भुटानी शरणार्थी बनाउने धन्दा- लहरो तान्दा आयो हाइप्रोफाइलको पहरो

नेता, प्रशासक र बिचौलिया पक्राउ, केहीलाई पक्राउ पुर्जी

सरकारी समन्वय तथा संयन्त्रबाटै भुटानी शरणार्थीको आवरणमा विभिन्न जिल्लाका गैरशरणार्थी मानिसलाई अमेरिका पठाउने प्रलोभन देखाएर मोटो रकम असुलेको भन्दै केहीलाई पक्राउ त केहीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

नेपालभ्युज

भुटानी शरणार्थी बनाउने धन्दा- लहरो तान्दा आयो हाइप्रोफाइलको पहरो

काठमाडौं। भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गिरोह सञ्चालन गरिरहेका आरोपमा ‘हाईप्रोफाइल’ नेता प्रशासक र बिचौलिया पक्राउ पर्न थालेका छन्। सरकारी समन्वय तथा संयन्त्रबाटै भुटानी शरणार्थीको आवरणमा विभिन्न जिल्लाका गैरशरणार्थी मानिसलाई अमेरिका पठाउने प्रलोभन देखाएर मोटो रकम असुलेको भन्दै केहीलाई पक्राउ त केहीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

५ वर्षयता गिरोह सञ्चालन गर्दै आएका सञ्जालका मुख्य नाइके भनिएका केशव दुलालसहितका केही नाइके पक्राउ परेपछि उनीहरूको बयान र थप प्रमाणका आधारमा नेतादेखी प्रशासकसम्म हिरासत पुगेका छन्। दुलाल ११ चैतमा पक्राउ परेका थिए। झन्डै १ अर्ब रुपैयाँ ठगी गर्ने गिरोहका उनी कांग्रेस नेता सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला सहयोगी थिए।

भुटानी शरणार्थी समस्या समाधानमा २०७६ सालमा बनेको गृह मन्त्रालयको ‘भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समस्याका समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलको प्रतिवेदन’ मा नक्कली अनुसूची थप्दै झन्डै १ हजार गैर शरणार्थीबाट १० देखि ४० लाख रुपैयाँसम्म उठाउने गिरोहका मुख्य योजनाकार दुलालसँगै सानु भण्डारी, टंक गुरुङ, सागर थुलुङ राई र सन्देश शर्मा पोखरेल पनि पक्राउ परेका थिए। पथरी–शनिश्चरे नगरपालिका, वार्ड १० का निवर्तमान वडाध्यक्षसमेत रहेका सागर थुलुङ राई नेपाली कांग्रेसका निर्वाचित क्षेत्रीय प्रतिनिधिसमेत हुन्।

झापा दमकको बेलडाँगीस्थित शरणार्थी शिविर ।

यी पाँच जना पक्राउ परेपछि त्यसको लहरोले हाई प्रोफाइलसम्मको पहरो थर्काएको छ। नक्कली शरणार्थी परिचयपत्र, नक्कली सिफारिससहित बैंकिङ कारोबारका आधारहरू फेला परेर र पीडितहरूमध्ये झन्डै १ सयको लिखित र मौखिक उजुरीका आधारमा गिरोहका नाइके पक्राउ परेपछि उनीहरूको बयान र प्रमाणका आधारमा सुरक्षाविद् इन्द्रजित राई मंगलबार पक्राउ परे।

उनी रामबहादुर थापा बादल गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकार थिए। इन्द्रजितलाई प्रहरीले काठमाडौंको सौखेलस्थित निवासबाटै पक्राउ गर्‍यो।
यही प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डेले पनि आत्मसमर्पण गरेका छन्। गृह मन्त्रालयका पूर्व सचिवसमेत रहेका उनी जिल्ला प्रहरी परिसर टेकुमा बुधबार उपस्थित भए।

उनले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १० देखि ४५ लाख रुपैयाँसम्म असुली गरेको गिरोहसँग मिलेमतो देखिएको छ। ‘पक्राउ पुर्जी जारी भएको थाहा भएपछि उहाँ जिल्ला प्रहरी परिसर, काठमाडौंमा हाजिर हुनुभएको हो’, उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी श्याम ज्ञवाली भन्छन्, ‘थप अनुसन्धान प्रहरीले गरिरहेको छ।’

यो गिरोह यत्तिमै सिमित छैन, नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप पनि पक्राउ परिसकेका छन्।  भैरहवामा पक्राउ परेका उनलाई काठमाडौं ल्याईदैछ।

देशैभर आफ्नो सञ्जाल विस्तार गरेको र त्यसका आधारमा विभिन्न तहको प्रभाव–पहुँच देखाउँदै रकम उठाउँदै आएको प्रमाणका आधारमा पक्राउ पुर्जी जारी भएको हो।

पुन: प्रमाणीकरण गरिने बारेको गृहको पत्र

हिरासतमा रहेका गिरोहका नाइकेहरूका बयानका आधारमा अरुलाई पक्राउ गरिएको र पक्राउ पुर्जी जारी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्की बताउँछन्।

उनले भने, ‘‘गिरोहका नाइकेहरूविरुद्ध सङ्गठित अपराधमा मुद्दा चलाउन अनुसन्धान भइरहेको छ। अरू थप पात्रहरू पनि जोडिएका छन्। अनुसन्धान हुँदैछ।’’

प्रहरीका अनुसार मंगलबार पक्राउ परेका इन्द्रजितले तत्कालीन सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा विभिन्न कारणले छुटेका भुटानी शरणार्थीको सूचीमा अरूको नाम थपेर ठगी गर्ने गिरोहलाई सघाएको आरोप छ।

राईका छोरा नीरजले २०७६ असारदेखि चैतसम्म थापाथलीको आँगन रेस्टुराँ, त्रिपुरेश्वरको कुमारी अपार्टमेन्ट र कुपण्डोलको हिमालय होटलमा गरी ५ करोड ५० लाख रुपैयाँ लिएको नाइकेहरूले बयान दिएका छन्। सोही आधारमा प्रहरीले इन्द्रजितका छोरा नीरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।

२०७६ साल जेठमा पन्थी कार्यदल बनेका बखत अनाधिकृत ढंगमा शरणार्थी शिविरहरुमा बााढिएको शरणार्थी दर्ता गरिपाउँ भनेर वितरण गरिएको फर्म ।

यस प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुरका छोरा प्रतीक पनि मुछिएका छन्। तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध भने तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन पक्राउ पुर्जी जारी भएको हो। गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ।

एमाले सचिव तथा अर्घाखाँचीका सांसद रायमाझीले यसअघि नै पक्राउ परेका दुलाल, भण्डारी, पोखरेलसँग निकटकै सम्बन्ध रहेको र उनीहरूको योजनामा ‘अन्जानवश’ सहयोग गरेको प्रस्टीकरण दिएका थिए।

बेलडाँगी (झापा) र पथरी (मोरङ) शिविरमा रहेका भुटानी शरणार्थीमध्ये दर्ता प्रक्रियामा छुटेका तथा थप शरणार्थीको प्रमाण जुटाउन ०७६ वैशाखमा गृहका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित समितिको प्रतिवेदन नआउँदै गिरोहले शक्तिकेन्द्रसँगको सम्बन्ध देखाएर गैरशरणार्थी युवाबाट रकम उठाउन थालेको हो।

असुली धन्दाकै कारण छुटपुट शरणार्थीको प्रमाणीकरण प्रक्रिया रोकिएको थियो। पन्थी नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा शिविरमा रहेका तर प्रमाणीकरणमा नपरेका भनी ४२९ जनालाई शरणार्थी परिचयपत्र दिन सिफारिस गरिएको थियो। अमेरिका पुगेपछि ‘बेरोजगार भत्ता’ बापत १ हजार ६ सय डलर हात पर्ने, रातो पासपोर्ट र काम सजिलै पाइने आश्वासन दिएर पैसा ठगी गरेको पीडितको आरोप छ।

शरणार्थीका नाममा असुली धन्दा चलेको विषयमा ०७८ मंसिरमै अख्तियार दुरुपयोग अनुसन्धान आयोग उजुरी परेको थियो।

 

भुटानी शरणार्थीबाट पैसा उठाएर अमेरिका लगिने हल्लाका आएपछि भ्रममा नपर्न आग्रह गर्दै शरणार्थी आयोगले गरेको आह्वान

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved