ताप्लेजुङमा हिमपात, किसान हर्षित

नेपालभ्युज

ताप्लेजुङमा हिमपात, किसान हर्षित

ताप्लेजुङ। ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । सोमबार र मङ्गलबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट हिमाल सहजरूपमा देख्न सकिन्छ । हिमाल चाँदीजस्तै सेताम्य भएर टल्केका छन् । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा नं ७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा हिउँ परेको स्थानीयले बताएका छन् ।

घुन्साका टासी छिरिङ शेर्पाका अनुसार हिमाली क्षेत्रमा गए राति पनि हिमपात भएको छ । यस्तै ओलाङ्चुङगोला क्षेत्रका हिमाली क्षेत्रमा हिउँ परेको स्थानीय तेन्जिङ वालुङले जानकारी दिए।

ओलाङ्चुङगोलाकै याङ्मामा क्षेत्रमा दुई फिटसम्म हिउँ परेको छ । चार हजार दुई सय मिटर उचाइमा रहेको याङ्मा जिल्लाकै उच्च भेगको बस्ती हो । यसैगरी तेह्रथुम, सङ्खुवासभासँगको सीमावर्ती क्षेत्र तथा मैवाखोला गाउँपालिकाको शिर तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रमा पनि हिमपात भएको छ ।

जिल्लाको मिक्वाखोला गाउँपालिका–५ पापुङ, सिदिङ्वा गाउँपालिकाको उच्च भागमा हिमपात भएको स्थानीयले बताएका छन् । ताप्लेजुङको हिमाली क्षेत्रमा यस वर्ष फागुन १५ गते पनि हिमपात भएको थियो ।

यस वर्ष विगतका तुलनामा भने कमै हिमपात भएको छ । हिमपात र वर्षा भएपछि किसान हर्षित भएका छन् ।

मकैलगायत खाद्यान्न बाली लगाउने समयमा हिमपात र वर्षा हुँदा किसानले राहत महसुस गरेका छन् । त्यस्तै नगदे बाली अलैँची, तरकारलगायत बालीका लागि पनि हिउँ र वर्षाले राहत मिलेको किसानको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved