निर्देशकसँगै बसेर ‘डाकिनी’ खोजी हिँड्दा…

बुद्धिज्मलाई धर्म मान्थे त उनी सिनेमा नै पो कसरी बनाउन सक्थे ? धर्मले त बार हाल्छ, बन्धन लगाउँछ। उनी त विद्रोही हुन्। नत्र एउटा भिक्षु कसरी डुल्छ देश-विदेश क्यामरा बोकेर ? कसरी हेराउँछ भिक्षुहरूलाई वर्ल्ड कप  ? कसरी भन्छ मुस्लिम र हिन्दूको प्रेमकथा ?

निर्देशकसँगै बसेर ‘डाकिनी’ खोजी हिँड्दा…

फिक्सन डिजाइनर कुमार नगरकोटीले इज्मेराल्दालाई वर्षौंअघि चिठी लेख्दा बुद्धिस्ट फिल्ममेकर साधुको ‘ट्राभलर्स एन्ड मजिसियन’ फिल्म हेर्न सुझाएका थिए। इज्मेराल्दालाई लेखेको भएर हो कि खै किन पो हो मैले त्यसबेला उनको सुझावलाई सिरियस्ली लिइनछु। सिनेमा हेर्न आएको सुझावलाई सिरियस्ली नलिनू? यो भने साच्चै नै सिरियस्ली प्रायश्चित गर्नुपर्ने कुरा हो। मैले त्यतिबेला आफैँलाई इज्मेराल्दा सम्झिन सक्नुपर्थ्यो।

खैर…तिनै नगरकोटीको तान्त्रिक सहर पाटनमा तिनै फिल्ममेकर भिक्षु- खेन्त्से नोर्बु रिन्पोछे आफ्नो कथामार्फत् आइपुगे ‘डाकिनी’ खोज्न! ‘डाकिनी’ अर्थात् अ लेडी विथ फ्याङ्स एण्ड मस्टाच! मुवी लभर्सले आयोजना गरेको स्पेसल स्क्रिनिङमा फिल्म हेरिसकेपछिको मास्टर क्लासमा रिन्पोछेलाई सुन्न आतुर थिएँ।

ब्युटीफुल सिनेमा हेराएर दर्शकलाई ट्र्यापमा पारेका रिन्पोछेले ‘ब्युटी इज अ ट्र्याप’ शीर्षकमा बोल्दैथिए। खैर, यो एंगलबाट खिच्दा मात्र सुन्दर आउँछ, यस्ता टेक्निकमा खिचिएका सट्स मात्र सुन्दर हुन्छन् भन्ने सौर्न्दर्य मापनका स्थापित क्लिसेहरूबाट बाहिर निस्किँदा पनि सौन्दर्यसँग साक्षातकार नहुने होइन। रिन्पोछेलाई आखिर यो बुझाउन रहेछ।

मलाई त्यस दिन फिल्मको ब्युटीमाथि ज्यादा सुन्न मन थियो। तर, मलाई सुन्न मन लागेको कुरा, लाग्यो, मैले नै सोध्नुपर्छ। अभिनेता रविन्द्रसिहं बानियाँलाई सोधेँ- रिन्पोछेसँग भेट्न सकिएला? फलतः बुधबार बिहानै ठिक १० बजे सेचेन गुम्बा बौद्ध पुगेँ।

युनिभर्सल थिम

मास्टर क्लासमा रिन्पोछेले भनेका थिए- ‘युनिभर्सल थिम इज अ लिमिटेसन।’ यसरी बुझाएको सम्झना ताजा छ, ‘स्टारबक्समा गए कफीको स्वाद कस्तो हुनेछ अर्डर गर्नुपूर्व नै थाहा हुन्छ। नौलो स्वाद केही पाइनेछैन। युनिभर्सल थिममा बनेको फिल्म स्टारबक्स हो। तर, अर्गानिक स्वाद खोज्नु छ भने तपाईं भियतनाम जानुस् र अण्डा हालेको कफी चाख्नुहोस्!’

यो उदाहरण मेरो अवचेतनमा यसरी बसेछ कि भोलिपल्ट मैले अण्डा कफी बनाएँ र स्वाद लिएँ! वाह! अर्गानिक! अर्गानिक? बट् वेट्! कसरी अर्गानिक? यो त भियतनामी कफीको रिमेक हो। तर पनि, मेरो लागि त नौलो स्वाद हो नि!

रिन्पोछेलाई मेरो पहिलो प्रश्न नै यही थियो, “मास्टरक्लासमा युनिभर्सल थिम इज अ लिमिटेसन भन्नुभएथ्यो। खाली उही सिन्ड्रेलालाई फरक भेषभुषा, फरक भाषा दिएर रिमेक बनाउने कल्चरले अर्गानिक स्वाद खोज्न बाधा पुर्याउँछ। तर रिन्पोछे, एउटा मात्र भए पनि कहीँ त्यस्तो बिन्दू हुनसक्ला त, जहाँ ‘रिमेक कल्चर’ को पनि केही महत्ता होस्?”

अनि रिन्पोछेले भने, “हो, युनिभर्सल थिमको नाममा एउटै कुरा बारम्बार देखाइँदैछ। तर, कुनै दिन युनिभर्सल थिम भन्ने कुरा पनि फेरिनेछ। अर्गानिक स्टोरी पनि कुनै दिन युनिभर्सल थिम बनेर आउन सक्नेछ।” वाह! कति छोटो-मीठो जवाफ। रिमेक नै भए पनि स्टारबक्सको होइन, अण्डा कफीको होस्, हिमाली मखन चियाको होस्! तब पो रिमेक!

ब्युटी इज अ ट्र्याप

ब्युटी इज अ ट्र्यापबारे फेरि पनि कुरा भयो। रिन्पोछेका अनुसार सौन्दर्यको परिभाषासमेत युनिभर्सल थिमजस्तै पश्चिमले लादेको परिभाषा हो। उनलाई लाग्छ दक्षिणको आवाज एकीकृत हुन जरुरी छ, सौन्दर्यको विश्व-परिभाषा फेरिन जरुरी छ। फिल्मकी नायिकालाई अभिनेत्रीले र फिल्मको नायकलाई अभिनेताले प्रतिस्थापन गर्न जरुरी छ। शाब्दिक तहमा मात्र नभएर प्रयोगात्मक तहमा पनि!

फिल्मको मुख्य पात्र जरुरी छैन कि सधैँ गोरो, चिल्लो, सुकिलो, मुकिलो नै हुनुपर्छ। फिल्मको मुख्य पात्र चाउरे वा च्याँसे हुन पाउँछ। वा हुन पाउँछे काली, चिम्सी या पुड्की। सम्बन्धित पात्रलाई न्याय गर्ने हुलिया र अभिनय हुनुपर्यो, बस्!

रिन्पोछे भन्छन्, “सौन्दर्य पनि भूराजनीतिले परिचालित छ। भूराजनीति अर्थले र अर्थ परिचालित छ अर्थतन्त्रले।” कहिले श्रीलंका, कहिले, भुटान, कहिले, भारत, कहिले नेपालमा कथा र पात्र खोज्दै हिँड्ने उनी ग्लोबल साउथ भ्वाइसमा विश्वास गर्छन्। साच्चै, यो आवाज आजैबाट उठाउन नथाल्ने हो भने, अहिले भारतमा जस्तै भोलि नेपालमै पनि (विशेषगरी) अभिनेत्रीहरूले प्लास्टिक सर्जरी गराए भन्ने शीर्षकमा लस्करै समाचार नछापिएला भन्न सकिन्न।

यो धेरै नै बाहिर जान खोज्यो। आउनुस्, हामी भित्रै पसौँ। डाकिनीभित्र। डाकिनी- चलचित्रको केन्द्रीय पात्र जो स्क्रिनमा देखिएकी छैन। तर, ऊ वर्णित जरुर भएकी छे। एउटी त्यस्ती स्त्री, जसका ओठमाथि जुँगा पलाएका छन्। जो हाँस्दा दायाँ-बायाँ नै तिखा तिखा कुकुर दाँत देखिन्छन्।

अथवा त्यस्ती स्त्री जो स्त्री नै पनि नहुन सक्छे। ऊ तीखो, सुरिलो र नम्र आवाजमा समेत नबोल्न सक्छे। तर, रूपमा के राखेको छ र ? आवरणमा के नै राखिएको हुन्छ। ऊ जस्ती भए पनि योग्य छे कोहीबाट रातो फूल उपहारमा पाउन। कसैले उसका लागि गीत गाइदियोस्- ऊ अझै काबिल छे यसकालागि। कसैले उसलाई शृगांरका सामग्री उपहार देओस्, गहना दिलाओस्- ऊ योग्य छे त्यसका लागि। ऊ सामान्य अथवा भनौँ तथाकथित सुन्दर स्त्रीहरू जत्तिकै काबिल छे प्रेम गरिनका लागि, सम्मानसहित हेरिन, बुझिनका लागि।

यो त बस् सौन्दर्यको कुरा भयो । डाकिनीभित्र सौन्दर्य छ तर सौन्दर्य मात्रै छैन। पत्र-पत्र छन् वास्तवमा। तर, बिस्तारै उप्काउँदै गरौँला हतार के छ? हामीलाई त रिन्पोछेसँग कुरा गर्नु पनि त छ।

फिल्ममेकिङ

सोध्छु, “रिन्पोछे, तपाईंका फिल्महरू अरूभन्दा बेग्लै लाग्छन्। भिन्न लाग्छन्। कसरी यो भिन्नता? फिल्ममेकिङमा पक्कै तपाईंको कुनै आफ्नै स्टायल हुनुपर्छ?”

भन्छन्, “आजसम्म यही हो मेरो स्टायल भन्ने गरी त केही भेट्टाइसकेको छैन। तर, फास्ट र स्लोको बीचतिरबाट कतै कलात्मक तरिकाले बग्छन् होला दृश्य। व्यस्त सहरमा घटनाहरू पनि द्रुत गतिमा घट्छन् होला तर, त्यहाँपनि कुनैबेला त घटनाहरू सुस्त हुनसक्छन्। त्यो मध्यमार्ग चिनेर दृश्य बग्छन् होला।”

रिन्पोछेको जवाफ मीठो हो। तर, मैले खोजेको मीठास पाउन अर्को बाटो हिँडी हेर्छु, “सामान्यतया चलिआएको जस्तै स्कृप्ट लेखेर, आफ्नो कास्टलाई लाइन र डायलग्सअनुसार जान निर्देशन दिनुहुन्छ या केही फरक छ तपाईंको तरिका?”

“नाइँ, नाइँ। म त असाध्यै कम लेख्छु। अभिनेताले नै निर्णय गर्छन्। हुन त उनीहरूकै हातमा छोड्दा एउटा खतरा त अवश्य रहिरहन्छ नै। कता के मिल्दिँदैन र फेरि काट्नुपर्छ। बजेटलाई पनि यसले प्रभाव पार्छ। म त पकेटमा बजेट लिएर फिल्म बनाउने मान्छे। तर, सायद मेरो तरिका नै यही हो- घटनाहरूलाई नियन्त्रण गरिरहनुभन्दा पनि आफ्नै हिसाबले घट्न छोडिदिनु!”

रिन्पोछेले त्यो दिन पनि भनेथे मास्टरक्लासको दौरान कि ३ घण्टाको फिल्मलाई १ घण्टा ५३ मिनेटमा छोट्याइएको हो। अभिनेताहरूको हातमा धेरै कुरा छोडेपछि काट्नपर्ने हुन्छ भन्दै गर्दा मैले डाकिनीको एउटा दृश्य सम्झिएँ। विवाहको त्यो दृश्यमा अचानक तेन्जिङको बिजनेश पार्टनर रविन्द्र फेमिनाइन हुलियामा शृंगारसहित देखिँदा अचम्म लागेको थियो। त्यो दृश्यबारे सोध्दा रिन्पोछेलगायत मिटिङ हलमा उपस्थित सबैजना मज्जैसँग हाँसे। त्यसपछि रिन्पोछेले भने, “कुन्नि! रविन्द्र अचानक त्यस दिन किन त्यस्तो हुलियामा आइपुगेको थियो।”

फ्याँकिएको १ घण्टाको दृश्यमा पो सायद जवाफ थियो कि? तर, प्रश्न बन्छ भन्ने थाहा हुँदाहुँदै त्यही दृश्यचाहिँ काटेर फ्याँक्न पनि केहीले रोक्यो पो होला! सायद, विवाहको दृश्य नहुन्थ्यो भने रविन्द्रलाई त्यो हुलियामा देख्न पाइने थिएन। कथा सायद त्यता बगेन जता बगाउन खोजिएको थियो। खैर, जता बगेको छ, त्यता दर्शक अवश्य तानिन्छन्। तपाईंको मन मान्छ भने, यसलाई एउटा नगण्य गल्ती मान्दै नगन्न पनि सकियो।

फ्याक्ट चेक

साच्चै, विवाहको दृश्य कति महत्त्वपूर्ण थियो? म यसलाई थोरै घुमाएर सोध्छु, “कुकुरसँग विवाह गराउनु, विम्बात्मक हिसाबमा मात्रै आएको हो या त वास्तवमै त्यस्तो संस्कार पनि छ?”

“ओहो! छ नि। तपाईंलाई थाहै हुनुपर्ने हिमाली भेगतिर यो संस्कारको अभ्यास हुन्छ।” त्यसो त नेपालमै पनि उहिले उहिले थारू समुदायमा मृत्युलाई ३ दिन पछि धकेल्न भनी वृद्धहरूले कुकुरसँग विवाह गर्ने प्रचलन रहेको थियो भनिन्छ। भारतमा पनि यस्तो संस्कारको अभ्यास पाइन्छ। काठमाडौं उपत्यकामा देख्नु भने नौलो लागेको हुनसक्छ। तर, काठमाडौं त काठमाडौं मात्र कहाँ हो र, नौलो मान्न पाऊँ?

म्युजिक इन सिनेमा

रिन्पोछेको यो पाँचौं फिचर सिनेमा हो। ‘द कप’, ‘ट्राभलर्स एण्ड मजिसियन’, ‘वर: अ ब्लेसिङ’, ‘हेमा हेमा सिङ मि अ सङ ह्वाइल आइ वेट’, हुँदै हुँदै ‘डाकिनी’ सम्म आइपुग्दा उनका सिनेमामा पाइने एउटा अभिन्न अंग संगीत हो जस्तो लाग्यो मलाई। र एक दर्शकको आँखाले हेर्दा उनका फिल्ममा संगीत स्वभाविक आएको देखेँ। कतै बल गरेर छिराइएको जस्तो वा भनूँ कथामा जबर्जस्ती भिराइएको जस्तो देखिँदैनन्। तर, एउटा फिल्ममेकरको नजरमा भने सिनेमामा संगीतको भूमिका के हो र कस्तो हुनुपर्छ?

यो प्रश्नमा उनी यसरी जवाफिन्छन्, “कतिपय मेक्सिकन फिल्महरूमा संगीत प्रयोगात्मक तरिकाले राखिएका पाइन्छन्। जस्तो कि पृष्ठभूमिमा रेडियो बजिरहेको होस्, र त्यो रेडियोबाट संगीत यसरी बजोस् मानौँ संगीत वातावरणमा मिसाइएको कुरा होइन बरु वातावरणकै एउटा हिस्सा हो। मलाई लाग्छ, सिनेमामा संगीतको भूमिका भनेको दर्शकलाई स्पेस दिनु हो।

त्यस्तो ठाउँ जहाँ दर्शकले श्वास फेर्न सकून्। कथाको मर्म, पात्रको संवेदनालाई ग्रहण गर्न दर्शकलाई मानौँ संगीतले समय दिन्छ। निर्देशकले के भन्न खोजेको हो र दर्शकले के बुझिरहेका छन्? यी दुई कुराबीच एउटा सन्तुलन निर्माण गर्न सायद संगीतले राम्रो भूमिका खेल्न सक्छ।”

साँच्चै, त्यो चिया पसलको दृश्यमा बजिरहेको संगीत! रातिको समयमा नदीमा दियो-बत्तीहरू सल्बलाउँदै बग्दै गर्दाको संगीत! सिनेमालाई यदि तरकारी मान्न सकिन्छ भने डाकिनीमा पक्कै संगीत मसला बनेर होइन नुन बनेर आएको छ।

कलर्स इन सिनेमा

त्यसो त नदीमा दियो सल्बलाउँदै गर्दाको त्यो दृश्यले दर्शकलाई भ्यान गगको ‘द स्ट्यारी नाइट’ पनि सम्झाउन सक्छ है। सिनेप्रेमीसँगै तपाईं चित्रकलाप्रेमी पनि हो भने त्यस्ता अनेक दृश्यमा अनेक चित्रकार र तिनका चित्र तपाईंलाई याद नआउला भन्न सकिन्न। चित्रकलाको कुराले सम्झिएँ, फिल्ममा कलर कम्बिनेसन र कलर करेक्सनको काम पनि कति मीठो! या भनुँ मनमोहक! हेरेर नअघाइने।

सोध्छु, “सिनेमामा रंग संयोजनको महत्त्व के हो?” भन्छन्, “रंगले मुडमा प्रभाव पार्ने हो। कतिपय ठाउँमा कलर करेक्सन पनि गरिएको छ। त्यो यसैत्यसै गरिएको होइन। कलर करेक्सन गर्ने निर्णय एउटा ठूलो निर्णय हुन्छ। जुन सचेत भएर होसपूर्वक गरिएको हुन्छ।” उनी थप्छन, “जस्तो तपाईंले आज यही रंगको टिसर्ट किन लगाउनुभयो।”

घर फर्केर मैले ॐ निप्रेजेन्ट मास्टर गुगललाई सोधेर थाहा पाएँ कि बैजनी रंगले अध्यात्म र सिर्जनात्मकतालाई एकैसाथ जनाउनेरहेछ। बौद्ध गुरु ध्यानी फिल्ममेकरसँग भेट्दालाई रंग त पक्कै ठीक रोजेछु झैं लाग्यो। खैर, डाकिनीभित्र जंगल र पहाडहरूको शृंखलाको दृश्यमा देखाइएको त्यो सेड्स अफ ग्रिन, नदीको निलो, बत्तीहरूको पेहेंलो, पानी र धुवाँको सेतोले पात्र र दर्शकबीच समानान्तर संवेदना जगाइदिन्छन्। रंग संयोजन होसपूर्ण थियो, यसमा दुईमत राख्न फिल्मले कुनै ठाउँ छोडेको छैन।

काठमाडौंको कुरो

“बुद्धिजमको कथा भन्न नेपाल आइपुग्नुभयो। तर, उपत्यका र आसपासमै डुलिरहनुभयो नि?” भनेर सोध्दा उनी भन्छन्, “बुद्धिजम भन्दा पनि तान्त्रिक बुद्धिजमको कथा हो। र काठमाडौं उपत्यका आफैँमा एउटा तान्त्रिक शहर। जहाँ क्यामरा तेर्स्यायो त्यहीँ मोहनी लगाउने दृश्यहरू! काठमाडौंको सौन्दर्य नै मोहक। लिन मात्र सक्ने हो भने काठमाडौंले दिन त जति पनि सक्छ। बस् लिन जान्नुपर्यो!”

हुन पनि हो, फिल्मका सट्सहरू हेर्दा यस्तो लाग्छ कि अहो! यसरी हेर्न जान्दा त राजधानी २००% पनि सुन्दर देखिन सक्नेरहेछ नि!

अध्यात्म

फिल्मकै कुरा गरूँ। जब तेन्जिङ डाकिनी खोज्न भनेर निस्किन्छ तबदेखि भने अचानकसँग उसलाई सपनाले लखेट्न छोड्छ। खसखस लाग्छ तर रिन्पोछे बताउन चाहँदैनन्। यत्ति भन्छन्, यो एउटा ट्रिक हो कथा भन्ने। हुन पनि निर्देशकले सोझै यसले यो भन्न खोजेको हो भन्न परे त कथावाचन शैलीको त के औचित्य, होइन? आउनुस्, हामी आफै खोतलौँ।

तेन्जिङलाई दिनमै अनेक अजीब सपनाले लखेटिरहेको थियो। सपना ठ्याक्कै यही वा यस्तै भन्ने छैन। सपना सपना जस्तै छ। तर, उसलाई लाग्छ उसकी मरिसकेकी दिदीले उसलाई सपनाको माध्यमबाट पछ्याइरहेकी छ। मरिसकेको मान्छेको झझल्को लाग्नु तराना लाग्नु, फिल्ममा पात्रहरूले त यसलाई मृत्युको विम्ब मानिलिए।

तर, हामी दर्शकले यसलाई विगतले पछ्याइरहेको पनि मान्नसक्छौँ। सक्छौँ भने मानिहालिदिऊँ। अँ, तेन्जिङलाई विगतले पछ्याइरहेको छ। त्यसकारण, ऊ राम्रोसँग काममा ध्यान दिन सकिरहेको छैन। संगीत सिक्न सकिरहेको छैन। गीत गाउन पनि मजासँग सिक्न सकेको छैन। उसलाई जोकसैसँग झर्को लागिरहेको छ। अथवा भनूँ विगतमा अल्झिरहेको हुँदा ऊ वर्तमानमा ध्यान दिन सकिरहेको छैन। वर्तमानको काम बिग्रिन थालेपछि भविष्य त सङ्कटमा पर्ने नै भयो। मृत्युको भय त बस् एउटा बिम्ब न हो।

खैर, जब ऊ मृत्युबाट बच्न डाकिनी खोज्न भनेर लाग्न थाल्यो तबदेखि नै उसलाई सपनाले पछ्याउन पनि छोड्यो। अर्थात्, डाकिनी खोज्ने निहुँमा जब उसले आफ्नो वरिपरि भर्खरै को-को आउँदैछन्, जाँदैछन् ? ती कस्ता छन् ध्यान दिन थालेको छ। अझ भनूँ उसले अब वर्तमानमा ध्यान दिन थालेको छ। त्यसैले अब उसलाई विगतले, भूतले वा भनूँ सपनाले पछ्याउन छोडेको छ। वर्तमानमा ध्यान दिन थालेसँगै उसलाई मृत्यु भय अर्थात् भविष्यको सङ्कटले पनि पिरोल्न छोडेको छ। अध्यात्मिक, होइन? आखिर निर्देशक को हुन्?

यति मात्र होइन, जब तेन्जिङले डाकिनी कसरी चिन्ने भनी सोध्दा तान्त्रिकले आफूलाई भित्र मनदेखि जो डाकिनी हो भन्ने लाग्छ उही नै डाकिनी हुनसक्ने सम्भावना धेरै हुन्छ भनिदिन्छन्। यो ध्यानकै अर्को सतह हो। अझै गहिरो सतह। आत्मसचेत हुने, आफूलाई निहाल्ने तह, आफूलाई बुझ्ने तह! अर्थात् आफैँले आफैँमाथि साक्षी बस्ने तह!

यसर्थमा, फिल्मले बिम्बको भाषामा एउटा अध्यात्मिक चिन्तन बोलेको छ। यसलाई बोलेको पनि नभनौँ। पात्रहरूले महसुस गरेका छन् र दर्शकहरू मानौं पात्रका तिनै महसुससँग स्वतः एकाकार भइदिएका छन्।

तान्त्रिक बुद्धिजम

अध्यात्मको छेउछाउ रहँदारहँदै तान्त्रिक बुद्धिजमबारे पनि केही चर्चा गरिहालौँ। तान्त्रिक बुद्धिजमले प्रयोगात्मक शिल्पद्वारा चेतना प्राप्तिको कुरा गर्छ। मुक्ति र भुक्ति, जीवनका दुवै पाटालाई उत्तिकै स्वीकार गर्ने तन्त्रले यो सबैको पछाडि दैविक नारीशक्तिको अस्तित्वमाथि विश्वास गर्छ। र त्यो नारीशक्तिलाई डाकिनीका माध्यमबाट प्राप्त गर्न सकिने कुरा फिल्मले बताउँछ।

सुरुमा जुँगा पलाएकी स्त्री भन्दै खोजी गरिएकी डाकिनीबारे तान्त्रिकले भने बृहत् वर्णन गरेका छन्। तान्त्रिकका अनुसार डाकिनी त्यस्ती स्त्री हो जसको जुँगा हुन पनि सक्यो नहुन पनि सक्यो, कुकुर दाँत हुन पनि सक्यो, नहुन पनि सक्यो। त्यस्ती स्त्री जो स्त्री नै पनि हुन पनि सकी, नहुन पनि सकी। आफूलाई मनभित्र जो डाकिनी होजस्तो लाग्छ, उही डाकिनी हो।

अर्थात्, नारीशक्ति हरेक स्त्री वा पुरुषभित्र अन्तर्निहित हुन्छ। किनभने, नारीशक्तिमै सम्पूर्ण अस्तित्व अडेको छ। त्यो दिव्य नारीतत्व हरेकभित्र निहीत छ। हरेक बोधीहरूमा उही शक्तिस्वरूपा अर्थात् मातृशक्तिको अंश हुन्छ।

एउटा दृश्य छ, जहाँ जल, अग्नि, माटो (भुइँ), आकाश (नीलो झुल), वायु (त हुने नै भयो) गरी पञ्चतत्वलाई साक्षी राखी तान्त्रिक विधिअनुसार डाकिनी खोज्ने दृश्यमा तेन्जिङले आफूलाई त्यस्ता कुरा अन्धविश्वास लाग्ने बताएपछि तान्त्रिकले उसलाई पश्चिमाहरूको दास भन्दै गाली गरेको छ। निस्किहाल्न र कहिल्यै फर्किएर नआउन सम्म भनेको छ। पश्चिममा व्यापक इसाई धर्मग्रन्थमा भने पुरुषकै शरीरको अंशबाट नारीको सृष्टि गरिएको बताइन्छ। तर, तान्त्रिक बुद्धिजमले भने सम्पूर्ण सृष्टिको आदिशक्ति नै मातृशक्ति हो भन्नेमा विश्वास राख्छ।

ओपन इन्डिङ

त्यसो त अमूर्त अवधारणाहरूमाथि विश्वास राख्न त सकिन्छ तर, तिनलाई पुष्टि नै गर्न त गाह्रो पर्छ। सकिन्न भन्दा पनि फरक नपर्ला। म शंका गर्छु फिल्मको क्लाइमेक्सको दृश्य त्यसैले पो हो कि कंकृट छैन। सोध्छु, “फिल्मको कथा अमूर्त अवधारणामा आधारित छ। त्यसो त अधिकांश मान्छेले त यसलाई एक किसिमको अन्धविश्वास नै पनि मान्छन्। के अन्धविश्वासमा आधारित कथा भएकैले हो त ओपन इन्डिङ राखिएको? या यस्तो क्लाइमेक्सको कलात्मक कारण केही छ?”

रिन्पोछे यसमा धेरै बोल्न रुचाउँदैनन्, उल्टो मलाई नै सोधिदिन्छन्, “अन्धविश्वास के होइन? सबैथोक नै अन्धविश्वास हुन सक्दैन र?” म क्षणभरलाई सोचमग्न त हुन्छु तर नाजवाफ नै रहन्छु। के तपाईंसँग होला त यसको पुष्ट जवाफ?

ट्रिगर्स

क्लामेक्सकै कुरा समेत भइसकेपछि मलाई लाग्छ म अन्त्य अन्त्यतिर पुगिसकिछु। दोस्रो फिल्म र तेस्रो फिल्मको बीचमा एक दशक लामो समयको खाडल देखेर म जान्न उत्सुक हुन्छु। किन रहेछ? उनी भनिदिन्छन्। यो मेरो पेशा होइन। खाली मेरो रुचि हो, अनुराग हो। विशेष त म ध्यान गर्छु।

जवाफ त चित्तबुझ्दो नै हो। तर, फेरि पनि कुन्नि के चित्त बुझ्दैन मलाई? सायद आफ्नै प्रश्न? फेरि प्रश्न गर्छु, “यो कथाचाहिँ मैले भन्नैपर्छ भन्ने बोध कसरी हुन्छ तपाईंलाई?” भन्छन्, “कुनै कथा आउँछ, जान्छ तर फर्केर आउँदैन। कुनै कथा आउँछ, जान्छ तर, फर्की फर्की आइबस्छ। जुन जानै मान्दैन, म बुझ्छु यही कथा हो मैले भन्नुपर्ने!”

बुद्धिजम- दर्शन कि धर्म?

अब मसँग समय धेरै छैन। कुन प्रश्न हो जुन मैले सोध्नैपर्छ? यी सामान्य फिल्ममेकर होइनन्। यिनी ध्यानी हुन्। बौद्ध धर्मगुरु हुन्। आफ्ना सिनेमा मार्फत् पनि बौद्ध धर्मबारे बोल्छन्। यो पाटोलाई जुठो नहाली म कसरी छोड्न सक्छु? जुठो हालिदिन्छु, “अन्त्यमा, बुद्धिजम दर्शन कि धर्म?” मलाई जान्न मन थियो एउटा बौद्ध भिक्षु जो फिल्म बनाउँछ, उसले बोधित्वलाई कसरी बुझेको छ, कसरी अंगालेको छ। भन्छन्, “बुद्धिजम न त दर्शन हो, न त धर्म नै। एक हिसाबले यो एउटा प्रयोगसिद्ध विज्ञान हो। यद्यपि, यसका धार्मिक पाटाहरू पनि छँदैछन्। तर, भन्नैपर्छ भने यो धर्मभन्दा दर्शन नै ज्यादा हो!”

मैले अपेक्षा गरेको जवाफ पनि यस्तै यस्तै नै थियो। बुद्धिज्मलाई धर्म मान्थे त उनी सिनेमा नै पो कसरी बनाउन सक्थे ? धर्मले त बार हाल्छ, बन्धन लगाउँछ। उनी त विद्रोही हुन्। नत्र एउटा भिक्षु कसरी डुल्छ देश-विदेश क्यामरा बोकेर ? कसरी हेराउँछ भिक्षुहरूलाई वर्ल्ड कप  ? कसरी भन्छ मुस्लिम र हिन्दूको प्रेमकथा ? कसरी दिन्छ चुनौती चारै दिशा व्याप्त पश्चिमा चिन्तनलाई? कसरी भन्छ स्टारबक्सलाई भियतनामी कफीले रिप्लेस गर्नुपर्छ?

पुनश्च:

साच्चै, अण्डा कफी पिउनुभयो ? मेरो मतलब, डाकिनी हेर्नुभयो ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved