प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, राज्यमन्त्रीले गरिन् स्वागत

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, राज्यमन्त्रीले गरिन् स्वागत

नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली आइपुगेका छन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली बुधबार स्थानीय समयानुसार दिउँसो साढे २ बजे राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली आइपुगेका हुन्।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका उनलाई भारतीय परराष्ट्र राज्यमन्त्री मीनाक्षी लेखी, राजदूत शंकर शर्मा, दूतावासका कर्मचारी, प्रवासी नेपालीलगायतले भव्य स्वागत गरेका छन् ।

अब प्रचण्ड नेतृत्वको टोली सीधै सरदार पटेल मार्गमा रहेको होटल मौर्यमा पुग्नेछ । प्रचण्डसहितका अतिथिहरूलाई भारत सरकारले होटल मौर्यमै बस्ने व्यवस्था मिलाएको छ । सोही होटलमा साँझ ६ बजे भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्री प्रचण्डलाई छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले प्रधानमन्त्री प्रचण्डसँग करिब आधा घण्टा छलफल गर्ने समय निर्धारण गरिएको छ ।

हैदरावाद हाउसमा बिहान ११ बजे प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुनेछ । प्रचण्ड र मोदीबीच आधा घण्टा भेट्ने समय छुट्याइएको छ । नयाँ जनमतपछि प्रधानमन्त्री भएका प्रचण्ड पहिलोपटक विदेश भ्रमणमा भारत आएका हुन।

भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरू पनि सहभागी छन् । टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाललगायत छन्।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ २० गते स्वदेश फर्किने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved