारका केही सदस्य घाइते भइ अस्पताल लगिएको गाइँगुइँ हल्ला चलाइसकेका थिए । दरबारभित्रको कुरामा त्यसरी होर होइन वा देखेँ भन्ने अवस्था हुन्नथ्यो । त्यसैले खिलनाथले पनि अन्य केही सोचेनन् ।

तर, बिहान दरबारको बाहिर ढोकामा रहेको नारायणथान मन्दिरमा बाबुकाजी श्रेष्ठ (जो नैकापका हुन्) आएर घण्टी बजाएर पूजा गर्न थाले अनि अर्का सहयोगीले ‘कहाँ घण्टी बजाएको सरकारहरू सबैको मृत्यु भयो भन्छन्, तिमीले केही थाहा पाएनौ ?’ भनेपछि खिलनाथ आत्तिए ।

त्यो कुरा खिलनाथको कानमा ठूलो बज्रपातजस्तै गरी ठोक्कियो । उनको लागि धर्ती भासिएकोजस्तो भयो र थचक्कै भुइँमा बसे। अघिल्लो दिन मात्रै राजा वीरेन्द्रले हँसिलो मुद्रामा खिलनाथसँग गफ गरेका थिए । राजा वीरेन्द्र र रानी ऐश्वर्य मात्रै होइन, उनका छोराहरू दीपेन्द्र र निराजन तथा छोरी श्रुतीको समेत प्रिय थिए खिलनाथ ।

दरबारको गाईको हेरचाह अनि दूध, दही र महीको जिम्मेवारी २०३४ सालदेखि खिलनाथले नै हेर्दै आएका थिए । उनलाई दूध कसले कति खान्छ र कसरी खान्छ भन्ने कण्ठै थियो । वीरेन्द्रले चाहिँ दूध खादैन थिए । उनी दहि र मही मात्रै खाने । तर, ऐश्वर्यले एकपटक भुलुक्क उम्लिएको दूध खाने र दीपेन्द्र अनि निराजनलाई चाहिँ धेरै समय पाकेको बाक्लो दूध मनपर्ने खिलनाथ सुनाउँछन् । “वीरेन्द्रले कहिल्यै दूधमा ध्यान दिएको थाहा पाइन, तर ऐश्वर्यले उम्लिएको १ माना दूध पिउने र आमा रत्नराज्यलक्ष्मीले चाहिँ ३ माना दूध पकाएर १ माना बनाएको बाक्लो दूध नियमित पिउने गरेको याद छ,” उनी भन्छन्, “छोराहरू दीपेन्द्र र निराजनचाहिँ खेलकुद र शारीरिक व्यायाम गर्ने भएकोले अलि बढी पाकेको दूध मन पराउँथेँ ।”

खिलनाथकाअनुसार दरबारमा पालिएका गाईबाट दैनिक ४५ देखि ६० लिटरसम्म दूध हुन्थ्यो । त्योमध्ये श्रीसदनमा ४ माना बिहानै पुर्‍याउनुपर्ने, रत्नको कुटीमा ३ माना र बाकी पुतली ढोकामा लगेर छाड्नुपर्ने । त्यहीँबाट दही जमाउनेदेखि दरबारका आफन्त, सेनाका जर्नेल, दरबारका पुरोहित र अन्यले भाग पाउँथे ।

दरबार हत्याकाण्डको भोलिपल्ट जेठ २० गते बिहान श्रीसदनबाट मात्रै होइन, रत्नको कुटीबाट पनि दूध छाडेको भाडो फिर्ता आएन । “त्यसपछि दरबारभित्रै हल्ला फैलियो कि राजपरिवारका सदस्य सबैको राति नै मृत्यु भयो । हल्ला त यतिसम्म भएछ कि आमा रत्नले समेत छोरा बुहारी र नाति-नातिनी  गुमाएको पीडामा हिरा सेवन गरेर प्राण त्यागिबक्स्यो,” खिलनाथ भन्छन्, “हामीलाई राति बिरामी भनियो, तर बिहान मृत्यु भइसक्यो भनेर हल्ला फैलियो । तर, आमा रत्नलाई मेरै आँखाले देखेको हुँदा त्योचाहिँ पत्याइनँ र मलाई छटपटी भएपछि घर हिँडेँ ।”

दरबार हत्याकाण्डपछि खिलनाथको मनमा धेरै कुरा खेल्दै गयो । कयौं रात सुत्न सकेनन्, सुतेर पनि निदाउन सकेनन् । दरबारमा युवराज दीपेन्द्र र उनकी आमा ऐश्वर्यको बीचमा विवाद बढ्दै गएको कुरामा खिलनाथ जानकार थिए । नाताभित्रकै एक युवतीसँग दीपेन्द्रको हिमचिम त्यसपछि अर्की युवतीको कुरा, बिदेशी युवतीसँगको प्रेमबारे आमा ऐश्वर्य र बहिनी श्रुतीलाई थाहा थियो । त्यही विषयमा विवाद हुँदा दरबारमा सबैलाई मार्छु/म पनि मर्छु भन्ने धम्की दीपेन्द्रबाट आइरहन्थ्यो । तर, दरबार हत्याकाण्ड त्यसैको परिणाम हो भन्नेचाहिँ खिलनाथलाई लाग्दैन । दीपेन्द्रले नै वंश नास गरेका हुन् भने दीपेन्द्रलाई गोली हान्ने को थियो होला त ? खिलनाथ यसको जवाफ खोज्दैछन् ।

दरबारभित्रको कुरामा के-कसो भनेर नबोलेकै राम्रो भन्ने ठानेर खिलनाथले कसैसँग यो विषयमा राम्रो/नराम्रोको बहस गरेका छैनन् । तर, उनलाई एउटै कुरा मनमा खेलिरहेको छ कि त्यति भद्र र शालिन राजा वीरेन्द्रलाई मार्ने युवराज दीपेन्द्र नै हुन् भनेर कसरी पत्याउने ?

दरबार हत्याकाण्ड हुनू १५ दिनअघि दरबारका १७ वटा दुहुनो गाई एकैपटक मरे । त्यसलाई किर्नाले मरेको भनेर अर्थ लगाइयो । तर, खिलनाथ भन्छन्, “त्यो सत्य थिएन ।”


त्यसको केही समयपछि निराजनको घोडा मर्‍यो, त्यसको भोलिपल्ट श्रुतीको घोडा पनि मरेको थियो । यो कुराले दरबारमा भयंकर ठूलो अनिष्ट निम्तिने खतरा खिलनाथलाई लागेको थियो । वीरेन्द्रको घोडाचाहिँ दरबार हत्याकाण्डको ३ दिनपछि मर्‍यो । त्यसको केही समयपछि वीरेन्द्रको कुकुर र ऐश्वर्यले पालेको अर्को कुकुर पनि मर्‍यो । दरबार हत्याकाण्डले वीरेन्द्रको परिवारसँगै उनले माया गर्ने जनावरसमेतले खिलनाथलाई छाड्दै गएपछि २०५८ चैतदेखी खिलनाथले समेत जागिर छाडे ।

ओखलढुंगाबाट २०२८ सालमा काठमाडौंसम्मको ४५ कोषको बाटो ४ दिनमा पैदल हिँडेर आएका खिलनाथ तिनै कर्मचारी हुन्, जसले दरबार हत्याकाण्ड पछि राजा भएका ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई कहिल्यै बिन्ती चढाएनन् । दरबारका सदस्यको जन्मोत्सव वा चाडपर्वमा दाम चढाउने  परम्परालाई पनि खिलनाथले तोडिदिए । उनी ओखलढुंगाबाट काठमाडौं आउँदै गर्दा तत्कालीन राजा महेन्द्रको मृत्यु भएको खबर बाटोमै सुनेर कपाल मुण्डन गरेका थिए ।

ओखलढुंगादेखि काठमाडौं आउँदा सिन्धुलीको झाँगाझाेली रातमाटा भन्ने ठाउँमा आइपुग्दा बाटोमै रोकेर स्थानीयले ‘राजा मरेको बेला किन कपाल नखौरिएको ?’ भन्दै बाटोमै उनको कपाल खौरिदिए । ओखलढुंगादेखि काठमाडौंसम्म मात्रै होइन खिलनाथले २०३४ देखि २०५८ सम्म दरबारमा जागिरे रहेका बेला काठमाडौंको महाङ्कालदेखि नारायणहिटीसम्म २४ वर्ष पैदलै हिँडेर बिताए ।


Comment

2 thoughts on “२४ वर्ष दरबारमा बिताएका खिलनाथ सम्झन्छन्- ‘रातभर बिरामी भनियो, बिहान कोही बाँचेनन्’

  1. दरबारमा युवराज दीपेन्द्र र उनकी आमा ऐश्वर्यको बीचमा विवाद बढ्दै गएको कुरामा खिलनाथ जानकार थिए । नाताभित्रकै एक युवतीसँग दीपेन्द्रको हिमचिम त्यसपछि अर्की युवतीको कुरा, बिदेशी युवतीसँगको प्रेमबारे आमा ऐश्वर्य र बहिनी श्रुतीलाई थाहा थियो । त्यही विषयमा विवाद हुँदा दरबारमा सबैलाई मार्छु/म पनि मर्छु भन्ने धम्की दीपेन्द्रबाट आइरहन्थ्यो ।

  2. रोचक प्रसङ ताथय के हो गुप चुप भये पनि घतना रह्त्शय को पिदा भेत्र गुप चुप छ हामीले सब भोग्नु पर्दछ हामी भोगी रहन्छौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved