पूर्वराजा शाहको सक्रियताप्रति नेताहरुको टिप्पणी, कसले के भने ?

नेपालभ्युज

पूर्वराजा शाहको सक्रियताप्रति नेताहरुको टिप्पणी, कसले के भने ?
फाइल फोटो

काठमाडौं । नेकपा(एमाले)का सांसद रघुजी पन्तले तेस्रो पटक राजा हुने प्रयत्न नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन्  । मंगलवार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पन्तले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा हुने प्रयत्न नगर्न चेतावनी दिएका हुन् ।

उनले एउटा प्रक्रियाबाट राजतन्त्र नेपालबाट बिदा भइसकेको भन्दै राजतन्त्रको बिदाइ नेपाली जनताको चाहना भएको बताए । उनले राजाले शान्तिपूर्ण रुपले गद्दी छोडेको र दलहरुले पनि कुनै बदला नलिएको अवस्था रहेको भन्दै शाहलाई देशले पूर्वराष्ट्राध्यक्षको रुपमा सम्मान र सुरक्षा दिएको उल्लेख गरे । उनले राज्यले दिएको सम्मानको पूर्वराजाले कदर गर्नुपर्ने बताए।

‘ज्ञानेन्द्र दुइचोटी राजा हुनुभयो । तेस्रोचोटी राजा हुने प्रयत्न नगर्नुस्  किनभने एउटा प्रक्रियाबाट राजतन्त्र बिदा गरिएको हो । नेपाली जनताको चाहाना अनुसार । अन्त धेरै क्रान्ति भएको ठाउँमा राजतन्त्र समुल पारेका छन् । नेपालमा सझदारीले राम्रो के भयो भनेदेखि राजाले पनि जनताको भावना बुझेर शान्तिपूर्ण ढंगले गद्दी छोडे’ उनले भने, ‘त्यो गद्दी छोडिसकेपछि कुनै बदलाको कारबाही पनि बहुदलवादीहरुले राजालाई गरेनन् । राजा भूतपूर्व राष्ट्राध्यक्षको रुपमा शान्तिपूर्ण ढंगले उहाँको कुनै सम्पति पनि खोसिएको छैन । उहाँले कसरी कमाउनुभएको छ भनेर खोजिनिति पनि गरिएको छैन ।’

‘राजालाई पूर्वराष्ट्राध्यक्षको रुपमा देशले सम्मान, सुरक्षा दिएको छ । त्यसको राजाले कदर गर्नुपर्‍यो । राजीतिक लक्ष्य त्याग्नुपर्‍यो  । राजनीति गर्न मन लाग्छ भने संविधानले त रोकेको छैन । खोल्नुस् पार्टी । चुनाव लडेर आउनुहुन्छ भने भैहाल्यो, ’ उनले अगाडी थपे ।

त्यस्तै नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले पूर्वराजा शाहको सक्रियाताबाट तर्सिनु नपर्ने बताएका छन् । दलहरुको बीचमा विवाद भएकै कारण राजतन्त्र नफर्किने उनले स्पष्ट पारे । गणतन्त्रात्मक व्यवस्था फेल नभएको भन्दै उनले राजतन्त्र नफर्किने बताए ।

‘किन तर्सिनु ? तर्सिनै पर्दैन । हामीहरु अहिले पार्टीहरुका बीचमा विवाद गर्‍यौँ, बहस गर्‍यौँ, झमेला गर्‍यौँ भनेर यो व्यवस्था नै फेल भयो भन्न मिल्छ ? हामीले लोकतन्त्र ल्याउने, गणतन्त्र भनेका हौँ । वादविवादको बिचबाट एउटा सम्वाद निकालेर जान्छौँ भनेको हो । गन्थनमन्थन गर्दैछौँ ‘ उनले भने,  ‘आखिरी पर्दाखेरी हिजो संविधान बनाउने बेलामा पनि सबै अग्रगामी शक्तिहरु एक ठाउँमा आएर देशलाई निकाश दियौँ । अहिले समृद्धिको यात्रामा पनि फेरि सबै दलहरु एकै ठाउँमा आउनुको विकल्प छैन । हाम्रो कार्यशैली, सोच्ने शैलीमा हामीले पुनरावलोकन गर्नुपर्छ । पुनःविचार गर्नुपर्छ । तर यो व्यवस्था फेल भएको छैन ।’

नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले पूर्वराजाले नेपाली नागरिकका रुपमा हिँड्दा आफूहरुलाई कुनै चिन्ता नभएको बताए । उनले नेपालको कानून, संविधानको दायराभित्र रहेर कोही काहीँ घुम्दैमा लोकतन्त्र समाप्त नहुने टिप्पणी गरे ।

‘राजा नेपाली नागरिक भएर हिँड्दा हामीलाई केही चिन्ता छैन । कसैले तर्साएर तर्सिँदैनौँ । कसैले तर्साउँदैमा लोकतन्त्र त्यति कमजोर छैन एउटा नागरिक हिड्दै आफ्नो कुरा राख्दै जाँदाखेरी सबै तर्सेर भाग्नुपर्ने अवस्था छैन । नेपाली जनताले चाह्यो भने कसैलाई स्थापना गर्न, पुनःस्थापना गर्न, हटाउन सक्छ’ उनले भने,  ‘सभ्य, शालिन रुपमा प्रश्तुत हुँदा हाम्रो कसैसँग विमति रहँदैन । नेपालको कानून, संविधानको दायराभित्र रहेर कोही काहीँ घुम्दैमा लोकतन्त्र समाप्त हुँदैन । कानूनी राज्य समाप्त हुँदैन । त्यही आधारमा राजा आइहाल्छ भन्ने पक्षमा म छैन ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राजनीतिक उपलब्धिहरुलाई संस्थागत गर्न नसक्दा र दलहरुमा कमजोरी रहेसम्म केही तत्वहरु सल्बराइरहने टिप्पणी गरे । उनले पूर्वराजाको सक्रियतालाई स्वभाविक रुपमा लिनुपर्ने बताए ।

‘हाम्रो कमजोरी छ, राजनीतिक संस्कारमा कि उपलब्धिहरुलाई संस्थागत गर्न सकिराखेका छैनौँ हामीले । त्यो कमजोरी रहेसम्म सल्बराइरहने तत्वहरु रहीरहन्छन् ‘ उनले भने,  ‘यसलाई स्वभाविक रुपमा लिनुपर्छ र उनीहरु बलियो भएको होइन कि राजनीतिक दलले गर्नुपर्ने संस्थागत अभ्यासहरु कमजोर भएको हो ।’

उनले वर्तमान प्रणालीप्रति कुनै किसिमको जोखिम नरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved