स्थानीय सरकारसँग अध्यक्ष ढकालको आग्रह- स्थानीय सेवा र उत्पादनको प्रर्वद्धनमा सघाउनु

नेपालभ्युज

स्थानीय सरकारसँग अध्यक्ष ढकालको आग्रह- स्थानीय सेवा र उत्पादनको प्रर्वद्धनमा सघाउनु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय सेवा तथा उत्पादनको प्रवर्द्धनका लागि लगानीकर्ताहरु तयार रहेकोले सहजीकरण गर्न प्रदेश तथा स्थानीय सरकारहरुलाई आग्रह गरेका छन् । पाल्पाको तानसेनमा आइतबार पाल्पा महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले स्थानीय सेवा तथा उत्पादनका क्षेत्रमा लगानी बढाउन प्रदेश सरकार र स्थानीय सरकारहरुबाट नीतिगत सहजीकरण हुनु पर्ने बताए ।

पाल्पाको वसन्तपुरमा केबलकार सहितको रिसोर्ट केही हप्तामै सन्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिदैं अन्य पर्यटकीय पूर्वाधारमा समेत लगानीकर्ता इच्छुक रहेको भन्दै अध्यक्ष ढकालले नगर तथा जिल्ला उद्योग वाणिज्य संघ र स्थानीय सरकारको समन्वयका लागि समेत आग्रह गरे ।

सोहि अवसरमा उनले महासंघले पाँच वटा प्राथमिकता अघि सारेको उल्लेख गर्दै यसबाट अर्थतन्त्रको विकास तथा उद्यमी व्यवसायीको मनोवल उच्च बनाउन सहयोग पुग्ने पनि उल्लेख गरे । पहिलो अर्थतन्त्रमा देखिएको संकटको समाधानको रणनीति बनाउन नेपाल सरकार, राष्ट्र बैंक तथा अन्य नियामक निकायहरुसँग महासंघले नजिकबाट सहकार्य गरिरहेको पनि उनले उल्लेख गरे । यस्तै, आन्तरिक वा विदेशी लगानी प्रर्वद्धनमा सरकारले वातावरण बनाउनु पर्नेमा पनि उनले जोड दिए ।

सरकार र निजी क्षेत्रले एक अर्कालाई आक्षेप लगाउने भन्दा लगानीको वातावरण बनाउन एक अर्कामा विश्वासको वातावरण बनाएर साझेदारी गर्ने कुरालाई महासंघले प्राथमिकतामा राखेको उनको भनाई थियो । दक्ष जनशक्ति उत्पादनलाई पनि महत्वका साथ उठाएको बताउँदै उनले हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने ५ लाख भन्दा बढी युवाहरुलाई आन्तरिक र बाह्य रोजगारीमा जानु अघि दक्ष बनाउन जरुरी रहेको बताए ।

उनले दक्ष जनशक्ति उत्पादनले उद्योगमा रहेको दक्ष जनशक्तिको अभाव पुरा गर्ने र  वैदेशिक रोजगारीमा  जाँदा उनिहरुको आम्दानी पनि धेरै गुणा बढाउन सकिने भएकाले सरकार, दातृ समुदाय तथाअन्य सरोकारवालासँग  मिलेर महासंघले यसतर्फ काम अघि बढाउन लागेको जानकारी दिए ।

अध्यक्ष ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सुधार ल्याउने विषयलाई पनि महासंघले महत्वका साथ उठाएको बताए । उनले अर्थतन्त्रमा ८० प्रतिशत भन्दा बढि योगदान रहेको निजी क्षेत्रको मनोबल बढाउने गरी प्रोटोकल निर्धारणमा सरकारको सहयोग हुनेमा विश्वस्त रहेको पनि उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved