प्रेस रिभ्यू : छाया शक्तिमाथि अनुसन्धान छायामा, भ्रष्टाचारविरुद्ध जागे जनता

राष्ट्रिय दैनिकका समाचार तथा सामग्रीमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर तेस्रो देश पठाउने भन्दै पैसा असुल्ने गिरोह र त्यसमा संलग्नताको आरोप लागेकाहरुको विषयले प्राथमिकता पाएको छ।

नेपालभ्युज

प्रेस रिभ्यू : छाया शक्तिमाथि अनुसन्धान छायामा, भ्रष्टाचारविरुद्ध जागे जनता

काठमाडौं। आज ३१ वैशाख गते आइतबार देशका प्रमुख राष्ट्रिय दैनिकका समाचार तथा सामग्रीमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर तेस्रो देश पठाउने भन्दै पैसा असुल्ने गिरोह र त्यसमा संलग्नताको आरोप लागेकाहरूका विषयले प्राथमिकता पाएको छ। साथै भ्रष्टाचारविरुद्ध आम सर्वसाधारण तथा केही नेताहरूको शनिबारको प्रदर्शनले समेत स्थान पाएको छ।

यो सङ्गठित अपराधमा कुनै एक–दुई सरकारी कर्मचारी मात्र होइनन्, मन्त्रालयको उपल्लो तह नै र राजनीतिक दलका शीर्ष नेताहरू अविच्छिन्न रूपमा संलग्न भएको आशंका छ।
सचिवको सरुवासमेत यसकै निम्ति गरिएको छ । देशका जिम्मेवार नेताहरूले पैसा लिएका अडिओ र साठगाँठ रहेको तथ्य आएको छ। नेपाली नागरिक र सार्वजनिक वृत्तको मात्र होइन, विश्वजगत्कै पनि निगरानीमा रहेको यो प्रकरणको हस्तक्षेप मुक्त सफल अनुसन्धान र सोही अनुसारको अभियोजन दर्ता हुनुपर्ने आजका सबैजसो समाचारका सामग्रीहरूमा भनिएको छ।

पैसा असुल्ने गिरोह र त्यसमा संलग्नताको आरोप लागेका राजनीतिकर्मीहरू शीर्ष नेता रहेका हुनसक्ने र उनीहरूमाथिको अनुसन्धान छायामा रहेको संकेत देखिएको आजको कान्तिपुर दैनिकमा खबर छ।

‘छाया शक्तिमाथि अनुसन्धान छायामा’ शीर्षकको ब्यानर समाचारमा शरणार्थी प्रकरणमा कांग्रेसभित्र असन्तुष्टि देखिएको बताइएको छ। पूर्वगृहमन्त्री बालकृष्ण खाँण दम्पतीलाई ‘फसाएर’ सभापति शेरबहादुर देउवा पत्नी आरजुलाई मात्र बचाउन खोजेको भन्दै कांग्रेसमा असन्तोष देखिएको भनिएको छ। यसबाट संस्थापन पक्षकै सांसदको एक समूहले सभापति देउवालाई निवासमै भेटेर चेतावनी दिएको समाचारमा उल्लेख छ। साथै मञ्जु आफैँ सम्पर्कविहीन भएकी र आरजुलाई देउवाको आड भरोसा रहेको उल्लेख छ।

बाह्य जगतमा नेपालको विश्वसनीयता र छविमा प्रश्न

यता नयाँ पत्रिकाले शरणार्थीका नाममा भएको ठगीले देशको विश्वसनीयतामा प्रश्न उठेको विषय उठाएको छ। अन्तर्राष्ट्रिय सम्बन्धका जानकार तथा अनुभवी कूटनीतिज्ञहरूले शरणार्थीका नाममा अमेरिका पठाइदिने भन्दै भएको ठगी धन्दामा देखिएको राज्यसंयन्त्रको संलग्नताले बाह्य जगत्मा देशको विश्वसनीयता र छविमा प्रश्न उठाएको टिप्पणी गरेका विषय उठाएको छ।

समाचारमा पूर्वराजदूत एवं प्रधानमन्त्रीका तत्कालीन परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराई, प्रा डा खड्ग केसी, डा निश्चलनाथ पाण्डेको धारणा समेटिएको छ।

आज खाणको बयान लिने प्रहरीको तयारी

यस्तै कान्तिपुरमा नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले दिएको बयानको पनि समाचार छ।
समाचार अनुसार खाणले आफूले गिरोहलाई भेटेको स्विकारेका छन्।

गिरोहका नाइकेहरूसँग भेटेको खाँणले प्रहरीसँग स्विकारेका छन् । सरकारी वकिलको रोहबरमा आइतबार बयान लिने प्रहरीको तयारी छ ।

किन सार्वजनिक गरिँदैन सांसदको सम्पत्ति ?

यस्तै नयाँ पत्रिकाले भ्रष्टाचारको सन्दर्भमा संसदमा उठेको अर्को विषय सांसदको सम्पत्ति सार्वजनिक नगरिएको विषय उठाएको छ। ‘किन सार्वजनिक गरिँदैन सांसदको सम्पत्ति’ भन्दै नयाँ पत्रिका लेख्छ ‘ सांसदकै दोहोरो चरित्र छ।’ तत्काल वेबसाइटमा सार्वजनिक गर्न सांसदहरूले माग गर्ने गरेको तर, गोप्य राख्नुपर्ने कानुनी प्रावधान हटाउन विचाराधीन विधेयकमा संशोधन नहालेको उल्लेख छ।

अहिले विभिन्न भ्रष्टाचार तथा अनियमितता काण्डमा आफूमाथि औँला उठ्दा सांसदहरूले सम्पत्ति विवरण सार्वजनिक गरेर हेर्न चुनौती दिइरहेका छन्। तर, यही वेला राष्ट्रिय सभामा समितिमा दफावार छलफल भई पारित भएर सन्देशसहित आएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) ऐन, २०७६ प्रतिनिधिसभामा दफावार छलफलको चरणमा संशोधन प्रस्ताव नहालेको विषय उठाइएको छ। यसअघि कांग्रेस सांसद डा. आरजु राणा देउवा र रास्वपा सांसद तोसिमा कार्कीले सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेकी थिइन्।

भ्रष्टाचारविरुद्ध जनआन्दोलनको झल्को

‘भ्रष्टाचारविरुद्ध जागे जनता’ शीर्षकमा अन्नपूर्णले शनिबारको प्रदर्शनलाई मुख्य स्थान दिएको छ। समाचारमा भनिएको, ‘‘विभिन्न व्यवस्था परिवर्तनको लागि जनआन्दोलन भए। नागरिक सडकमा ओर्लिए। अनि फेरियो व्यवस्था। अहिले समय फेरिएको छ।

सामाजिक संञ्जालसंगै आम नागरिक सडक उत्रन्छन्, सुशासनको लागि। नक्कली शरणार्थी प्रकरणसहितका विभिन्न काण्डको निष्पक्ष छानबिन हुनुपर्ने भन्दै भ्रष्टचारविरूद्ध अब जनता जागेका छन्।’’ ‘भ्रष्टारविरुद्ध जनआन्दोलनको झल्को’ भन्दै शनिबार काठमाडौ. पोखरालगायतका विभिन्न जिल्लामा स्वस्फूर्त भएका प्रदर्शनलाई समेटिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved