जनता समाजवादी पार्टी वर्तमान सरकारकै निरन्तरताको पक्षमा छः उपेन्द्र यादव

नेपालभ्युज

जनता समाजवादी पार्टी वर्तमान सरकारकै निरन्तरताको पक्षमा छः उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी वर्तमान सरकारकै निरन्तरताको पक्षमा रहेको बताएका छन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका उनले सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको पनि हीत नहुने जिकिर समेत गरे । रफ्त सञ्चार क्लवले शनिवार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सरकारले सुशासन, विकास र समृद्धिको मुख्य अभिभारालाई पूरा गर्दै लैजानुपर्ने आवश्यक्ता पनि औंल्याए ।

उनले कम्फरटेवल मेजरिटी भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिए पनि सरकारलाई फरक नपर्ने तर्क गरे । अध्यक्ष यादवले सरकार परिवर्तन गरिराख्ने कुरा गलत भएको समेत बताए। राजनीतिक स्थिरताका साथ मुलुकलाई अघि बढाउन आफूहरुले वर्तमान सत्तारुढ गठबन्धन निर्माणमा योगदान गरेको उनको भनाई थिए ।

‘सुशासन र विकासको अभियान गतिका साथ अगाडि बढाउने । शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रहरुमा परिवर्तन गरी अगाडि बढाउने मुख्य अभिभारा सरकारको हो । त्यसका लागि सरकारको स्थिरता आवश्यक छ । दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाएर कसैले हित हुँदैन । र, दिनैपिच्छे सरकार परिवर्तन गरिराख्नु पनि गलत हो । गल्ती कहाँ छ ? त्यहाँ सच्याएर अघि बढने बेला हो ।’ अध्यक्ष यादवले भने,  ‘सरकार स्थिर भएर काम गर्नुपर्छ । र, जनतालाई डेलिभरी दिनुपर्छ । अब पहिलाको जस्तो भनेर मात्रै हुँदैन, गरेरै देखाउनु पर्छ । र, मुलुकलाई सम्भावित संकटबाट जोगाउने महत्वपूर्ण अभिभारा अहिलेको सरकारको रहेको छ । त्यसैले हाम्रो राय पनि सरकारको स्थिरता, राजनीतिक स्थिरता आवश्यक हो ।’

अध्यक्ष यादवले मुलुकलाई संकटबाट जोगाउन वित्तीय नीतिमै परिवर्तन गरेर अघि बढ्न पनि सरकारलाई सुझाव दिए । थुप्रिएर रहेको पुँजी उत्पादनमुलक क्षेत्रमा परिचालन गरेर मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सकिने उनको बुझाई थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved